जुटमिल भाग २- कठै विराटनगर जुटमिल उठ्नै नसक्ने गरी थला पर्यो… (भिडियो सहित)

जुटमिल भाग २- कठै विराटनगर जुटमिल उठ्नै नसक्ने गरी थला पर्यो… (भिडियो सहित)

विराटनगर, ७ चैत । दिउँसोको १ बजेको छ । तराईमा तातोसँगै गर्मी शुरु हुनै लागेको छ । अझ यसो भन्दा हुन्छ, तराईमा हावा तातिन थालिसकेको छ । दिउँसो साईकलमा या पैदल हिड्न केही अप्ठेरो हुनथालेको छ । त्यो पनि मध्य दिउँसोको घाम स्वाभाबिक तातै थियो । केही महिना अघिसम्म मात्र जुटमिलको बिषयमा राम्रा खबरहरु निक्कै नै आए, विराटनगर जुटमिल संचालनका । यि सकारात्मक समाचारले धेरैलाई हौस्यायो । एक त विराटनगर प्रदेश अस्थायी राजधानी अर्को तर्फ विराटनगरले अब जुट मिल पनि संचालन गर्दैछ अब आर्थिक गतिबिधि बढ्ने भयो अनी बेरोजगारीहरुले पनि रोजगारी पाउने भए भनेर विराटनगरका ब्यवसायि मात्र हैन हरेक क्षेत्रले विराटनगर जुटमिलको संचालन भयो भनेर आतिसवाजी नै गरे ।मिति २०७४ सालको मंसिर ९ गते पण्डित पुरोहितहरुलाई लामो समय बन्द भएको जुटमिल संचालनको लागि सबै तयारी पुरा भएको भन्दै अब संचालनको तयारी थाल्ने भन्दै पुन संचालनको लागि शुभ साईत पनि हेराईयो । शुभ साईतको समय जुराईएको थियो त्यसंैको भोलीपल्ट मंसिर १० गतेलाई । हो त्यो दिन संझँदै छु, धेरै ब्यक्तिहरुको चासोमा रहेको बिराटनगर जुटमिल त्यो दिन जस्तो आज थिएन ।
चैतको ६ गतेको मध्य दिउँसो विराटनगर जुटमिलमा हामी पुग्दा गेटमा कोही पनि थिएन । यताउती टहलिँदै गर्दा एकजना सुरक्षागार्ड निर्मला अधिकारी दौडिएर साईकलमा हस्याङ र फस्याङ गर्दै आईपुगिन् । उनी यसरी काम गर्न थालेको ५ बर्ष भयो । बन्द भएर संचालन गर्दा जसरी हल्लाखल्ला गरेर संचालन गरिएको थियो तर जुटमिल बन्द भएको १ महिनासम्म कसैले सुईँकोसम्म पाएनन् । अलिअलि केही न केही त काम हुँदै होला भनेर पुगेका हामीहरु यहाँको अबस्था देखेपछि छक्क पर्यो। सुनसान अनी उजाड जुटमिलमा कर्मचारी कोही पनि थिएनन् ।मुख्यगेटबाट भित्र प्रवेश गर्दैगर्दा एकजना प्रशासन हेर्ने कर्मचारी तारानाथ तिम्सीना भेटिए । केही काम नपाएर २ जनालाई एक ठाउँमा जम्मा पारेर गफ दिँदै थिए । जुटमिल बन्द भएपछि काम नभएर बसेको उनले हामीलाई भेट्ने बितिकै प्रतिक्रिया दिए । उनले भने, ‘कुचोले बढार्नु पर्नेमा हावाले वढा¥यो ।’ भन्नको तात्पर्य के रहेछ भने तत्काल बन्द गर्ने अबस्थामा पुगेको जु्टमिल बिद्युत प्राधिकरणले महसुल नतिरेको भन्दै लाईन काटेपछि बन्द गर्नु पर्ने अबस्थामा पुगेको हो । गत मंसिर १० गते संचालनमा आएको जुटमिल ३ महिना पनि पुरा नहुँदै फागुन ३ गते बिद्युत प्राधिकरणबाट ४६ लाख बक्यौता तिर्न बाँकी रहेकोले त्यो रकम नतिरेपछि लाईन काटेको तिम्सिनाले बताए ।

कर्मचारीले तलव नपाएर विजोगविराटनगर जुटमिलमा २०३६ सालदेखि काम गर्दै आएका कर्मचारीहरु अहिले पनि कार्यरत नै छन् ।एक पटक सेवा सुबिधा लिएका अनि फेरी मिल संचालनपछि जिम्मेवारी लिन आएका कर्मचारी नै यो जुटमिलमा छन् । यही जुटमिलको संरक्षणमा रहेका कर्मचारीहरु अहिले पनि ३० जना छन् । उनीहरु बिगत १ बर्ष देखि तलव खान नपाएको बताउँछन् । जुटमिल संचालनको लागि ल्याईएका यी बाहेकका ८ जना कर्मचारी पनि नयाँ थपिएका छन् । नयाँ थपिएका कर्मचारीले आठै जनाले तलव बुझि सकेका छन् तर बाँकी ३० जना कर्मचारीले तलव नपाएको तिम्सिनाले बताए । प्रति महिना यी कर्मचारीको तलवमा ५ लाख खर्च हुँदै आएको छ । यसरी खर्च हुने तलवको रकमको समेत जोहो गर्ने कुनै उपाय बिराटनगर जुटमिल प्रशासनसँग छैन । मिल शुरु भएपछि प्रत्यक दिन ७५ जना कर्मचारीले काम गर्दै आएका थिए तर त्यो काम बालुवामा पानी सरह भयो ।

तीन महिना यति कामविराटनगर जुट मिल संचालन शुरु भएको ३ महिनामा केही कामको उपलब्धि देखिएन । एक त जुट खेती गर्ने किसान घटेकोले भारतबाट जुटको कच्चा पद्धार्थ आयात गरेर संचालनमा ल्याईएको जुटमिलले आफ्नो उत्पादन भारतिय बजारमा पु¥याउने लक्ष्य पनि लिईएका थियो । तर मिल शुरु भएको ३ महिनाको अबधिमा एक किलो पनि जुट उत्पादन नभएको कर्मचारी विपिन कोईरालाले बताउनभयो । यस्तो अबस्था देख्दा उहाँलाई पहिलाको जुटमिल सम्झिएर मन भक्कानिन्छ ।
पहिलो जुट उद्योगमा सफनरबाट जुट उत्पादनको काम शुरुहुन्छ । सफ्नरवाट जुटको कच्चा पद्धार्थ ब्रेकरमा पुग्छ । ब्रेकरपछि फिनिसर हुँदै ड्राईङमा पुग्छ । जब ड्राईङमा पुगेर २ सय सुता तयार भयो त्यो कोपमा नपुग्दै बन्द भएको हो । कोपबाट लुममा पुगेर बोरा तयार भएर बाहिर जाने गर्दछ । तर दुरदृष्टीका मिल संचालक नआउँदा जुटमिल अहिले उठ्नै नसक्ने गरी फेरी एक पटक बजारिएको छ ।

सुरक्षालाई समस्यासुरक्षा गार्डले दिउँसो त दौडधु्प गरेर काम त गर्दै आएका छन् नै रातको समय निक्कै चुनौतीपुर्ण छ। उनीहरुलाई न त एउटा लाईट दिईएको छ ।नत जुटमिल भित्र बत्ति नै छ । बत्ति काटिएपछि जुटमिल सुरक्षामा समस्या देखिएको हो । बिजुली नहुँदा कहाँबाट के सामान बाहिरिने हो भन्ने चिन्ता जुटमिलमा सुरक्षा गार्डले गर्दै आए सुरक्षा गार्डका हवल्दार टेक बहादु्र बानियाँ बताउँछन् । उनले भने, ‘अहिले सम्म पशुपति नाथले गर्दा केही हुन दिएका छैनौ, कतिबेला के हुने हो अत्तो पत्तो छैन ।’ ५१ बिगाहामा फैलिएको जुटमिलको सुरक्षा चुनौती पुर्ण बन्दै गएको छ ।

भिडियाे

(स्थलगत रिपोर्ट –सुमन सुुस्केरा र प्रेम देवान)

भाग ३ चाँडै प्रकाशित हुनेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्