विराटनगरको युनिट गणपति कटन मिलले २३ बर्षसम्म पनि मजदुरलाई भुक्तानी दिएन (मजदुरका पिडा भाग १)

विराटनगरको युनिट गणपति कटन मिलले २३ बर्षसम्म पनि मजदुरलाई भुक्तानी दिएन (मजदुरका पिडा भाग १)

सुमन सुस्केरा/प्रेम देवान
विराटनगर, ४ वैशाख 
- यम बहादुर लिम्बुको उमेर ८४ बर्ष भयो । उनले गणपति कटन मिलमा १४ बर्षसम्म नियमित काम गरे। २०३८ साल देखि २०५२ सालसम्म त्यही मिलमा उनको दिनचर्या बित्यो । श्रीमती, छोरी र आफु मिलमा आश्रीत थिए । त्यो बेलामा त छोरीहरु पनि सानै थिए । तर छोरीहरुको पनि पढ्ने बेला हुँदै जाँदा उनीहरुले गर्दै आएको काम छोड्नु पर्यो । उनी आउन भन्दा पहिला उनको थातथलो ईलाम हो । उनी सहितको परिवार गणपति कटन मिल बन्द भएदेखि नै यही उद्योगको आवास गृहमा बस्दै आएका छन् ।

                                             ***                                  ***
-यही उद्योगको क्वाटरमा भेटिए अर्का पुराना कर्मचारी सुदामा चौधरी क्वाटरको तल्लोतलाको एउटा अध्यारो कोठामा । उनले पनि यो मिलमा २०३२ सालदेखि काम गरेका हुन । २०५२ सालमा मिल बन्दहुँदा उनी कर्मचारीको रुपमा जिम्मेवारीका साथ आए । उनले पनि मिल बन्द हुनु पुर्बको तीन बर्षको एकरुपैयाँ पनि नपाएरै मिल छाड्नु पर्ने अबस्थामा आए । मिल बन्द भयो अहिले उनको परिवार सहित चौधरी त्यही मिलको आवास गृहमा बस्दै आएका छन् ।  

                                              ***                                  ***

- राजेन्द्र चौधरी २०३१ साल देखि गणपति कटन उद्योगको आवासगृहमामा बस्दै आएका छन् । उनी त्यो बेला लुम चलाउने कालिगढको रुपमा काम गर्थे । कारखाना बन्द भयो । अहिले चौधरीको ब्यापार फरक छ तर त्यो बेलाको रकम अझै पाउन सकेका छैनन् । उनको अहिलेको ब्यापार छोला र चाउमिन हो । उनको बसाई पनि त्यही उद्योगको आवास गृहमा नै रहेको छ। तर उनले गत साउनमा आएको बाढी पछि त्यही उद्योगको आवास क्षेत्रको जग्गमा आफ्नो घर बनाएका छन् ।

                                             ***                                  ***

यी तीनवटा त प्रतिनिधि पात्र मात्र हुन । बिराटनगर महानगरपालिका १४ मा रहेको नेपाल प्रहरीको क्षेत्रीय तालिम केन्द्र नजिकै रहेको गणपति कटन उद्योग बन्द भएको २३ बर्ष पुरा भईसकेको छ । तर आज भन्दा २३ बर्ष अगाडी काम गरेको मजदुर तथा कर्मचारीले अझै त्यो बेलाको पाउनु पर्ने भुक्तानी पाउन सकेका छैनन । उनीहरु त्यही पारिश्रमिक नपाएको झोकमा त्यही कटनमिल उद्योगको आवास भवनमा आएर बसेको पनि २३ बर्ष नै पुगेको छ । त्यो बेलाको महिनाको तलव ४ सय थियो तर अहिले त्यही अनुपातमा रकम बाँड्न खोजेपछि उनिहरु आक्रोशित छन् । यो उद्योगको आवास भवनमा अहिले पनि १६ परिवारका करिब सय बसोवास गर्दै आएका छन् । अहिले उद्योगको नाममा भएका सबै जग्गा बिक्री भईसकेको छ । उद्योगका मजदुर तथा कर्मचारी बस्दै आएको आवासगृह पनि बिक्री भईसकेको छ । अहिले ३५ दिने म्याद टाँस गरेर उनीहरुले पाउनु पर्ने रकमै नदिई हटाउने प्रपञ्च रचिएको छ ।
उद्योगको यस्तो लापरवाही
२०५२ साल भन्दा अगाडी गणपति कटन मिलमा काम गरेकाहरु अहिले पनि त्यसको ज्याला पाउन नसकेर त्यही उद्योगको आवास भवन रुँघेर बसेका छन् । पहिलाको ज्याला पर्खेर बसेका उनीहरुले ३ बर्षसम्म विना तलव त्यसै उद्योग रुँघेर बसे । त्यसको हिसाव त उनीहरुले खोजेका छैनन् । तर मिल बन्द हुनुभन्दा अगाडीको रकम भने उनीहरुको मागको बिषय बन्दै आएको छ । उनीहरुले मिल बन्द भएको २०५२ सालमा नै रकम दिएर निकाल्न भनेका थिए । तर उद्योगले भोली भोली भन्दै टार्दै आयो ।
लामो समयको पर्खाइमा पनि केही उपाय लागेन । मिल संचालकले ज्याला दिन्छु भन्न छाडेनन् उनीहरु पनि आशा पालेरै बर्षौसम्म त्यही भत्कीएको आवासगृहमा जीवन बिताउँदै गए । जव मिलको सबै पार्टपुर्जा बिक्री भयो, मिलका भवनहरु भत्काईए, बिक्री गरिए, सबै सकियो तर उनीहरुको ज्यालाको सुनुवाई भएन ।
हाम्रा तिन पुस्ताले यहीँ बितायौँ, अहिले पैसाको वास्तै नगरी ३५ दिन भित्रमा क्वाटर खाली गर्न भनेकोले सबैलाई तनाव भएको ८० बर्षिय हस्तमाया लिम्बुले बताईन् । २०३६ सालमा स्थायी भएका श्रीमानको मृत्यु भएपनि श्रीमानको पैसा अहिलेसम्म उनले पाएकी छैनन् । उनी भन्छिन्, ‘त्यो बेलाको ४ सयमा काम गरेकाहरुलाई अहिले आएर ४० हजार दिन्छौ भनेर हुँदैन अब घर बनाएर बस्ने जग्गाको ब्यवस्था गरियोस् ।’
उनको श्रीमान पनि बिते, छोराछोरी साथमा कोही नै छैन चुहुने छानोमुनी बस्दा पनि हटाउने भन्दै आउँछन्, उनले सुनाईन् ।सबै गुमाएर एक्लो भएकी उनले गहभरी आँसु पार्दै उनले भनिन्, श्रीमानलाई यही उद्योगले खायो अहिले एक रुपैयाँ नदिई लखेट्ने भन्छन् ।’
आवास क्षेत्रमा महल ठडिए
गणपति कटन उद्योगमा ३ कोठाको घर बनाएका चौधरीले अन्यत्रै कमाएको पैसाको सदुपयोग गरेको सुनाए । बर्षौसम्म रुँघेर बसेका हामीलाई बेवास्ता ग¥यो पैसापनि नदिएपछि १० लाखको लागतमा घर बनाएको उनले सुनाए । गत साउनमा आएको बर्षा पछि यहाँका सबै भागाभाग भएको थियो । भत्किएको घरको छतमा बसेर ज्यानको बाजी लगाएका थिए। तर कम्पनीको तर्फबाट कोही नआएको चौधरीले सुनाए । आवास जग्गामा ३ लाख देखि २० लाखसम्मका यहीँ काम गर्ने मजदुरहरुले घर बनाएका छन् । घर बनाउँदासम्म कसैले नबना भनेन तर जब घर बन्यो त्यसपछि मात्र मिल संचालकले ३५ दिने म्याद थमाउन खोजेको उनको गुुनासो छ । उनले भने ‘यसरी जवरजस्ती दुःख गरेर कमाएको रकमको घर भत्काए आत्मादाह गर्छु ।’ अहिले गणपति कटन मिलको उद्योगमा करिब एक दर्जन साना ठुला घर बनेका छन् । सुदामा चौधरीका अनुसार ‘अहिले २० लाख सम्मका घर यही कटनमिलको जग्गामा बनेको छ ।’ कोही त्यही भत्किएको आवास भवनमा बस्दै आएका छन् ।
ज्याला नपाउँदै १८ जना स्वर्गेवास
बिक्रम संवत २००३ सालमा स्थापना भएको नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योगमा काम गरेका धेरैको बिल्लीवाठ भएको छ। कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदैै ज्यान गुमाएका छन् । नातामा पुर्ब राजा ज्ञानेन्द्रका मामा पर्ने सुशील समशेर जवराले सो उद्योग भारतिय नागरिकसँगको सहकार्या संचालन गर्दै आएका थिए । उनीसँगै यसरी उद्योगमा लगानी गर्नै अन्य ९ जना भारतीय नागरिक रहेका थिए । तर ति भारतीय नागरिक कता छन् अत्तोपत्तो छैन ।
बैंकको ऋण तिर्न नसकेर २०५२सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलव दिन सकेन । त्यस यता अहिले सम्म काम गरेको तलव नपाएर धेरैले ज्यान गुमाई सकेका छन् । मेहनतको परिश्रम पाउँछौ भनेर पर्खिर बसेका श्रमिक, मजदुर तथा कर्मचारीहरुले मर्ने बेलामा समेत पाउनु पर्ने रकमको बिषयमा उद्योग संचालक चुईक्क सम्म बोलेनन् । यसरी तलवै नपाई ज्यान गुमाउनेमा अजय चौधरी, कामेश्वर कामत, काजीमान लिम्बु, खोकन मजुम्दार, ईन्द्र राई, चन्देश्वर माझी, असर्फी राउत, मिना राउत, किशोर साह, देवनाथ सिंह, मुलुकसिंह राई, भोला यादव, उमा शंकरको आफुले पाउनु पर्ने ज्याला नै नपाई ज्यान गुमाएको आवास गृहमा बस्दै आएको मजदुरले सुनाए । मर्ने त मरिहाले अब बाँच्नेलाई पनि एक रुपैयाँ नदिई हटाउने भएको उनीहरुको भनाई छ ।
उद्योग प्रशासन प्रमुखको यस्तो अभिब्यक्ति
वंशिधर ईडष्ट्रिज लिमिटेडको नाममा रहेको युनिक गणपति कटन मिलले त्यो बेला सुनिल समशेर जवराले लिएको २४ करोड बढी ऋण लिएर भारतिय संचालकहरु फरार भएपछि उद्योगमा समस्या आएको हो । जब मिल बन्द भयो त्यसपछि मात्र ल्याईएका कर्मचारी प्रशासनका प्रमुख कृष्ण थापाले जग्गा बिक्री भएपछि मजदुरलाई रकम दिने भनिएकोमा अब त्यो रकम दिने प्रक्रिया शुरु भएको बताए । तर उनीहरुले अब पाउँदा ज्याला पाउन बाँकी देखिएको रकम र २० हजार आवासको लागि भन्दै जम्मा ४७ हजार मात्र पाउने भएपछि अहिले कुरा नमिलेको उनको भनाई छ । कम्पनीका अध्यक्ष सुशिल समशेर जबरासँग कुरा भएपछि आवासगृह खाली गृह खाली गराउन ३५ दिने सुचना जारी भएको उनले सुनाए । प्रशासन प्रमुख थापा शुसिल समशेरका विस्वास पात्र मानिन्छन् । उनको भानाईका आधारमा नै जवराले निर्णय लिँदै आएको पुर्ब कर्मचारी तथा मजदुर आरोप लगाउँछन् ।
सुशिल सम्सेरकी छोरी संयुक्ता राणा हुन उनी सहितको संलग्नतामा आवासगृहमा बस्दै आएका मजदुरलाई हटाउन लागि अहिले ३५ दिने सुचना टाँस गरेर तिनै मजदुर हटाउने प्रयास भएको बताईन्छ । त्यो कम्पनीको नाममा रहेको बिभिन्न स्थानका १ बिगाहा ६ कठ्ठा, ३ बिगाहा १० कठ्ठा र ५ बिगाहा ३ कठ्ठा गरि कुल १० बिगाहा ९ कठ्ठा जग्गा बिराटनगरका ठुला घरानाका ब्यापारीले किनेको श्रोत बताउँछ । (यसको विस्तृत विवरण भाग २ मा भिडियो सहित आउने छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्