भारत, (कटिहार) ८ असार ।
भारतीय बजारमा नेपाली बालबालिकाहरु बेचिने क्रम पुरानै हो । तर कामदारको रुपमा नेपाली बालबालिका भारतको बिहार, बंगाल, उत्तरप्रदेश, जुगरात तथा दिल्लीसम्म पुग्ने गरेको पाईन्छ । आफन्त पत्ता लागेका बालबालिका फर्कने गरेको भएपनि आफन्त फेला पर्न नसकेका बालबालिकाहरु बन्दी जतिकै जीवन बिताउन बाध्य छन् । सुमन सुस्केराको स्थलगत रिपोट......
###
असारको हप्प गर्मी । बिराटनगरबाट जानु पर्ने थियो, भारतको करिहार । अनी भारतीय बालगृहमा नेपाली बालबालिकाको अबस्था कस्तो होला भन्ने लाग्दै थियो । त्यही बिचमा हामी लाग्यो विराटनगरबाट भारतको बिहार तर्फ । साथमा सीविन विराटनगरका कार्यक्रम संयोजक बासु अधिकारी, केन्द्रीय बाल कल्याण समितिका सुमन अधिकारी पनि । एक सय ५० किलो मिटरको दुरी पार गर्न झण्डै २ घण्टा ३० मिनेट लाग्यो । कटिहार पुग्नभन्दा पहिला नै आयो बालबालिका राखिने बालगृह । यो बालगृह अल जफर मेमोरियल एजुकेशन ट्रष्टले संचालन गरेको रहेछ । यो भारतको किसनजंग जिल्लाको एउटा बालगृह हो । यहाँ नेपाली तथा भारतीय गरी ५० भन्दा बढी बालकहरु राखिएका छन् । कोही मानशिक रुपमा अपांग भएका, कोही सडक बालबालिकाको रुपमा रहेका त कोही आफन्त नभएपछि बालगृहसम्म पुगेकाहरु थिए ।
लागुऔषधमा बालक
हामी त्यहाँ पुगेको देख्ने बितिकै एकजना बालक दौडिएर आए अनी उनले सोधे दाई तपाईहरु नेपालबाट आएको ? हामीले हो भनेपछि उनले आफ्नो मनमा लागेका सबैकुरा खोले । हामीलाई सोध्ने बालकको नाम महादेव हो । उनको थरको बारेमा हामी जानकार छैनौ ।उनलाई पनि आफ्नो थर के हो भन्ने जानकारी छैन । तर उनका बुबा जोगवनीबाट नेपाल तर्फ सामान ओसार पसारको काम गर्छन् । उनको बुबाको एउटा रिक्सा पनि रहेको महादेवले सुनाए । उनी यसरी यहाँ पुग्नुको एउटै कारण हो । उनले आगु औषध सेवन गरेका थिए । उनी लागु औषधको सुरमा जोगवनीबाट रेल चढे अनी कटिहारसम्म पुगे । उनी कटिहारका बिभिन्न स्थानमा १ हप्तासम्म अलपत्र परे । त्यसपछि जब उनी रेल्वे स्टेशका बिभिन्न स्थानमा एक्लै डुल्दै थिए उनलाई भारतीय प्रहरीले पक्राउ गर्यो अनी उनलाई सिधै बालगृहमा पुर्यायो । उनी अहिले तत्काल निस्कन पाउने अबस्थामा छैनन् । उनको परिवारको बारेमा टुङ्गो तत्काल लाग्न सक्ने अबस्था पनि छैन ।
बन्दी जस्तै
अल जफर मेमोरियल एजुकेशन ट्रष्टले संचालनमा ल्याएको बालगृहलाई भारतको समाज कल्याण विभागले सौजन्य गरेको छ । हामी यो बालगृहमा पुग्दा बिहानको करिब ११ बजेको थियो । बालगृहभित्र बालबालिका खेली रहेका थिए । कोही रुँदै गरेका कोही चिच्याएका पनि । हामी बाहिरको गेटमा केहीबेरसम्म पर्खिएर बस्यौ । भित्र कर्मचारी रहेछन् । हामीलाई लागेको थियो कर्मचारी छैनन् की भन्ने । तर त्यस्तो थिएन, उनीहरु कार्यालय भित्रै काम गरिरहेका थिए । हामी गेटमा पुगेपछि कर्मचारीहरु चाबी लिएर आए अनी चाबी लगाएरै हामीसँगै भित्र गए । यसरी राखिएका बालकहरु अधिकांश १४ बर्षका भन्दा कम उमेरका थिए । बालकहरु मात्र राखिएको यो बालगृहमा कतिपय बालकहरु अपाङ्ग थिए भने कोही बौद्धिक अपाङग । उनीहरु सबैलाई एकै ठाउँ राखिएको थियो । मानशिक रुपमा बौद्धिक अपाङ्ग भएका बालकले अरु मानशिक रुपमा स्वस्थ बालबालिकालाई असर गर्छ भन्ने सामान्य ख्याल समेत गरेको पाईएन ।
यहाँ धेरै नेपाली बालकहरु छन् । तर सीवीनका तर्फबाट बाल हेल्पलाईनका मोरङ कार्यक्रम संयोजक बासु अधिकारीले कुरा गरेअनुसार ४ जनालाई लिन टोली त्यहाँको बालगृहमा पुगेको थियो ।
ति चार जना बाहेकका एक बालक पनि त्यही बालगृहमा थिए । भारतीय बालगृहहरुमा नेपाली बालबालिकाको संख्या प्रसस्तै रहेको यो बालगृहमा भएका बालबालिकाको अबस्थाले स्पष्ट पार्छ । यही बालगृहबाट ४ जना नेपाल घर भएका बालकहरु फर्कने तयारीमा थिए । बालकको उद्दारमा गएको टोली अरयिरया जिल्लाको कटिहारमा रहेको बाल संरक्षण समिति ईकाईमा पुग्यो, त्यहाँ कार्यालयकी प्रमुख बेबी रानी थिईन् ।
नेपाल भारत सीमा क्षेत्र जोगवनी नाका हुँदै धेरै बालबालिका कसरी भारतीय बजारसम्म पुग्छन् भन्ने बिषयमा सबै क्षेत्र अन्यौलमा नै पाईयो । बिहार सरकारको जिल्ला बाल संरक्षण ईकाईका सहायक निर्देश रहेकी रानीले भनिन्, ‘कटिहार नै बालबालिकाको लागि गन्तब्य नभएपनि ट्रान्जिटको रुपमा रहेको छ। अप्ठेरो अबस्थामा रहेका बालबलिकालाई हामीले भेटेसम्म उद्दार गर्ने र बिभिन्न बालगृहहरुमा सुरक्षाको लागि पठाउने गरेका छौ ।’ उनीहरुको सरकारी प्रक्रिया निक्कै नै शक्तिशाली रहेको पाईयो । बालबालिका हेर्ने छु्ट्टै विभाग रहेको र त्यो विभाग भित्र पनि बालबालिका सम्बन्धि ईकाई उस्तै सक्रिय देखिन्थ्यो । नेपालमा जिल्ला बाल कल्याण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने प्राबधान रहेको छ । तर भारतीय जिल्ला बाल संरक्षण ईकाईको अध्यक्ष सामाजिक ब्यक्ति राखिने गरेको पाईयो । रानीले भनिन्, ‘समितका अध्यक्ष हरेक हप्ताको ३ दिनसम्म कार्यालय आउने र तत्काल निर्णय गर्ने बिषयहरु तत्काल निर्णय गरेर पठाउने गरिएको छ ।’
कसरी पुग्छन् भारत ?
भारतीय बजारसम्म पुग्नको लागि बालबालिकाहरु साथिसंगीको लहैलहै, बाबुआमा नभएका वा बाबु या आमा नभएर बिरक्तिएकाहरु बढी देखिएका छन् । त्यस्तै पारिवारबाट वेवास्ता गर्दा पनि उनीहरु भारतीय बजारसम्म पुग्ने गरेको सीविनका कार्यक्रम संयोजक अधिकारी बताए । उनले भारतको बिहारमा मात्र हैन दरभङ्गामा पनि अझै ६ जना बालबालिका रहेको भन्ने जानकारीमा आएको सुनाए । भारतीय बालगृहमा भएका नेपाली बालबालिकाहरु सहज रुपमा ढिलो चाँडोे नेपाल फर्कन सक्ने भएपनि बाहिर रहेका बालबालिका अत्याधिक जोखिममा रहेको पाईएको छ । घरायसी कामदारको रुपमा प्रयोग गरिने मात्र हैन उनीहरुको अंग प्रत्याङग समेत निकालेर बिक्री हुने गरेको र बालबालिका कहिल्यै नभेटिने अबस्था पनि रहेको भारतीय अधिकारीहरु नै बताउँछन् । कतिपय बालबालिकाहरुलाई अपांग बनाएर माग्न लगाउने, सर्कसमा पुर्याएर जोखिमका कामहरुमा लगाउने गरेको बिभिन्न माध्यामहरुबाट बाहिर आउने गरेको केन्द्रीय बाल कल्याण समितिका बालबालिका फोकलपर्सन सुमन अधिकारीको भनाई छ।
बालबालिका यसरी पक्राउ पर्छन
उनीहरु जब रेल स्टेशन झर्छन त्यहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी कर्मचारी राखिएको हुन्छ । यदी सरकारी कर्मचारी नभएपनि प्रहरी अथवा रेल्वे कर्मचारीहरुले उनीहरुको सोधिखोजी गर्छन् अनी सम्बन्धित अधिकारीहरुलाई जानकारी गराएपछि उनीहरुलाई बालगृहसम्म पुर्याउने गरिएको छ । उनीहरुलाई प्रहरीको सहयोगमा सोधखोज गरी बालगृह वा घर फर्काउने प्रयास गरिन्छ । तर घर पत्ता नलागेकाहरुलाई भने १८ बर्ष नहुँदासम्म बालगृहमा नै बन्दी सरह राखेको पाईएको छ । धेरै नेपाली बालबालिका भारतको बिभिन्न बालगृहहरुमा बन्दी सरह जीवन बिताई रहेका छन् । कति बालबालिका भारतीय बालगृहमा छन् र उनीहरुको अबस्था के छ भन्ने बिषयमा अहिलेसम्म कुनै निकायसँग पनि त्यसको आधिकारीक तथ्यांक छैन ।