तेह्रथुममा वर्षाले गाउँका कच्ची सडक अवरुद्ध

तेह्रथुममा वर्षाले गाउँका कच्ची सडक अवरुद्ध

दीपक कट्टेल, तेह्रथुम, भदौ १ गते । गाउँगाउँमा व्यक्ति केन्द्रित भई स्काभेटरको माध्यमद्वारा निर्माण गरिएका कच्ची सडक वर्षायाम सुरु भएसँगै कुनै पनि सवारी साधन नचल्ने अवस्थामा पुगेका छन् ।
जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध भएपछि सदरमुकामदेखि पूर्व तथा पश्चिमका गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव चुलिँदै गएको छ । गाउँगाउँमा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेपछि स्थानीयवासी सदरमुकामबाट सामान खरिद गरी बोक्न थालेका छन् । गाउँका युवा विदेशिएपछि खेतबारी बाँझिएसँगै बजारबाट खाद्यान्न बोकेर घरसम्म ल्याउनसमेत समस्या रहेको गाउँवासी बताउँछन् ।
वर्षासँगै सडक हिलाम्मे भएर यातायातका साधन चल्न छाडेपछि जिल्लाका दर्जनभन्दा बढी गाउँ यातायात सेवाबाट विच्छेद भएका छन् । बाटो हिलाम्मे भएर यातायातका साधन चल्न नसक्दा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पूर्वका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, इसिवु, खाम्लालुङ, थोक्लुङ र पश्चिमका पञ्चकन्या, फाक्चामारा, ओख्रे, सुदाप लगायत स्थानमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव भएको हो ।
निरन्तरको वर्षाले सडक हिलाम्मे भएसँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सर्वसाधारण तथा यात्रुसमेत सास्तीमा परेका छन् भने ढुवानी गर्न नपाएर गाउँका बजार पसल खाली हुन थालेका छन् । सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा व्यवसायमा असर परेको व्यापारीले बताएका छन् । दुई महिनायता ढुवानी गर्न नपाउँदा पसलमा चामल, चिउरा, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका सामानको अभाव हुन थालेको फेदाप गाउँपालिका औँसी बजारका व्यवसायी रामकृष्ण रिजालले बताउनुभयो ।
धेरै दुःखका साथ ट्याक्टरमै भए पनि सामान ढुवानी गरिँदैथियो, छिटो र सस्तो पनि थियो तर करिब दुई महिनायता खोरुङ्गा खोलामा पानीको बहाव बढेपछि ट्याक्टरसमेत तर्न सक्दैन । खोलामा गाडी तर्ने पुल छैन –इसिवुका व्यवसायी राम कार्कीले बताउनुभयो । यातायात नचल्दा पहिले जस्तो सामान ओसारपसारका लागि भरिया पनि नपाउने उहाँले गुनासो पोख्नुभयो ।
जिल्लाको पूर्वी व्यापारिक स्थल सङ्क्रान्ति बजारबाट म्याङ्लुङ जोडिने ६८ किलोमिटर सडक गत असारदेखि नै पूर्णरूपमा बन्द छ । दैनिक रूपमा धनकुटा हुँदै धरानसम्म सवारी सञ्चालन हुने नौ किलोमिटर सिधुवा–शुक्रबारे सडक खण्डमा पनि वर्षाले क्षति पु¥याएपछि अवरुद्ध छ । यस्तै म्याङ्लुङ–मोराहाङ जोड्ने सडक खण्ड पनि वर्षाले क्षतविक्षत भएको छ । जिल्लाका दर्जनौँ ग्रामीण तथा कृषि सडकमा वर्षाले क्षति पु¥याएपछि यातायात ठप्प छन् । अझैसम्म पनि ती सडकको मर्मत र स्तरोन्नति कसले र कहिले गर्ने भन्नेसमेत अन्योल भइरहँदा उपभोक्ताले उपभोग्य वस्तुको अभाव खेप्नुपर्ने साथै यातायात सञ्चालनमा पनि समस्या यथावत् रहने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्