नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन

<span class='c1'>नेपालमा सबैभन्दा बढी</span> <span class='c2'>झापामा चिया उत्पादन</span>

विष्णुप्रसाद पोखरेल

दमक, भदौ १९ गते । नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन हुने गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेअनुसार ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यवसायिक रूपमा चिया खेती हुँदै आएको छ ।
बिर्तामोडमा व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन सार्वजनिक गर्दै विभागका निर्देशक बद्री कार्कीले व्यक्तिगत तथा साना किसान एक हजार ५३२ जनाले व्यावसायिक चिया खेती गर्दै आएका छन् । उहाँका अनुसार जिल्लामा संस्थागत तथा ठूला बगान ६९ वटा रहेका छन् ।

कार्कीका अनुसार कुल खेतीयोग्य जमिनको सात हजार १९५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । उहाँका अनुसार झापामा मात्रै आठ करोड २५ लाख १७ हजार के.जी. चिया उत्पादन भएको पाइएको छ । सबैभन्दा धेरै चिया उत्पादन हुने जिल्ला झापा नै भएको तथ्याङ्कले देखाएको छ, कार्कीले भन्नुभयो । देशभरका नौ हजार २३६ कृषक तथा व्यवसायीले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा व्यावसायिक चिया खेती गर्दै आएका छन् ।
देशभर वार्षिक १० करोड ८० हजार के.जी. हरियोपत्ती उत्पादन हुने गरेको देखिएको निर्देशक कार्कीको भनाइ छ । नेपालका ११ हजार ४१ वटा बगानमा चिया खेती गरिँदै आएको र यसमा सबैभन्दा धेरै इलाममा रहेका छन् । इलाममा छ हजार ९९५, झापामा एक हजार ६३१ वटा बगान रहेको सार्वजनिक गरिएको छ । इलामबाट व्यावसायिक रूपमा चिया खेती सुरु भएको बताइन्छ ।
विभागका तथ्याङ्क अधिकृत किशोर केसीका अनुसार अध्ययनका क्रममा परम्परागत रूपमा चिया खेती हँुदै आएको पाइएको छ । ५९ प्रतिशत मानिसले परम्परागत रूपमा चिया खेती गर्दै आएको पाइएको छ, अधिकृत केसीले भन्नुभयो । सबैभन्दा बढी चिया उत्पादन हुने झापामा ९८ दशमलव ६ प्रतिशतले परम्परागत रूपमा चिया खेती गरेको पाइएको अधिकृत केसीको भनाइ छ ।
चिया खेतीको इतिहासअनुसार वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्किदा तत्कालीन चिनियाँ सम्राटबाट चियाको बीउ उपहारस्वरूप नेपाल भिœयाएपछि यसको खेती इलामबाट सुरु भएको मानिँदै आएको छ । इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले चिया रोपेर नेपालमा चिया खेतीको सुरुवात गरेको इतिहास छ । नेपालमा सीटीसी, अर्थोडक्स र ग्रीन टी उत्पादन हुँदै आएको छ । नगदेबालीको रूपमा यसलाई लिइन्छ ।
कृषक तथा व्यवसायीले हरियोपत्ती बिक्री गरेर वार्षिक रूपमा एक अर्ब ७४ करोड, २२ लाख १५ हजार ३६५ रुपियाँ आम्दानी गर्ने गरेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । आधुनिक र व्यावसायिक रूपमा चिया खेती भएमा यसबाट उत्पादन र आम्दानी दुवै बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्