विराटनगर बजार चौपट की गुल्जार ? व्यापार, संचार, स्थानीय सरकार र हामी उपभोक्ता

विराटनगर बजार चौपट की गुल्जार ? व्यापार, संचार, स्थानीय सरकार र हामी उपभोक्ता

[caption id="attachment_66894" align="alignright" width="292"] चन्द्र उपाध्याय,समाजशास्त्री[/caption]

हाम्रा चाडबाड र हाम्रो बजारको सम्बन्ध अति नजिकको छ । व्यापारी र उपभोक्ताको सम्बन्धले बजार बन्छ, बजार जम्छ । संचारले बजार र उपभोक्तालाई जोड्छ । सरकारले उत्पादनकर्ता, व्यापारी र उपभोक्ताको सम्बन्धलाई सहजीकरण गर्छ , अनुगमन गर्छ र आवश्यकता अनुसारी कानूनी हस्तक्षेप गर्छ ।
आजको खुल्ला अर्थतन्त्रमा विराटनगर बजार पनि अछुतो रहन सक्दैन । गुणस्तरीय सेवा प्रदान गर्ने, प्रतिष्पर्धा गर्ने र नाफा कमाउने निजीकरणको सिद्धान्तलाई विराटनगरले पनि मान्नै पर्छ । त्यसैले औद्योगिक नगरी विराटनगर पनि एउटा व्यापारिक केन्द्रको रुपमा विकास हुने क्रम तीब्र छ । यहाँ ठूला ठूला लगानीमा निजी क्षेत्रकै पहलमा पनि होटल, व्यवसायीक महल, डिपार्टमेन्टल स्टोर खुल्ने क्रम प्रतिष्पर्धाकै रुपमा अघि बढेको पाइन्छ । दैनिक उपभोग्य सामाग्री ,कृषि औजार, विद्युतिय सामानदेखि लिएर सवारी साधन सम्मको उपलब्धता विराटनगर बजारमा छ । कुनैपनि ठाउँकोे सर्वाङ्गीण विकासका लागि उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । औद्योगिक प्रबद्र्धन, निकासी प्रबद्र्धन, वैदेशिक लगानीको व्यवस्थापन र नियमन, बहुपक्षीय, क्षेत्रीय तथा द्विपक्षीय व्यापारको सुदृढीकरण, औद्योगिक वातावरण संरक्षण, सरकारी उद्योगहरुको व्यवस्थापन, खनिजजन्य वस्तुहरुको उत्खनन्, कम्पनी प्रशासन सञ्चालन र उपभोग्य वस्तुहरुको आपूर्ति, व्यवस्थापन, गुणस्तर परीक्षण एवम् बजार अनुगमन तथा उद्योग वाणिज्य क्षेत्रको विकास र प्रबद्र्धन देशको आर्थिक विकासका लागि नभई नहुने कुरा हुन् ।
वास्तवमा राष्ट्रिय अर्थतन्त्रको बलियो आधार स्तम्भको रुपमा रहेको उद्योग र वाणिज्य र व्यापार क्षेत्रको विकास र प्रबद्र्धनबिना मुलुकको विकास सम्भव छैन । तर मुद्राको चरम अवमूल्यन भै रेमिट्यान्स, कृषि तथा औद्योगिक उत्पादन समेत कमजोर भइरहेको अवस्थामा व्यावसायिक आत्मविश्वासको वातावरण निर्माण आफैंमा निकै चुतौतिपूर्ण कार्य हो । उल्टो गतिमा रहेको अर्थतन्त्रमा व्यापक सुधार गरी आर्थिक क्रान्तिमा मुलुकलाई अघि बढाउन आवश्यक नीति र वातवरण सिर्जना गर्दै लगानीका क्षेत्र बढाउनु सरकारको प्रमुख दायित्व हो भन्ने कुरामा दुई मत पनि छैन । तर एक्लो सरकार मात्रले पनि केही गर्न सक्दैन । तसर्थ सबैको साझेदारीबाट मात्रै नयाँ नेपाल निर्माणको बाटो कोर्न सकिने ठहर उद्योगी व्यवसायी लगायत हामी सबैको छ । यस्तो अवस्थामा प्रचार प्रसारको अभावमा फस्टाउन नसकेको स्थनीय व्यवसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप आर्थिक आम्दानी गराउने स्वच्छ लक्ष्य आवश्यक छ । यसका लागि व्ययसायी र उपभोक्ता दुवैको हितमा सरकारको चौथो अङ्ग मानिएको संचारको ठूलो दायित्व हुन्छ । प्रत्येक नागरिक उपभोक्ता हुन् । यिनै उपभोक्ता वस्तु र सेवा बजारका सार्वभौम शक्ति पनि हुन् । बजारमा उपभोक्ताको सम्मानको वातावरण सृृजना गरी उनीहरुको स्वास्थ्य, सम्पत्ति, सुविधा तथा आर्थिक हित संरक्षण गर्ने तथा वस्तु वा सेवा बजारमा हुने अनुचित, एकाधिकारपूर्ण व्यापारिक कृयाकलापहरुलाई नियन्त्रण गर्न आवश्यक छ । वस्तु र सेवाको आपुर्ति, मूल्य, गुणस्तर, नापतौल आदिबाट उपभोक्ताउपर हुने शोषण उपभोक्ता संरक्षण नीतिको अभावमा अपेक्षित रुपमा न्यूनिकरण र नियन्त्रण हुन नसकेको महसुस हाम्रो विराटनगरमा पनि गरिएको छ ।

उपभोक्ता हित तथा उपभोक्ता अधिकार रक्षाका लागि र बजारमा हुने अनुचित, एकाधिकारपूर्ण तथा कानुनद्धारा निषेधित व्यापारिक कृयाकलाप नियन्त्रण गर्न र कसैका पनि उत्पादनलाई आरोपित गर्ने वा कमसल देखाउने वा कुनै पनि उत्पादनप्रति उपभोक्ताको आस्थाको शोषण गर्ने खालका विज्ञापनहरु प्रकाशित नगर्नु र समाजमा नकारात्मक प्रभाव छाड्ने खालका सन्देशहरु प्रकाशन नगर्नु पनि संचार को आचार हो ।
एकातिर १४ सय पर्ने सामान ४४ सयमा बिक्री हुँदै गरेको समाचार आयो भने, हालै एउटा स्थानीय निकायले बजार अनुगमनको क्रममा बिक्री गर्न नमिल्ने भनी जफत गरेको केही सामग्री भोलिपल्ट बिहानै बिक्रीयोग्य भनी सम्बन्धित व्यवसायीलाई नै फिर्ता गरेको कुरा पनि संचारमाध्यममा आयो । सरकारको दोहोरो नीतिले विराटनगर बजार चौपट भन्नेदेखि जन प्रतिनिधिको मौन समर्थनले कालो बजारीको मनोबल बढेको समाचार समेत संचारमाध्यममा आएका छन् । भारतीय बजार जोगबनीबाट दुई किलो चिनी पनि ल्याउन पाइँदैन भन्ने उपभोक्ताको भनाइ छ भने जोगबनी बजार गुल्जार छ, हाम्रो बजार सुनसान, सरकारले किन देख्दैन भन्ने व्यापारीको गुनासो छ । विभिन्न उपभोक्ताबादी संगठन, स्थानीय सरकार, गुणस्तर तथा नापतौल अनुगमन गर्ने निकाय लगायत विभिन्न सरोकारवालाहरु सक्रिय छन् । उपभोक्ता ऐन छ, नियम छन्, कानुनहरु छन् । सरोकार साझा हो । कमी छ त केवल तालमेलको, अनुभवको र समझदारीको । व्यापारीमा पूर्ण इमान्दारीता, संचारमा सक्रियता, सरकारमा सक्षमता तथा उपभोक्तामा सजगता भएमा स्थानीय अर्थतन्त्रको विकास र हाम्रा आवस्यकताहरु सहज र सुलभ ढंगले परिपूर्ति हुन्छन् भन्ने कुरामा दुईमत छैन । Email: [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्