निर्मला पन्त हत्या प्रकरण : १ हजारको कल डिटेल र फेसबुकमा नजर

निर्मला पन्त हत्या प्रकरण : १ हजारको कल डिटेल र फेसबुकमा नजर

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको छ ।

गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि त्यसमा संलग्नको पहिचान भने अझै हुन सकेको छैन । हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खास्तीमा परेका छन् । अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।

तत्कालीन कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर दिलिपको डिएनए ‘म्याच’ नभएपछि उनी थुनामुक्त भएका थिए । त्यसयता प्रहरीले अनुसन्धान जारी राखेपनि नतिजा भने हात पार्न सकेको छैन । कञ्चनपुर प्रहरीका डिएसपी कृष्णराज ओझा घटनाको विभिन्न कोणबाट अनुसन्धान जारी रहेको बताउँछन् ।

थप ३ जनाको डिएनए परीक्षणको तयारी

निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद थप ३ जनाको डिएनए परीक्षणको तयारी गरेको छ । स्रोतले भन्यो, ‘‘३ जनाको डिएनए परीक्षणको तयारी गरेका छौं । त्यसमध्ये एकजनामाथि बढी शंका छ ।’’ प्रहरीले झण्डै डेढ साताअघि मात्रै ४ जनाको डिएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्टसहित कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुश विष्ट र चक्र बडुको समेत डिएनए परीक्षण गरिएको थियो । निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डिएनए ‘म्याच’ गरेको थिएन ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी केन्द्रीय अनुसन्धान व्युरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको बताउँछन् । सुवेदीका अनुसार कतिपयको पोलिग्राफ परीक्षण गर्ने तयारीसमेत भएको छ । डिएनए नमुना संकलन गर्न आशंकामा रहेका सबैको उमेर २५ माथि र ४० वर्षमुनी छ ।

डिएनए परीक्षण गर्न लागेकाहरु सबै भीमदत्तनगर क्षेत्रभित्रकै भएको स्रोतको दाबी छ । ‘‘हामीले संकलन गर्न लागेको डिएनएबाट हत्याराको पहिचान हुने सम्भावना छ । त्यसका केही आधार फेला पारेका छौं । डिएनए म्याच नभए अनुसन्धान निकै जटिल बन्ने सम्भावना छ,’’ स्रोतले भन्यो । प्रहरीले एक साताभित्रै तीन जनाको डिएनए परीक्षण गर्ने आवश्यक प्रक्रिया सुरु गरेको छ । नाम भने प्रहरीले गोप्य राख्न खोजेको छ ।

प्रहरीले डिएनए परीक्षणका लागि तयारी गर्नुअघि शंकास्पद व्यक्तिको गतिविधि, पछिल्ला घटनाक्रममा उनीहरुको भूमिका तथा व्यवहार आदि अध्ययन गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार निर्मला हत्यामा चिनजानकै व्यक्तिको संलग्नताको सम्भावना बढी छ । ‘‘घटनास्थल, हत्याको प्रकृति आदि हेर्दा चिनजानकै र घटनास्थल लगायत क्षेत्रको ज्ञान भएकै व्यक्तिबाट भएको देखिन्छ । हरेक कोणबाट अनुसन्धानलाई साँघुरो पार्दै लगेका छौं,’’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

१ हजारको कल डिटेल र फेसबुकमा नजर

अनुसन्धानका क्रममा प्रहरीले हालसम्म झण्डै १ हजारको ‘कल डिटेल’ अध्ययन गरेको छ । ‘कल डिटेल’ हेर्ने क्रममा झण्डै ३ सय बढीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै बोलाइएको थियो । एक प्रहरी अधिकारीले भने, ‘‘निर्मलाले मोबाइल प्रयोग गर्ने गरेको वा सामाजिक सञ्जाल प्रयोग गरेको अवस्था भए अनुसन्धान नयाँ उचाइमा पुगिसक्थ्यो । तर निर्मलासँग मोबाइल र सामाजिक सञ्जालमा पहुँच नभएकाले अनुसन्धान निकै जटिल बनिरहेको छ ।’’

प्रहरीले शंकास्पद १६ जनाको फेसबुक आइडीमाथि पनि अनुसन्धान थालेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमै बोलाएर आइडी र पासवर्ड मागेर उनीहरुको कुराकानीलाई अनुसन्धान टोलीले केलाइरहेको छ । झण्डै ३ महिनादेखि सिआइबीको विशेष टोली र राष्ट्रिय अनुसन्धान विभागको गोप्य टोली कञ्चनपुरमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्