तराईमा सुरु भयो समाचकेवा पर्व

तराईमा सुरु भयो समाचकेवा पर्व

भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक २९। छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा छठको समापनको दिन कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा समेत मनाउन थालिएको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा मनाइने यो पर्व दिदीबहिनीहरूले आफ्नो दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गरिन्छ । विराटनगर घर भई हाल कालिमाटीमा चुराको व्यापार गर्दै आउनुभएकी मनिता कर्णले दाजुभाइको प्रशंसा र पुरुषार्थको चर्चा गर्दै दिदीबहिनीहरूद्वारा यो पर्व मनाइने गरिएको बताउनुभयो ।

“तराई मधेसको लोक नाटकको झझल्को दिने यस पर्वमा ‘सामा’ र ‘चकेवा’ नाम गरेका दुई वटा मुख्य पात्र हुन्छन् । त्यसैगरी, समाजको खल पात्रको प्रतीकको रुपमा चुक्ली लगाउँने एउटा अर्को पात्र पनि हुन्छ” उहाँले भन्नुभयो ।
“यी तीनवटै पात्रको प्रतीकका रुपमा बनाइएको माटोको मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल सप्तमीको साँझदेखि टोल छिमेकका दिदीबहिनी गाउँको बाहिर खुल्ला ठाउँमा एकत्रित भई सामाचकेवा सम्बन्धी गीत गाउँछन्” । उहाँले अगाडि भन्नुभयो, “गीतमा दाजुभाइको प्रशंसा तथा चुकुली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसैगरी, सामा चकेवाको प्रतीकको रुपमा रहेको मूर्तिलाई शीत र दूबो खुवाइने गरिन्छ ।”
“सामाचकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनी वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कोलाई दिंदै बाँया हातले फेरि लिने गरिन्छ । दिने र फर्काउँने यो क्रम नथाकेसम्म चलिरहन्छ” उहाँले अगाडि भन्नुभयो ।

पर्सा माधोपुर घर भई कुलेश्वरमा बस्दै आउनुभएकी मीना झाले यो पर्व मनाउने क्रममा असत्य, पाप र असामाजिक तत्वको प्रतीकका रुपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइने गरिएको बताउनुभयो । त्यसपछि दिदीबहिनी सामाचकेवाको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामाचकेवा राखिएको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम सप्तमीको दिनदेखि चतुर्दशीसम्म रहन्छ ।
सामाचकेवा पर्वको विधिबारे जानकारी दिँदै सर्लाही बलरा घर भई अहिले राजधानीको कोटेश्वरमा बस्दै आउनुभएका गायत्री मिश्रले पूर्णिमाको दिन यो पर्वको समापन हुने गरेको बताउनुभयो । पूर्णिमाको दिन मूर्तिलाई सफा सुग्घर र रङरोगन गरी विशेष किसिमले सजाइन्छ । बेलुका दही, चिउरा, चिनी र मिठाईसहित मूर्तिलाई विभिन्न प्रकारको भोजन गराई सकेपछि दिदीबहिनीले आफ्नो दाजुभाइलाई मूर्तिको प्रसाद त्यही भोजन गराउँछन् । भोजन गरिसकेपछि दाजुभाइले दिदीबहिनीलाई उपहार स्वरुप नगद, गर–गहना लुगा कपडा आदि दिन्छन् ।

पौराणिककालदेखि नै सामाचकेवा पर्व
संस्कृतिविद् रामभरोस कापडीले पद्मपुराण, स्कनदपुराण र साम्बपुराणमा सामाचकेवाबारे चर्चा गरिएको बताउँदै यस पर्वको सुरुवात पौराणिककालदेखि नै भएको बताउनुभयो । ग्रन्थमा उल्लेख भए अनुसार सामाका बुबाको नाम श्रीकृष्ण, आमाको नाम जाम्वती तथा पतिको नाम चारुवक्र थियो । त्यसैगरी, सामाको दाजु श्रीकृष्ण पुत्र साम्ब थियो ।
संस्कृतिविद् कापडीले भन्नुभयो, “श्रीकृष्ण पुत्री सामा र चारुबक्र नामको केटा प्रणयसूत्रमा बाँधिन चाहन्थे । तर सामासँग एउटा अर्को केटा पनि प्रणयसूत्रमा बाँधिन चाहन्थे । यो कुरा सामाले मन नपराएपछि त्यस केटाले षड््यन्त्र गरी सामाको सम्बन्ध कुनै मुनिसँग छ भने कुरा पिता श्रीकृष्णलाई लगाईदिए ।”
श्रीकृष्ण क्रुद्ध भएर छोरी सामालाई श्राप दिएर चरी बनाइदिए । त्यसपछि सामाका पे्रमिका चारुवकक्रले पनि सामा जस्तै चराजूनीमा जान पाउँ भन्दै श्रीकृष्णसँग बरदान मागे । पछि श्रीकृष्णले श्राप दिएर चारुवक्रलाई समेत चरा बनाइदिए ।
साम्बपुराणका अनुसार, दाजु साम्बले कठोर तपस्या गरी बहिनी सामा र भिनाजु चारुबक्रलाई पनि मानव जुनीमा फर्काउन सफल भए ।
सामा र चारुबक्रले कात्तिक शुक्ल पूर्णिमाकै दिन नै पुनः मानव जुनी प्राप्त गरेको र त्यसै दिनदेखि हिन्दु समाजमा सामा चकेवाको पर्व मनाउँदै आएको जन विश्वास रहिआएको कापडीले बताउनुभयो ।

काठमाडौँमा सामाचकेवा पर्व
बल्खु तराई समाजको आयोजनामा विगत पाँच वर्षदेखि काठमाडौँमा सामाचकेवा पर्वको आयोजना हुँदै आएको छ । समाजका सदस्य सुरेन्द कर्णले पूर्वीय संस्कृतिमाथि पश्चिमी अतिक्रमण बढ्दै गएको अहिलेको अवस्थामा आफ्नो धर्म संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि राजधानीको बल्खुमा सामाचकेवा पर्व आयोजना गरिँदै आएको बताउनुभयो ।
छठजस्तै यस पर्वमा समेत पहाडी समुदायका दिदीबहिनीहरुको सहभागिता हुने गरेको बताउँदै उहाँले यस पर्वको समापनको अवसरमा कात्तिक शुक्ल पूर्णिमाका दिन पर्वमा सहभागी दिदीबहिनीहरुद्धारा भोजको आयोजना गरिन्छ र सोही भोज खाएर दिदीबहिनी बागमतीमा सामाचकेवाको बिसर्जन गर्ने गरेको बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्