विराटनगर, २२ मङ्सिर । विराटनगरको मुख्य बजार ट्राफिक चौकको उत्तरपट्टि आन्तरिक राजस्व कार्यालय अगाडि न्यू यज्ञ स्टोर छ । स्टोरमा झोला लगायतका कपडा किन्न पाइन्छ । पसलमा भेटिन्छिन् सावित्रा रेग्मी । सावित्रा १ नम्बर प्रदेशकी प्रदेशसभा सदस्य पनि हुन् । संसद बैठक नभएको र अन्य महत्त्वपूर्ण काम नभएको दिन उनी पसलमै झोला बेचिरहेकी हुन्छिन् ।झोला पसल उनले वर्षाैअघि शुरू गरेकी हुन् । विक्रम सम्वत् २०५१ सालमा उनले आफ्नै नाममा न्यू यज्ञ स्टोर सञ्चालकमा ल्याएकी हुन् । उनले झोलासँगै अन्य फेन्सी सामान समेत बिक्रीको लागि राखेकी छन् । सरकारी सेवा सुविधासँगै झोला पसल गरेर रेग्मीले दोहोरो कमाइ गरिरहेकी छन् ।
व्यापारमा लाग्ने रहर
विक्रम सम्वत् २०४५ सालमा रेग्मीको विवाह विराटनगरकै महेश रेग्मीसँग भयो । उनमा सरकारी जागिर खानुभन्दा पनि व्यापारबाटै केही गर्नुपर्छ भन्ने स्वभाव थियो । बुवाआमा सबै कम्यूनिस्ट विचारधारामा आवद्ध भएकाले उनीमा पनि कम्यूनिस्ट भाव स्पष्टै देखिन्थ्यो । उनका बुवाआमाले जागिर खानुपर्छ भन्दा समेत अटेर गरेर आफैंले केही गर्ने सोच बनाएकी रेग्मी विवाहपश्चात् पनि त्यो भावनाबाट विचलित भइनन् ।उनको जब बिवाह भयो, उनलाई आवश्यक पर्न थाल्यो गोजीखर्च । सधैं पतिसँग पनि कति माग्ने ? अझ पति पनि कम्यूनिस्ट आन्दोलनमा लागेको कारण उनीसँग पनि कहिलेकाहीँ पैसा नै हुँदैन्थ्यो । यस्तो अवस्थामा आफ्नो खर्च पतिसँग माग्नुभन्दा पनि आफैंले केही गर्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो ।
व्यापार गर्न सक्यो र जान्यो भने त व्यापार त स्थायी हुने विश्वास लिएकी उनले आफ्नो जीवन भोगाइलाई नयाँ सोचका साथ व्यापारमा लगाउने सुर गरिन् र २०५१ सालमा आफ्नै नाममा व्यापार शुरू गरिन् । उनले शुरू गरेको व्यापारमा अहिलेसम्म कहिल्यै घाटा लागेको छैन । तर उनलाई बेलाबेला राजनीतिमा भने घाटा लागेको छ । उनी विभिन्न समयमा समानुपातिकमा नाम सिफारिस भएर पनि आफूलाई सुरक्षित राख्न सकिनन् ।
राजनीतिक यात्रा
८ कक्षामा पढ्दा प्रारम्भिक कमिटीको उपाध्यक्ष भएर राजनीति शुरू गरेको उनले बताइन् । त्यसपछि विभिन्न समयमा विद्यार्थी राजनीतिलाई समेत प्राथमिकतामा राखेकी उनले राजनीतिका विभिन्न विभागमा रहेर काम गरेको सुनाइन् ।उनी अखिल नेपाल महिला संघ जिल्ला सदस्य, युवा संघ केन्द्रीय महिला विभाग सदस्य, नेकपाको जिल्ला सचिवालय सदस्य, अखिल नेपाल किसान महासंघ राष्ट्रिय समिति सदस्य तथा प्रदेशको सहसंयोजकको जिम्मेवारीमा छिन् । उनी कृषि सहकारीको अभियानमा समेत निरन्तर लाग्दै आएकी छिन् । उनी राजनीतिका विभिन्न विभागमा रहेर काम गरेको भएपनि सबै क्षेत्रमा समान समय दिएर व्यापारलाई पनि निरन्तरता दिएको बताइन् । व्यापार शुरू गरेको २४ वर्ष बिताएको उनले सुनाइन् ।
‘यति व्यापार नगरेको भए अहिलेको अवस्थामा पुग्नै सकिँदैन्थ्यो,’ उनले भनिन्, ‘आम्दानीसँगै आफूलाई चल्न सजिलो भएकाले राजनीतिमा अहिलेको सफलता हासिल गर्न सफल भएकी छु ।’ उनी राजनीतिसँगै खेती समेत गर्दै आएकी छन् । माइती र घर दुवैको खेती गरेको बताउने उनले आम्दानीको स्रोतको रुपमा व्यापारसँगै खेती पनि रहेको बताइन् ।माइतीको जग्गा रंगेलीको दर्बेसामा छ भने घरपट्टीको खेती सुनसरीको दुहबी नगरपालिका सिमरियामा रहेको छ । घर र माइती पनि दुवैतर्फ खेती किसानी नै गर्ने भएकाले आफूलाई व्यापारसँगै खेती किसानीमा पनि व्यस्त राख्न पाउँदा खुशी लागेको उनले बताइन् ।
फुर्सदमा व्यापार
स्थायी आम्दानीको स्रोत भनेको व्यापार भएकाले उनले व्यापारलाई राजनीति सँगसँगै लिएर गएकी हुन् । पहिलो प्राथमिकतामा राजनीतिलाई राखिएको भएपनि व्यापार गर्नका लागि आफू नभएपनि हुने उनको तर्क छ ।
प्रदेशसभा निर्वाचन हुनुअघि दैनिक ५ घण्टा व्यापारलाई दिँदै आएकी रेग्मीको सांसदपछिको दिनचर्या भने व्यापारमा फेरिएको छ । उनले सांसद भएपछि व्यापारमा दिने समय करीब ३ घण्टा हो । त्यो पनि कामको सिलसिलामा हिँडिरहनुपर्ने भएकाले समय दिन नभ्याएको उनको भनाई छ ।‘हरेक फुर्सदको समय मेरो व्यापार नै हो,’ उनले भनिन्, ‘आफू बसेर बेचेकोजस्तो आनन्द अरुको गर्ने कामबाट सन्ुतष्ट हुनै सकिँदैन ।’ सांसद भएपछि व्यापार रुँगेर बस्नभन्दा पनि जनताको काम बढी गर्नुपर्ने भएकाले समय कम पाउने गरेको रेग्मी सुनाउँछिन् ।
सांसदभन्दा धेरै कमाइ
विगत २४ वर्षदेखि व्यापार गर्दै आएकी प्रदेशसभा सदस्य सावित्राको कमाइ प्रदेश सांसद भएपछि करीब ४५ हजार रुपैयाँ हो । त्यो पनि विभिन्न शीर्षकमा काटिने गरेको छ । तर उनले सांसद हुनुभन्दा पहिलादेखि नै त्योभन्दा बढी आम्दानी गर्दै आएकी थिइन् । उनको व्यापारमा महिनामा ४० हजार रुपैयाँसम्म सहजैै कमाइ हुने गरेको छ । सामान्यतया महिनामा व्यापारबाट ४० देखि ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताइन् । अहिले दुवैतिर समय दिनुपर्दा व्यापारमा भने सहयोगीको रुपमा उनले समिर शाहीलाई राखेकी छिन् । ‘जनताको मान्छे भएपछि विभिन्न नाममा सहयोग माग्न आउनुहुन्छ, सांसदको रकम त धेरै बाँडेरै सकिने रहेछ,’ रेग्मीले सुनाइन्, ‘देख्नेले एउटा सांसद देख्छन् । तर त्यो सांसदसँग धेरैको आशा र अपेक्षा जोडिएको हुँदा सांसदको तलब त बाँड्दा–बाँड्दै सकिन्छ ।’ ( प्रस्तुती : सुमन सुस्केरा)