भन्सार दर वृद्धि भएपनि विराटनगर भन्सार हुँदै नेपाल भित्रिएको चिनीको तथ्याङ्क गत आर्थिक वर्षको अनुपातमै

भन्सार दर वृद्धि भएपनि विराटनगर भन्सार हुँदै नेपाल भित्रिएको चिनीको तथ्याङ्क गत आर्थिक वर्षको अनुपातमै

नवराज कट्टेल

विराटनगर, माघ १ गते । स्वदेशी चिनी मिल सञ्चालकको दबाबमा सरकारले भन्सार दर शतप्रतिशत वृद्धि गरेर आयातमा नियन्त्रण गरेको भए पनि त्यसको कुनै प्रभाव भने देखिएको छैन । सरकारले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत बनाउने निर्णय गर्दासमेत आयातको अवस्था उस्तै देखिएको हो ।

नेपालमा आवश्यकताभन्दा बढी चिनी आयात भएको चिनी मिल सञ्चालकको दबाबमा २०७४ वैशाख ४ गते सरकारले भन्सार दर वृद्धि गरेको थियो । भन्सार दर वृद्धि गरेपछिको आठ महिनामा विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्रिएको चिनीको तथ्याङ्कसमेत गत आर्थिक वर्षको अनुपातमै देखिएको छ ।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्दै सरकारले चिनीको भन्सार दर वृद्धि गर्ने निर्णय गरेपछि पनि नेपालमा चिनी आयात नरोकिएको भन्सार तथ्याङ्कले देखाएको हो ।

आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्म नौ महिनामा विराटनगर भन्सार कार्यालयबाट ३८ हजार ६५३ मेट्रिक टन चिनी आयात भएको तथ्याङ्क छ । यो अवधिमा भन्सार दर १५ प्रतिशत रहेको थियो ।
सरकारले चिनीको भन्सार दर वृद्धि गरेर ३० प्रतिशत पु¥याएपछि २०७४ वैशाखदेखि २०७५ मङ्सिरसम्मको आठ महिनामा २९ हजार ७१८ मेट्रिक टन चिनी भन्सार जाँचपास हुँदै नेपाल भित्रिएको देखिन्छ । गत आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालय हुँदै नेपाल आयात हुने वस्तुमा चिनी दोस्रो नम्बरमा पर्दछ ।

भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेल हाराहारी आयात तथ्याङ्क देखिनुमा माग भइसकेको चिनी कारण रहेको बताउनुहुन्छ । आयात कर्ताले १५ प्रतिशत भन्सार दर रहँदा अत्यधिक रूपमा माग गरेको चिनी ३० प्रतिशत भन्सार दर कायम हुँदा भित्रिएको उहाँको दाबी छ ।
सरकारले नेपाली चिनी उद्योगीको दबाबमा आयात नियन्त्रण गर्न गरेको निर्णयमा उद्यमीहरूले धोखा दिएको निष्कर्ष निकालेको छ ।

उद्योग सङ्गठन मोरङले विराटनगरमा तीन दिनअघि शुक्रबार आयोजना गरेको करसम्बन्धी छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वदेशी चिनी उद्योगीलाई संरक्षण गर्न सरकारले चिनीको भन्सार मूल्याङ्कन र भन्सार महसुल बढाउने निर्णय गर्दा दशैँ तिहारमा सरकारले धोखा पाएको खुलासा गर्नुभएको थियो ।
मन्त्री पण्डितले भन्नुभएको थियो, पछि कुरा बुझ्दा त चिनी उद्योगीले नै चिनीको पैठारी पनि गर्दा रहेछन् । उद्योगी पनि आफै र आयातकर्ता पनि आफै, वादी र प्रतिवादी आफै, यस्तो दोहोरो चरित्र रहेछ ।

पाकिस्तानले चिनी निर्यातमा अनुदान दिएसँगै नेपालमा चिनी आयातमा प्रतिस्पर्धा बढेको थियो । एकैपटक धेरै पैठारीकर्ताले एलसी खोलेर माग गरेको चिनी भन्सार दर वृद्धिपछि समेत आइरहेकोले आयात तथ्याङ्क हाराहारीमा देखिएको बताइन्छ ।
विराटनगर भन्सार कार्यालय हुँदै ४० आयातकर्ताले चिनी पैठारी गर्दै आएका छन् । त्यसमध्ये मोरङ र सुनसरी औद्योगिक करिडोरभित्रका पैठारीकर्तासँगै उद्योगीसमेतको सङ्ख्या १९ रहेको छ । त्यसपछि काठमाडौँ, भक्तपुर, ललितपुर, रूपन्देही, बारा र पर्साका आयातकर्ताले समेत विराटनगर भन्सार नाका प्रयोग गरेर चिनी भित्र्याएका छन् ।
विराटनगरमा दुगड ग्रुपले ज्ञान इन्टरप्राइजेजको नाममा, बोहरा ग्रुपले बोहरा कन्सर्न, सिमरन एग्रो इन्टरप्राइजेज र जयसानी ट्रेड कन्सर्नको नाममा, काबरा ग्रुपले क्वालिटी कन्फेक्सनरी, क्वालिटी डाइट एन्ड फुड्स प्रोडक्ट, क्वालिटीले स्न्याक्सको नाम चिनी आयात गरेका छन् ।

यसैगरी सारडा ग्रुपले न्युट्री फुड्स प्रालिमार्फत चिनी आयात गरेको देखिन्छ । नेपालमा वार्षिक चिनीको खपत दुई लाख ५० हजार मेट्रिक टन रहेको बताइन्छ । नेपालमा गत वर्ष ११ वटा चिनी उद्योगले एक लाख ७८ हजार मेट्रिक टन चिनी उत्पादन गरेका थिए भने दुई लाख ३६ हजार मेट्रिक टन चिनी नेपालमा विदेशबाट भित्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्