गरिखानेलाई गाउँमै छ पैसा

गरिखानेलाई गाउँमै छ पैसा

विराटनगर, २३ माघ । सुनसरीको बर्जु गाउँपालिका–३ साविक चिमडीकी निलम चौधरीको विवाह मनोज चौधरीसँग भयो । घर भित्रेर आउँदा जग्गाजमिन थिएन । हातमुख जोर्न निकै समस्या थियो । श्रीमान् १ हजार ८ सय तलबमा फ्याक्ट्रीमा काम गर्थे । चौधरीले भनिन्, “निक्कै रोएँ यति थोरै आम्दानीले कसरी जीवन चल्छ होला ? धेरै चिन्ता भयो ।”

चौधरीको विगत निकै कष्टपूर्ण थियो । सम्झिँदा पनि उनलाई निकै कहाली लागेर आउँछ । तर, वर्तमान भने निकै सन्तोषप्रद बनेको सुनाइन् । पन्ध्र वर्षअघि ब्यूटीपार्लर सम्बन्धी तालिम लिएकी थिइन् । त्यो सीपकै कारण आज दुईजना छोराछोरी राम्रो दिक्षा दिन सकेकी छन् । बोर्डिङ स्कुल पढ्छन् । चिमडीमा कस्मेटिक पसल र पार्लर खोलेकी छन् । भन्छिन्, “सात कठ्ठा जग्गा जोडिसकें । व्यवसाय पनि फस्टाएको छ ।” चौधरीले गाउँघरमा हुने विवाहमा बेहुली सिंगारपटार गर्छिन् । एकजना बेहुली सिंगार पटार गर्दा ५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको सुनाइन् । गाउँमै पुगेको लघुवित्त कार्यक्रममा सहभागी भएपछि चौधरीले बिछट्टै रुपमा कमाइ गर्न सकेको बताइन् । उनले नेरुडे नामक लघुवित्तबाट कर्जा लिएकी थिइन् । अहिले पनि धितोकर्जाबापत नेरुडेबाटै ३ लाख रुपैयाँ उठाएकी छन् ।

सुनसरीको दुहबी नगरपालिका १२ साविक पूर्वकुशाहकी प्रेमलता फौदार कुखुरा पालन गर्छिन् । खोरमा सधै खचाखच कुखुरा हुन्छन् । तौल बढेर तीन केजी भएपछि बजार पुर्याउनै पर्छ । बारीमा पोखरी खनाएर माछापालन पनि गरेकी छन् ।

भन्छिन्, “साना चल्ला हालेपछि ४५ दिनमै बिक्री गर्न तयार हुन्छन् । व्यापारी घरमै आउँछन् ।” उनले एक खेपमा ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन् । श्रीमानले पनि काममा सघाउँछन् । खेती किसानीमा श्रीमान श्रीमतीकै उत्तिकै सहभागिता हुने गरेको छ । उनले व्यवसायको कमाइबाट जग्गा जोडेकी छन् ।

नेरुडेको लघुवित्त कार्यक्रमले महिलाको आर्थिक जीवनस्तर सुधार गर्न निकै बल पुगेको छ । उद्यमशील कर्जा कार्यक्रममा आवद्ध धेरै महिलाले आर्थिक रुपमा निकै ठूलो छलाङ हानेका छन् ।  सक्षम परियोजना र युके एडकको सहयोगमा संचालित यो कार्यक्रमले ऋण लिएर जथाभावी खर्च गर्ने प्रवृत्तिमा कमी आएको बताउँदै कार्यक्रमका प्रबन्धक ज्योतिप्रसाद धितालले भने, “श्रीलंकामा पनि यस्तै मोडलको कार्यक्रम चलेको रहेछ । हामीले प्रारम्भिक रुपमा ४ हजार भन्दा धेरै महिलालाई तालिम दिइसकेका छौं । उद्यम गर्ने इच्छा भएका २ सय ५० ले ऋण लिइसके ।” उनले वित्तीय साक्षरतासँगै यो कार्यक्रमको प्रभावकारिता बढ्दै गएको जानकारी दिए ।

धरानकी तारा शाहीको जीवनमा समयले दिएको पीडा बयान गरिसाध्य छैन । एक्कासि श्रीमान् बिते । जीवन निरस बन्यो । के गर्नु, कसो गर्नु र कसरी जीविका चलाउनु भन्ने पिरले छोप्यो । छोरीको भरणपोषण उनकै काँधमा थियो । र अब एक्लै तय गर्नुपर्ने पट्यारलाग्दो सिंगो जीवनको उनका सामु थियो । तर, यो यात्रालाई सहज बनाउन उनले गरेको मेहनत निकै सार्थक बनिसकेको छ ।

“गरिखान सक्छु कि सक्दिन भन्ने पिर थियो, तर गाउँमै भएका अवसरलाई सदुपयोग गर्नेलाई पैसाको दुःख नहुने रहेछ,” उनले भनिन्, “मिहिनेत गर्दै जाँदा अहिले सबै सम्हालिएर आएको छ ।” लिम्बूको आर्थिक अवस्था अहिले निकै सुध्रिएको छ ।
एक दशकअघि चिनजानकै बहिनीले समूहमा बसिदिनु पर्यो भनिन् । उनी पनि लघुवित्तमा पसिन् । समूह बन्यो । बिनाधितो पहिलो किस्ता ऋण उठाइन् । बंगुर खरिद गरिन् । पहिलो खेपको बिक्रीमै नाफा भयो । भन्छिन्, “माउ किने त्यसले दिएको पाठा बेचेर बित्री गर्न सुरु गरें । अहिले पनि धरानभरि मेरा पाठा बिक्छन् ।” मासुको लागि पनि बंगुर बेचिन् । एउटा ३० हजार रुपैयाँमा बिक्री हुन्छ ।

एक दशकमा उनको व्यवसायको दायरा निकै फराकिलो बनिसकेको छ । एक वर्षयता नर्सरी पनि खोलेकी छन् । फूलका बेर्ना र गमला बेच्न भ्याईनभ्याई छ । घरमै आएर खरिद गर्छन् । भन्छिन्, “१५ हजारबाट सुरु भएको मेरो व्यावसायिक यात्रा निकै फराकिलो बनेको छ ।”” टेम्पो खरिद गरेर भाडामा पनि चलाउन दिएकी छन् । भ्याउँदा सुइटर बुनेर बिक्री गर्छिन् । घरेलु धुप पनि बेच्छिन् । अहिले छोरी १२ कक्षामा पढ्दै छिन् । पैसाको खासै समस्या छैन । ““अब श्रीमान् नभएको र एकल महिलाले केही गर्न सक्तैनन् भन्ने हिनताबोध छैन,” लिम्बूले सुनाइन् । नेरुडेका प्रमुख कार्यकारी मणिकुमार अज्र्यालले लघुवित्तले ग्रामीण क्षेत्रका महिलालाई उद्यमशील बनाउन निकै ठूलो सहयोग पुगेको बताए ।  साभार: बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्