पुर्वमा झुक्याएर सुन ठग्ने नयाँ धन्दामा कारोबारी सक्रिय , यसरी हुन्छ ठगी !

पुर्वमा झुक्याएर सुन ठग्ने नयाँ धन्दामा कारोबारी सक्रिय , यसरी हुन्छ ठगी !

नवराज कट्टेल

विराटनगर, फागुन २ गते ।

सुनको गहना बिक्री गर्ने उपभोक्तालाई झुक्याएर ठग्ने नयाँ धन्दामा कारोबारी सक्रिय भएका छन् । उपभोक्ताले प्रयोगमा ल्याइसकेका गहना बिक्रीका क्रममा शुद्धता परीक्षण गर्ने भन्दै स्वरूप परिवर्तन गरेर ठगी गर्ने प्रवृत्ति सुन कारोबारमा अवैध तरिकाले थालिएको हो ।
शुद्धता परीक्षण गर्ने ‘टन्च’ मेसिन भित्र्याएका कारोबारीले सुनका गहनाको स्वरूप सजिलै तामामा रूपान्तरण गरिदिन्छन् । गहना बिक्री गर्ने मनसायमा आएका उपभोक्तालाई विश्वासमै पारेर ठग्ने नयाँ प्रवृत्तिबारे जानकारी भने कमैलाई मात्रै छ ।
पहेँलो धातु सुनलाई मर्करी (पारो) सँग सम्पर्क गराउँदा कालो रङमा रूपान्तरण हुन्छ । मर्करीमा डुबाएको सुनको स्वरूप उगाल आएको तामाझैँ देखिन्छ । कारोबारीले सुन परीक्षणका नाममा मर्करी खन्याउने र टन्च मेसिनमा राखेपछि सुनको स्वरूपमा आएको परिवर्तन उपभोक्तालाई देखाउँछन् ।

आफ्नो गहना हेर्दाहेर्दै तामाको स्वरूपमा परिवर्तन भएको देखेका उपभोक्तालाई कारोबारीले नक्कली सुनको हवाला दिने गरेका छन् । आफ्नै आँखाअगाडि सुनको स्वरूप परिवर्तन भएको देखेपछि निराश उपभोक्ताले थोरै मूल्यमा कारोबारीलाई गहना बिक्री गर्न बाध्य हुन्छन् । तर, यसरी किनेको सुनका गहना आगोमा राखेर तेजाबले धोएपछि पुनः सुनमै बदलिने गर्छ ।
झुक्याएर सस्तो मूल्यमा किनेको सुनका गहनालाई तताएर सुनमै परिणत गरेपछि पुनः महँगो मूल्यमा बिक्री गर्ने धन्दाले कारोबारी फस्टाएका छन् । तर, महँगो मूल्यमा किनेको एक नम्बरी सुनको स्वरूप परिवर्तन भएको देखेपछि सस्तो मूल्यमा बिक्री गर्नुपर्ने उपभोक्ता भने निराश छन् ।
गुणस्तर तथा नापतौल विभाग बाहेकले परीक्षण गरेको सुनको शुद्धताले मान्यता पाउँदैन । सरकारी स्तरमा टन्च मेसिन विभागसँग मात्रै छ । तर, निजी क्षेत्रमा भित्र्याइएका यस्ता मेसिन के कति छन् भन्ने यकिन तथ्याङ्क भने कसैसँग छैन । सुन कारोबारीले मेसिनलाई आधार बनाएर उपभोक्ता ठग्न सक्ने संभावना बारे ज्ञान नभए पनि व्यक्तिगत प्रयोजनका लागि टन्च मेसिन भित्र्याएको कुरा विभागमा जानकारी छ ।

गत वर्ष पुसमा यस्तै प्रकरणबाट ठगिएका विराटनगर–१२ ऋतिक बर्माका अनुसार ठगी गर्नेहरूले धेरै उपाय लगाउने बताउनुहुन्छ । सुनकै कारोबारमा संलग्न झापा दमकका यदुकुमार रामदामले धितो राखेको सुन नक्कली परेपछि रकम गुमाउनेमा पर्नुहुन्छ । धरानका दीपक बनेपालीका अनुसार सुन कारोबारीले सर्वसाधारणलाई झुक्याएर ठग्ने जुक्ति फरक–फरक छन् । वर्षौंदेखि लगाएको गहना बिक्री गर्न जाँदा २५ प्रतिशत मात्रै सुन रहेको बताएपछि आफूले बिक्री नगरी फर्केको बनेपालीको भनाइ छ ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी अहिलेसम्म यस्तो उजुरी कसैबाट नआएको बताउनुहुन्छ । सुनको स्वरूप परिवर्तन गरेर ठगीमा परेको भन्ने कुनै उजुरी नआएको भए पनि मर्करीको सम्पर्कमा रहने पहेँलो धातु सुनको स्वरूप परिवर्तन हुने पुडासैनीले बताउनुभयो । ‘सुनलाई मर्करीको सम्पर्कमा राखे त्यसको रङ क ालो हुन्छ’ उहाँले भन्नुभयो–उपभोक्ताले खरिद बिललाई सुरक्षित राख्नु पर्दछ । प्रमाणहरू नष्ट भएको वा ठगिएको भन्ने आधार नभेटिँदासम्म कारबाही चलाउन असजिलो हुन्छ । नियमन गर्ने निकायले गुणस्तर मापन गर्ने कुनै पनि मेसिन भित्र्याएको तथ्याङ्क राखिरहनु पर्दैन । तर, बजारमा भित्रिएका यस्ता मेसिनलाई आधार बनाएर उपभोक्ता ठगिनसक्ने सम्भावनाको खोजी र अनुसन्धानमा समेत चासो राखेको पाइँदैन ।

सुन कारोबारीले भित्र्याएका टन्च मेसिन समेत फरक–फरक प्रकार र मुल्यका छन् । न्यूनतम ४० लाखदेखि एक करोड २० लाख रुपिँयासम्मको मेसिन बजारमा छन् । सुनको वजन अनुसारको शुद्धता परीक्षण गर्ने टन्च मेसिन चलाउने कालिगढमा समेत दक्षता आवश्यक पर्दछ ।
व्यक्तिगत प्रयोजन बाहेक निजी क्षेत्रबाट राखिएका टन्च मेसिनको प्रमाणीकरणले सरकारी मान्यता पाउँदैन । तर, टन्च मेसिन राखेर सुनको शुद्धता परीक्षण गर्ने व्यवसाय समेत विराटनगर, धरान, इटहरी, उर्लावारी, दमक र बिर्तामोडमा चलिरहेको छ । उपभोक्ताले खरिद बिलसहित पसलमा पुग्दा ठगिनबाट जोगिन्छन् । तर, लामो समयसम्म प्रयोगमा आएका गहनाको बिल सधैँ उपभोक्ताले राख्दैनन् । बिल बिनाको सुनका गहना लिएर खरिद गरिएकै पसलमा पुगे पनि टन्च मेसिनको परीक्षण फन्दामा उपभोक्ता परिहाल्छन् ।

सुनको शुद्धता मेसिनबाहेक अभ्यस्त व्यक्तिले समेत सहजै छुट्याउन सक्ने महानिर्देशक पुडासैनीको भनाई छ । कुनै कारणले यस्तो अवस्था आएमा आफ्नो वस्तु बिक्री नगर्न समेत उहाँको आग्रह छ । शुद्ध सुनलाई २४ क्यारेटको प्रमाणीकरण दिइएको हुन्छ । त्यस्तो सुनका गहना जड्तीरहित ९८ प्रतिशत रहेको मानिन्छ । नेपालमा नेपाल राष्ट्र बैङ्कले खरिद गर्ने सुन ९९.९९ प्रतिशत शुद्धता मानिन्छ । त्यही सुनमा जड्ती मिसाएर २२ र २० क्यारेटमा रूपान्तरण गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्