विराटनगर नाकाबाट छालाको निकासी घट्यो , विश्वव्यापी बजार मूल्यमा ह्रास मुख्य कारण

<span class='c1'>विराटनगर नाकाबाट छालाको निकासी घट्यो ,</span> <span class='c2'>विश्वव्यापी बजार मूल्यमा ह्रास मुख्य कारण</span>

नवराज कट्टेल

विराटनगर, फागुन २० गते । छालाको विश्वव्यापी बजार मूल्यमा ह्रास आएपछि पूर्वी नाका विराटनगरबाट निकासी घटेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटले नेपाली छाला उद्योगको उत्पादन निकासी प्रभावित बनेको हो ।
विराटनगर भन्सार कार्यालय हुँदै भारत तथा तेस्रो मुलुकमा तीनवटा छाला उद्योगले वस्तु निकासी गर्दै आएका छन् । एसियन लेदर, नेपाल ट्यानिङ र युनाइटेड लेदर इन्डस्ट्रिजले छाला उत्पादन गरेर भारत तथा समुद्रपारका मुलुकमा निकासी गर्दै आएका हुन् ।
भारतको कानपुरमा लाग्ने महाकुम्भका कारण त्यहाँ छालाको कच्चा पदार्थबाट वस्तु उत्पादन गर्ने उद्योग तीन महिनासम्मका लागि बन्द राखिएपछि नेपाली उद्योगको उत्पादन बिक्रीमा समस्या परेको छ । त्यसको असरसँगै अन्तर्राष्ट्रिय बजारमा ४० देखि ७५ प्रतिशतसम्म मूल्यमा आएको ह्रासको प्रभावले नेपाली छाला उद्योग समस्यामा परेको बताइन्छ ।
एसियन लेदर इन्डस्ट्रिजका सञ्चालक हसन अन्सारीका अनुसार नेपाली उद्योगले अहिले नाफा र घाटा बराबरकै अवस्थामा छाला निकासी गर्नुपर्ने बाध्यता रहँदै आएको छ । भारतमा तीन महिनासम्म लगाइएको छाला उद्योग सञ्चालनको प्रतिबन्धको असर नेपाली उद्योगले खेप्नु परेको अन्सारीको भनाइ छ ।

विराटनगर भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७४÷७५ को माघ मसान्तसम्ममा ३७ करोड ६१ लाख १५ हजार रुपियाँ बराबरको ५१ लाख ३८ हजार ११९ वर्गफिट छाला निकासी भएको छ तर चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निकासी घटेर १२ करोड छ लाख ७८ हजार रुपियाँमा झरेको छ । भन्सार नाका हुँदै २७ लाख ३८ हजार २८३ वर्गफिट छाला निकासी भएको देखिन्छ ।
विराटनगर भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७३÷७४ मा ७२ लाख ३२ हजार ५०३ वर्गफिट छाला निकासी भएको थियो जसको मूल्य ५२ करोड ३८ लाख २३ हजार हुन आउँथ्यो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७४÷७५ मा ५४ करोड ९२ लाख छ हजार रुपियाँ बराबरको ७९ लाख ८२ हजार ७६४ वर्गफिट निकासी भएको छ ।
तर मूल्यमा आएको गिरावटका कारण पछिल्लो तीन वर्षमा ७२ रुपियाँ ४२ पैसा प्रतिवर्ग फिटको छाला ६८ रुपियाँ ७९ पैसामा निकासी गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ ।

विश्वव्यापी रूपमा आएको मन्दीसँगै भारतमा निकासी गर्ने अवसरबाट हुनु परेको वञ्चितका कारण मार खेप्नु परेका निकासीकर्ताले पाउँदै  आएको इन्सेन्टिभ र भ्याट फिर्ता रकमसमेत रोकिएको बताइन्छ ।
छालाको निकासीमा सरकारले दिँदै आएको दुई प्रतिशत इन्सेन्टिभलाई तीन प्रतिशतमा वृद्धि गरे पनि रकम निकासा नभएको १३ महिना पुगिसकेको र मूल्य अभिवृद्धि कर फिर्ताबापत पाउनुपर्ने रकमसमेत नपाएको उद्योगी अन्सारीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्