पुर्वमा यसपटक बढ्यो आँपको फूल (मुजुरा) , किसानहरू हर्षित

पुर्वमा यसपटक बढ्यो आँपको फूल (मुजुरा) , किसानहरू हर्षित

जयकृष्ण यादव/देवराम यादव

इनरुवा/सप्तरी, चैत १ गते ।

विगतको तुलनामा सुनसरीमा यसपालि आँपमा राम्रो फूल (मुजुरा) लागेको छ । प्रत्येक आँपको रुखमा तुलनात्मक रूपमा बढी फूल लागेकाले किसानहरू हर्षित बनेका छन् । सुनसरीमा विगत पाँच वर्षको तुलनामा सबैभन्दा बढी फूल यसपालि लागेकाले किसान खुसी बनेका इनरुवा १०, जल्पापुरका राहुल मियाँले बताउनुभयो ।
आफ्नो बारीको आँपमा बढी फूल (मुजुरा) लागेपछि किसानहरू खुसी भएका मियाँले बताउनुभयो । केही व्यावसायिक र निर्वाहमुखी आँप खेती गरेका किसानहरू हर्षित बनेका अर्का किसान रामफल यादवले बताउनुभयो ।
सुनसरीमा लगाएको आँपका रुखमा मुजुरा (फूल) अत्यधिक लागेकाले अधिकांश किसान हर्षित देखिएका यादवले बताउनुभयो । मुजुरा बढी लागेपछि जिल्लामा यस वर्ष मनग्ये आँप फल्ने सङ्केत देखिएको यादवको भनाइ छ ।
गत वर्ष ८० प्रतिशतले आँप उत्पादन घटेकामा यस वर्ष भने अत्यधिक उत्पादन हुने मुजुराले देखिएको छ । रुखमा पात कतै पनि देखिँदैन, भोक्राहा नरसिंह गाउँपालिका २ का चन्दन मेहताले भन्नुभयो, अत्यधिक मुजुरा लागेकाले यस वर्ष त गत वर्षको घाटा पनि पूर्ति यसपालि नै हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
जिल्लामा चार सय हेक्टर जग्गा आँप खेतीको क्षेत्रफल रहेकामा व्यावसायिक रूपमा तीन सय १० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको छ । जिल्लामा एक लाख ९० हजारभन्दा बढी आँपका रुख रहेका कृषि ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ ।aap_1
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख बौवालाल चौधरीका अनुसार गाउँदेखि सहरसम्मका आँपमा फूल अत्यधिक देखिएकाले उत्पादन सोचेभन्दा बढी हुने सङ्केत देखिएको छ । यस वर्ष जिल्लामा अत्यधिक फल्ने सङ्केतसँगै आँपमा भने केही समस्यासमेत देखिएको छ । केही दिनअघि पानी परेकाले मुजुरामा मधुवा कीराको कतै–कतै सामान्य प्रकोप देखिएको बताउँदै प्राविधिक सहायक भुवनेश्वर यादवले जिल्लाको उत्तरी भेगमा आँपका हाँगा सुक्ने समस्या देखिएको बताउनुहुन्छ ।
पूरै रुख नसुकी कुनै एउटा हाँगामा गवारो कीरा लागेपछि हाँगा सुक्ने समस्या देखिएको छ, यादवले भन्नुभयो । यो समस्या समाधान गर्नका लागि बगैँचा व्यवस्थापनसम्बन्धी कार्यक्रम स्थानीय सरकारसँग माग गरिएको छ । मधुवा कीराको प्रकोपबाट बच्न किसानलाई औषधि छर्किन सल्लाह दिएको उहाँको कथन रहेको छ ।
यहाँ फल्ने आँप उपभोक्ताको आपूर्तिभन्दा बढी भए बाहिरसमेत आपूर्ति गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

उत्पादन बढ्ने अनुमान
सप्तरीमा आँपका बोट मुजुराले ढपक्कै भएपछि यस वर्ष सप्तरीमा गत वर्षको तुलनामा उत्पादन बढने अनुमान गरिएको छ । बर्सेनि सात हजार हेक्टर जग्गामा आँप खेती हुँदै आएको सप्तरीमा यसपल्ट मुजुरा राम्रो लागेकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्ष सात हजार हेकटरमा लगाइएको आँप खेतीबाट २० हजार मेट्रिक टन आँप उत्पादन भएकोमा यसपालि उत्पादनमा वृद्धि भई ४० देखि ५० मेट्रिक टनसम्म उत्पादन हुने अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्