इन्टरनेटले ल्यायो परिवर्तन , एक सामान्य किसान लखपति बन्न सफल

इन्टरनेटले ल्यायो परिवर्तन , एक सामान्य किसान लखपति बन्न सफल

रौतहट, चैत ६ गते ।

इन्टरनेटबाट सिकेको सीप प्रयोग गरेर रौतहटका एक सामान्य किसान लखपति बन्न सफल हुनुभएको छ । मोबाइलमा इन्टरनेट चलाउन सिक्नुभएका रौतहट मौलापुर नगरपालिका ८ सोनरनियाँका किसान रामेश्वर पण्डितले युट्युबबाट मेवा र कुरिलो खेती गर्ने सीप सिकी लखपति बन्न सफल हुनुभएको हो । सामान्य खेती किसानी गर्दै आउनुभएको उहाँले तीन वर्षअघि इन्टरनेट चलाउन जान्नु भएपछि युट्युब पनि चलाउन थाल्नुभयो । यही क्रममा भारतीय एक च्यानलबाट मेवा र कुरिलो खेतीबारे जानकारी लिनुभयो र खेती गर्ने निधो गर्नुभयो ।

आफ्नै स्वामित्वमा रहेको एक बिघा जमिनमा मेवा र १२ कट्ठा जमिनमा कुरिलो खेती शुरु गर्नुभयो । गत वर्षदेखि शुरु गर्नुभएको मेवा र कुरिलो खेतीबाट उहाँले पहिलो वर्षमै खर्च कटाएर मेवाबाट एक लाख आम्दानी गर्नुभएको बताउनुहुन्छ । धानखेती मासेर गरेको मेवा र कुरिलोबाट यति धेरै आम्दानी हुन्छ भन्ने उहाँलाई विश्वास थिएन । शुरुशुरुमा छिमेकी शुभनारायण पण्डितले त उहाँलाई पागलको सङ्ज्ञा दिएको भन्दै हाँसो गर्नुभयो । अहिले उक्त क्षेत्रका, उहाँलाई चिन्ने किसानहरू उहाँको अनुसरण गर्न जागरुक रहेको उहाँले बताउनुभयो ।

mewa
आम्दानी राम्रो हुने पक्का भएपछि उहाँले साढे दुई बिघा जमिन भाडामा लिएर खेती विस्तार गर्नुभएको छ । अहिलेसम्म उहाँले मेवा खेतीबाट चारपटक आम्दानी लिइसक्नु भएको छ । चारपटकमा चार लाख रुपियाँ आम्दानी भएको छ उहाँलाई । पौरखी किसान पडिण्तका अनुसार कुरिलो चाहिँ यही महिनादेखि बिक्री शुरु हुन्छ । चैत, वैशाखमा कुरिलोप्रति किलो एक हजार रुपियाँसम्म बिक्री हुन्छ भने जेठपछि मूल्य घट्ने हुँदा प्रतिकिलो तीन सय रुपियाँसम्ममा बिक्री हुन्छ । मेवा प्रतिक्विन्टल आठदेखि दस हजार रुपियाँसम्म बिक्री भइरहेको उहाँ बताउनुहुन्छ । मेवा र कुरिलोखेतीमा लागेको लागत कटाइ यस वर्ष करिब २० लाख जति नाफा हुने उहाँको दाबी छ । तीन छोरा, दुई छोरी र श्रीमतीसहितको उहाँको परिवारमा जेठो छोरा अजयकुमार बल्खु तरकारी बजारमा तरकारी बिक्री गर्नुहुन्छ र मेवाको पनि थोक तथा खुद्रा बिक्री गर्नुहुन्छ । जसको कारण बजारीकरणमा खासै समस्या नभएको उहाँको भनाइ छ ।

अर्को छोरा विजयकुमार मलेसियामा हुनुहुन्छ । उहाँले महिनामा ५० हजार रुपियाँ घर पठाउने गर्नुभएको छ । एक छोरा, दुई छोरी र श्रीमतीले मेवा र कुरिलोखेतीमा समय दिने हुँदा थप श्रमिकको त्यति आवश्यकता नपर्ने उहाँले बताउनुभयो ।
आफूले इन्टरनेटबाट सिकेको सीप व्यवहारमा उतारेर खेती गर्न सफल बन्नुभएको उहाँको परिवारको जीवनस्तर दुई वर्षमा नै निकै उच्च भएको छ । युट्युबबाट पाएको जानकारीबमोजिम हरिद्वारबाट प्राविधिकसहित मेवा र कुरिलोको बिरुवा झिकाएर खेती शुरु गर्नुभएको अनुभव उहाँले सुनाउनुभयो । नेपालमा भन्दा भारतीय बजारमा मेवा सस्तो हुनाले नेपाली बजारमै यसलाई विस्तार गर्नुपर्ने उहाँको धारणा छ । उहाँले मेवाको बिक्री पश्चिममा पोखरासम्म विस्तार गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले देशको विभिन्न स्थानमा अनुदानमा धेरै कुरा दिइरहेको भए पनि आफू त्यसबाट वञ्चित भएको उहाँको गुनासो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्