समाजमा यस्तो यतार्थ : नजिककाबाटै बलात्कृत हुन्छन् छोरीचेली

<span class='c1'>समाजमा यस्तो यतार्थ :</span> <span class='c2'>नजिककाबाटै बलात्कृत हुन्छन् छोरीचेली</span>

चाँदनी हमाल

काठमाडौंँ, चैत १० गते । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे ।
धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् ।

अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीनवटा मुद्दा छन् । पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउनुहुन्छ ।cheli
व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था, काम तथा जिम्मेवारीको बोझ कम हुन र मानसिक रोग र प्रविधिको बेप्रवाह प्रयोगजस्ता मनोरोग कारक रहेको मनोचिकित्सक डा.सरोज ओझाको भनाइ छ ।
“आफन्त र चिनजानका व्यक्तिबाटै बलात्कारमा पर्ने बालबालिका ७४ प्रतिशत छन्,” प्रवक्ता सुवेदीले भन्नुभयो, “अधिकांश घर, स्कुल छेउछाउमै परिचितका सिकार भएका छन् । उहाँका अनुसार गलत व्यक्तिले सजिलो सिकार खोज्ने प्रवृत्ति पछिल्लो समय देखिएको छ ।

“घरमा कोही नभएका बेला बालिका, समान्य रूपमा फकाउँदा नै मान्ने साना बालिका वा स्कुल जाँदा आउँदा एक्लै हुने बालिकाको पछि त्यस्ता व्यक्ति लागिरहेका छन्,” उहाँले थप्नुभयो । सामाजिक विकृतिले यस्ता घटनालाई बढावा दिइरहेको उहाँको भनाइ छ ।
अधिकारकर्मी तथा अधिवक्ता ढुङ्गाना घरपरिवार मात्र हैन सशस्त्र द्वन्द्वपछि समाज स्वतन्त्र हुँदै स्वच्छन्दताको बाटोतिर गएकाले पनि यस्ता घटना वृद्धि भएको बताउनुहुन्छ ।

विभिन्न मुद्दा हेर्दाको अनुभव सुनाउँदै उहाँले हेप्न सकिने, भनेको मान्ने र मार्न सकिने बालिका नै भएकाले वयस्क युवतीभन्दा चिनेजानेका साना बालिका बलात्कारका लागि चुनिन थालेको अपराध विश्लेषण उहाँको छ ।
“घरपरिवार, समाज र पुरुष वर्गलाई यस्ता विषयमा नैतिक शिक्षा दिनेबेला आएको छ,” उहाँले भन्नुभयो, “अझ छोरालाई सानैदेखि यस्ता कुरामा सचेत गराउनै पर्छ, ताकि भविष्यमा ऊ बलात्कारी नबनोस् ।” छोरालाई अङ्कुश नलगाउने तर छोरीलाई अङ्कुश लगाइरहने चलनले छोरा स्वच्छन्द हुन थालेको उहाँ बताउनुहुन्छ ।

यसरी बलात्कारका घटना बढ्नुमा नेपालको सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउनुहुन्छ ।
“मूल्य मान्यता, नैतिकता, इमानदारी हराउँदै समाज विचलनतिर गइरहेको छ,” उहाँले थप्नुभयो, “अर्कोतिर हातहातमा प्रविधि पुगेकापछि उत्सुकताबस विभिन्न साइट हेरेर अनावश्यक उत्सुक बढ्नाले बलात्कार घटना हुन थालेको देखिन्छ ।”
उहाँका अनुसार माथिल्लो जात वा वर्गले तल्लो जात वा वर्गमाथि गरिने हिंसामध्ये एक बलात्कार पनि हो । पछिल्लो समय सञ्चार क्षेत्रको सक्रियताले यस्ता घटना बाहिर आए पनि न्यूनीकरण हुन नसकेको उहाँको विश्लेषण छ ।
प्रहरी प्रशासनले बलात्कार भएको प्रमाण खोजिरहने र राज्यले बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो भइरहेको तर्क उहाँको छ । “राज्यको उच्च पदमा अधिकांश पुरुष त्यो पनि उच्च वर्गका रहेका छन्,” उहाँले थप्नुभयो, “उहाँका छोरीचेली बलात्कार हुँदैनन् भन्ने धारणाले पनि कमजोर छोरी चेली बलात्कारमा परिरहेका छन् ।”

बलात्कारका घटना बढ्नुमा व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था कारक रहेको मनोचिकित्सक डा.सरोज ओझा बताउनुहुन्छ । कतिपय व्यक्तिमा पिलोफेलिया (वयस्क बच्चातर्फ बढी आकर्षित हुने मानसिक रोग) हुनसक्छ उहाँले प्रष्ट्याउनुभयो तर अधिकांश त्यो नभई उसको सामाजिक परिवेशको असर हुन सक्छ । पिलोफेलिया मनोरोग भने पीडकको परीक्षणपछि मात्र पत्ता लाग्ने गर्छ ।
डा. ओझाका अनुसार शिक्षा तथा कामको चापको कमी भएकाले बलात्कारजन्य घटनामा संलग्नता बढाउन सक्ने बढी सम्भावना रहन्छ । ‘‘सामान्यतया १२ वर्षको उमेरपछि हरेक व्यक्तिमा यौन चाहनाको सुरुवात हुुने गर्छ । तर त्यसको सही व्यवस्थापन नगरी इन्टरनेट हेरेकै भरमा बलात्कार गर्नेतर्फ लक्षित हुने मानसिकता हालका किशोर वर्गमा विकास भइरहेको देखिएको छ’’, उहाँ अनुमान छ ।
सामाजिक सञ्जाल र भर्चुअल लाइफको बढोत्तरीका कारण परिवारकै सदस्यबीच कुराकानी कम हुँदा नयाँ पुस्ताको ध्यान यस्ता घटनातिर मोडिन थालेकामा प्रहरी अनुसन्धानकर्मी पनि सहमत छन् । “भात खान पनि च्याटबाट बोलाउँछन् आमा अनि बाबु अर्को कोेठामा टेलिभिजनमा मख्ख,” प्रहरी प्रवक्ता सुवदीले थप्नुभयो, “छोराछोरी के गरिरहेका छन् भन्ने बुझ्न फुर्सद हुन्न ।”
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छोरीको सुरक्षा, परिवार तथा शिक्षकको समाजमा भूमिकाजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी र विभिन्न सङ्घ संस्थाको तथ्याङ्क अनुसार आव २०५३÷५४ देखि २०७२÷७३ को २० वर्षमा नेपालमा बलात्कारका घटनामा दश गुणा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०५३÷५४ मा देशभरिमा ११२ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा बीस वर्षपछि २०७२÷७३ मा एक हजार ८८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकाले पनि बढ्दै गएको देखिएको हो । यो बढोत्तरी नेपालको जनसङ्ख्या वृद्धिको तुलनामा बढिरहेको समाजशास्त्रीहरू बताउँछन् ।

आर्थिक वर्ष २०७४÷७५ को प्रहरी तथ्याङ्क अनुसार कुल दुई हजार ८७१ बलात्कारका घटना भएका थिए । जसमध्ये साथीभाइ र छिमेकीबाट सबैभन्दा धेरै ७३० बलात्कारमा परेका थिए ।

त्यसबाहेक १४१ बलात्कार एकैघरका आफन्तबाट भएको प्रहरीले जनाएको छ । त्यस्तै, नातेदारबाट ४८ जना, अन्य चिनेजानेकोबाट ६९२ जना बलात्कृत भए । स्कुलमा पढाउने शिक्षक र मालिकबाट २६ जना बलात्कृत भए । जम्मा ४०४ जनामात्र नचिनेका व्यक्तिबाट बलात्कारमा परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्र करणीका एक हजार ४५३ मुद्दा दर्ता भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्