माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन्। थुप्रै प्रश्न अस्पष्ट रहेको विद्र्यीको गुनासो छ।७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।
एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाटपरीक्षा लिएको छ।
प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए ।
कतिपय ठाउँमा भाषागत त्रुटिसमेत छन् । सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ । त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस् ।’ यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए । ‘३ वाक्यमा वर्णन हुनै सक्दैन,’ उनले भने, ‘३ पूर्णांकको प्रश्नमा विद्यार्थी झुक्किएर एक पेज उत्तर लेख्ने सम्भावना हुन्छ । अरू प्रश्नको उत्तर दिन समय नपुग्दा अनुत्तीर्ण हुन सक्छन्।’
कर्णाली प्रदेशको प्रश्नपत्रको ५ नम्बरमा रेखांकित शब्दहरूको पदवर्ग छुट्याउन भनिएको छ । रातो कागजमा प्रश्न छापिएकाले रेखांकित गरिएका शब्द चिन्न मुस्किल पर्छ । प्रश्नपत्र छपाइ गर्न रातो कागज उपयुक्त नहुने विज्ञहरूको भनाइ छ। प्रश्नपत्रमा विद्यार्थीलाई ठाउँठाउँमा निर्देशन दिइएको छ ।
प्रश्न १७ मा ‘तलका कुनै एक प्रश्नको लामो उत्तर दिनुहोस्’ भनिएको छ । लगत्तै ‘क’ प्रश्न संकेत गरेर ‘कविताको तलको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्’ भनिएको छ । फेरि ‘अ’ प्रश्न संकेत गरेर ‘क’ प्रश्नसँगै सम्बन्धित अर्को प्रश्न सोधिएको छ।
‘गज्याङगुजुङ पाराले प्रश्नमाथि प्रश्न थुपारिएको छ,’ आचार्यले भने, ‘कुनै एउटा मात्र प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा धेरै प्रश्न थुपार्दा विद्यार्थी कन्फ्युज हुन्छन् ।’ एउटै प्रश्नको जवाफ लेख्न विद्यार्थीलाई दोहोरो निर्देशन दिइएको छ ।
प्रदेश १ को प्रश्नपत्रमा ह्रस्वदीर्घसमेत अशुद्ध रहेको त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक केशव भुसालले बताए । ‘नेपाली विषयकै परीक्षामा वर्णविन्यासगत समस्या देखिन्छ,’ उनले भने ।
प्रदेश २ को प्रश्नपत्रमा सोध्ने तरिका गलत भएको, व्याकरणगत अशुद्धि रहेको उनले बताए । भुसालले भने, ‘खाली ठाउँ भर्ने प्रश्नमा कुनचाहिँ शब्द अनेकार्थी हो भनिएको छ तर छनोटका लागि दिएका शब्दमा अनेकार्थी शब्द नै छैन ।’
देशभर ४ लाख ७५ हजार विद्यार्थीले एसईई दिइरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पनि त्रुटि भएको स्वीकार गरेको छ ।
त्रुटि र अस्पष्ट भएका प्रश्नबारे सकभर परीक्षा केन्द्रमा जानकारी गराइएको उपनियन्त्रक चेतनाथ शर्माले बताए । प्रदेशअनुसार प्रश्नपत्रको स्तर पनि फरक–फरक पाइएको विषयगत विज्ञहरू बताउँछन् ।
सामान्य त्रुटि धेरै भेटिएको शिक्षकहरूको भनाइ छ । प्रदेश ३ को प्रश्नपत्रको ११ नम्बरमा भाइटीकाका बारेमा सोधिएको छ । ‘यस्ता प्रश्नको उत्तर लेख्दा भाइटीका मनाउने विद्यार्थीले धेरै नम्बर र नमनाउनेले थोरै नम्बर ल्याउने सम्भावना हुन्छ,’ एक शिक्षकले भने।
आइतबार अंग्रेजीको प्रश्नपत्रमा पनि त्रुटि भेटिएको थियो । कर्णाली र गण्डकी प्रदेशका लागि सोधिएका प्रश्नपत्रको ९ नम्बरमा व्याकरणगत त्रुटि छ । प्रश्न दिइएको छ तर के जवाफ दिने भनिएको छैन । प्रत्यक्ष वाक्यलाई अप्रत्यक्षमा रूपान्तरण गर्न निर्देशन दिइएको प्रश्नमा वाक्य नै प्रत्यक्ष छ ।
शब्दचयनमा समेत अशुद्धि भेटिएको छ । ‘अंग्रेजी विषयको प्रश्नपत्रमा स्पेलिङ गलत छ,’ त्रिवि अंग्रेजी विभागका प्राध्यापक प्रेम फ्याकले भने, ‘प्रश्नपत्रको स्तर पनि निकै कमजोर छ ।’
प्रदेश १, २, ५ र गण्डकी प्रदेशको प्रश्नपत्रमा प्रश्न दोहोरिने, अर्थ नबुझिने प्रश्न रहेको उनले जनाए । उनले भने, ‘पहिलेभन्दा त्रुटि सुधार भएको देखिन्छ,’ फ्याकले भने, ‘सुधार गर्ने कुरा धेरै देखिन्छ ।’
प्रश्नपत्रमा त्रुटि भेटिए तत्कालै ७७ जिल्लाका परीक्षा केन्द्रमा जानकारी गराउने गरिएको उपनियन्त्रक शर्माले बताए । मुलुकभर एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।