बारा र पर्सामा वर्षासहितको भीषण हावाहुरीको मौसमविदको भनाइमा कारण यस्तो

<span class='c1'>बारा र पर्सामा वर्षासहितको भीषण</span> <span class='c2'>हावाहुरीको मौसमविदको भनाइमा कारण यस्तो</span>

चाँदनी हमाल

काठमाडौँ,  चैत २० गते । बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उहाँले थप्नुभयो, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।”
यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउनुहुन्छ ।
“चितवन हुँदै वेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित वेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,” विज्ञ श्रेष्ठले थप्नुभयो, “बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा ठूलाठूला ढिक्काको असिना बन्यो ।” त्यो क्रम वायुमण्डलको उच्च तहमा नभई तल्लो तहमै भएकाले बारा पर्सामा ठूला असिना बर्षिएको उहाँले बताउनुभयो । हुन पनि असिनाको आकार पनि झण्डै अण्डाजस्तो भएको स्थानीयको भनाइ छ ।
वायुमण्डलमा न्यून चापीय रेखाको विकास भएपछि यसरी वायु पश्चिमबाट पूर्वतिर बहन्छ । त्यही दिन बङ्गालको खाडीबाट साढे एककिलोमिटरको उचाइ हुँदै तातो हावासहितको बादल उत्तरपश्चिम हुँदै त्यहाँ पुग्यो । “भारतको मध्यप्रदेशको न्यून चापीय प्रणालीबाट खाली ठाउँ खोज्दै आएको थियो,” मौसमविद् मिन अर्यालले भन्नुभयो, “त्यहीबेला अरेबियन सागरको उच्च चापीय तातो वायु पनि त्यही गतिमा बारा पर्सा आइपुग्यो ।” यसरी आएको वायुको वेग झण्डै ७० किलोमिटर प्रतिघण्टा रहेको थियो । उहाँका अनुसार तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधीको विकास भयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल खस्न खोज्ने सङ्घर्षले भुमरी बन्यो । मौसमको त्यो चक्रले असिनासँगै आँधी मानव बस्तीमा वर्षियो । asina
अर्यालले त्यो समयको अध्ययन भू–उपग्रहमा गरिरहँदा तस्बिरमा साना साना केही थोप्लाको सङ्केतमात्र देखिएको थियो । त्यसको उच्च प्रभाव थाहा पाए पनि नेपालमा स्थानीय मौसम अध्ययन गर्ने राडार अभावका कारण तत्कालै स्थान यकिन गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।

यस सिजनमा नेपाल, भारत, बङ्गलादेशलगायतका जुनसुकै क्षेत्रमा आउनसक्ने प्रक्षेपण मौसमविद्को छ । जमिन तातिदै गएर बनेको स्थानीय वायु समेत मिसिदा आँधी झन कडा भएको उहाँको ठहर छ ।
पहाडी भेगमा यस्ता आँधीका केही भाग पहाडले छेकिनाले कम क्षति हुन्छ । तर तराइ क्षेत्रमा चुरेपछि अर्को पहाड नभई खुला र खाली ठाउँ हुन्छ । यस्तोमा पश्चिम र पूर्वबाट बहेको बादल र वायु खाली क्षेत्रमा मिसिने गर्छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखास्थित हावाको वेग नाप्ने प्रविधि विफोर्ट स्केलले त्यस दिनको अत्यधिक वेग ४८ नट रेकर्ड गरेको छ । यस अनुसार हिसाब गर्दा ९० किलोमिटर प्रतिघण्टाको दरले वायु बारा पर्सा क्षेत्रमा आँधी पुगेको अनुमान मौसमविद् मीन अर्यालको छ । यो हालसम्मकै शक्तिशाली मौसम प्रणाली रहेको महाशाखाले जनाएको छ ।
नेपालमा ३० नटभन्दा माथिको हुरी यसअघि आएको थिएन । मौसमको पछिल्लो विश्लेषण गर्दै उहाँले त्यो दिन पश्चिम नेपालबाट जमिनबाट तीन किलोमिटरदेखि करिब १४ किलोमिटरमाथिबाट चिसो बादलसहितको हावा तीव्र गतिमा बहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्