एक हजार मालवाहक गाडी भारतीय भूमिमा अलपत्र, विराटनगर भन्सारदेखि बथनाहासम्म जाम

एक हजार मालवाहक गाडी भारतीय भूमिमा अलपत्र, विराटनगर भन्सारदेखि  बथनाहासम्म  जाम

विराटनगर, २७ चैत  । पूर्वको प्रमुख नाका विराटनगरको रानी भन्सार कार्यालयदेखि जोगबनी हुँदै भारतको बथनाहासम्म एक हजार मालवाहक ट्रक र लहरीको जाम लागेको छ । सीमा नाकामा भएको जामका कारण आउजाउमा अवरोध हुनुका साथै नेपालतर्फ आउनु पर्ने मालवाहक गाडी कैयौं दिनदेखि जाममा फसेका छन् ।

ती मालवाहक गाडी नेपालतर्फ भन्सार जाँचपासको पालो पनि कुरेर बसेका हुन् । तर कहिले सीमा पुगिने हो भन्ने ठेगान छैन । मालवाहक गाडीको लाम नेपाल सीमादेखि भारतको बथनाहासम्म ६ किलोमिटर परसम्म पुगेको छ । नेपालतर्फ एकीकृत भन्सार बिन्दु (आईसीपी) सञ्चालनमा नआउँदा र नेपाल आई सामान खन्याएर खाली भएका फर्कनुपर्ने ट्रक तथा लहरीलाई भारतीय आईसीपीको बाटो भई जान छाडेसँगै सडकमा गाडीको जाम बढेको हो । भारततर्फ भने आईसीपी सञ्चालनमा आइसकेको छ ।

एक महिनायता खाली भएका मालवाहक ट्रक तथा खाली कन्टेनर बोकेका लहरी नेपालको आईसीपी हुँदै भारततर्फ जाने क्रम रोकिन पुगेको छ । भारतीय पक्षले मालवाहक गाडी आईसीपी भएर फर्कंदा दुई सय रुपैयाँ पार्किङ शुल्क दिनुपर्ने भन्दै नयाँ नियम लगाएसँगै मालवाहक गाडी आईसीपी रुट भएर जान छाडेका छन् ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भारतीय पक्षले पार्किङ शुल्क लिने भनेपछि उद्योगी–व्यवसायीले आईसीपीको बाटो नगई सोझै जोगबनी हुँदै पठाउन थालेको बताए । उनले भने, ‘‘त्यो शुल्क दिने नदिने भन्ने विषयमा नेपालतर्फ भन्सार कार्यालय र उद्योगी व्यवसायी बसेर छलफलपछि मात्र निर्णय लिनेछौं ।’’ उनले आफूहरुले बढीमा २० रुपैयाँसम्म पार्किङ शुल्क लिँदा हुने भन्ने प्रस्ताव राखेपनि छलफलले निष्कर्ष ननिकालिसकेको बताए । नेपाल आई सामान खन्याएर ७२ घन्टाभित्र भारत फर्कने मालवाहक सवारीले शुल्क तिर्नुपर्दैन ।

सीमाक्षेत्रमा अत्यधिक चाप र ट्राफिक जामका कारण नेपाली उद्योगी–व्यवसायीले मगाउने सामान तथा औद्योगिक कच्चा पदार्थ बोकेका मालवाहक गाडी सीमामै अड््कँदा विलम्ब शुल्क लाग्नेलगायत समस्या कम गर्न खाली भएका गाडी आईसीपी हुँदै पठाउने व्यवस्था गरिएपनि अहिले भने पुनः रोकिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले भने, ‘‘भारततर्फबाट माग गरिएको पार्किङ शुल्कको विषयमा उद्योगी–व्यवसायीसँग छलफल गर्ने तयारी छ ।’’ सीमामा भएको मालवाहक गाडीको जाम निकै अत्यासलाग्दो भएको बताउँदै यसलाई कम गर्न प्रयास थालिने उनले बताए ।

एकीकृत भन्सार जाँच बिन्दु र निर्माणाधीन मालवाहक रेल्वे आउने स्थलको निरीक्षण गर्न मंगलबार नेपाल तथा भारतका उच्चस्तरका अधिकारीहरु बथनाहासम्म पुगेका छन् । कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत एकनारायण अर्यालले सबै वस्तुस्थितिको निरीक्षणपछि नेपालतर्फ आईसीपी सञ्चालनका लागि नेपाल सरकारले पहल लिने बताए । उनले भने, ‘‘१५ जुनसम्म सबै निर्माण पूरा गरी नेपालतर्फको आईसीपी हस्तान्तरण गर्ने लक्ष्य छ ।’’ उनले सीमामा भएको गाडीको जामले व्यवसायीको खर्च बढाएको र त्यसको मार पनि नेपाली उपभोक्तालाई नै पर्ने भएकोले सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको बताए ।

उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारकाले आफूहरुले आईसीपीलाई यो क्षेत्रको औद्योगिक विकासको मुख्य द्वारको रुपमा हेरेको बताउँदै भने, ‘‘नेपाल सरकारले सबै मालवाहक गाडी आईसीपी हुँदै नेपालतर्फ आउने वातावरण बनाए जामको समस्या समाधान हुन्छ ।’’ उनले अहिले भारततर्फको आईसीपीमा मालवाहक गाडी लगेर फेरि भन्सार जाँचपासका लागि नेपालको भन्सारतर्फ नै ल्याउनु पर्दा झन्झट भइरहेको सुनाए ।

बथनाहास्थित ल्यान्ड पोर्ट आफ अथरिटी इन्डियाका प्रमुख आरके रहमानले नेपाली व्यवसायीले नै मालवाहक गाडी आईसीपीमा ल्याउन मन नगर्ने गरेको र नेपालतर्फ प्रवेश गर्ने सडकमा बढी जाम हुने गरेको बताए । उनले भने, ‘‘नेपालतर्फ सञ्चालनमा नआउँदासम्म हामीले पनि केही गर्न सक्ने अवस्था छैन ।’’ विराटनगर भन्सार नाका भएर भारतबाट दैनिक तीनसय मालवाहक गाडी नेपाल भित्रने गर्छन् । बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्