तेह्रथुम, २७ चैत । लालीगुराँस नगरपालिका–४ का ४८ वर्षीय देवेन्द्र पौडेल छुर्पी बिक्रीबाट वार्षिक ५० लाख आम्दानी गर्छन्। २ वर्ष अघिदेखि व्यावसायिक छुर्पी उद्योग सञ्चालन गरी पौडेलले मनग्गे आम्दानी गर्न थालेका हुन्।
करिब १४ वर्षसम्म वैदेशिक रोजगारीमा रहे पनि सोचेजस्तो कमाउन नसकेपछि निराश भएर आफ्नै गाउँ फर्किएका उनले इलामको नाम्सालिङमा दुई वर्ष दूधबाट बन्ने परिकार बनाउन सिके। सिकेको सीप प्रयोग गर्दै ०७३ असोजमा गाउँका साथीसँग सल्लाह गरेर उनले ‘नमुना छुर्पी उद्योग’ खोले।
सानो छँदा नै आमा गुमाएका देवेन्द्रको बालापन गाईगोठ स्याहार्न मै बित्यो। ‘मैले १६ वर्षसम्म लेकमा गाईभैंसीसँग समय बिताएको छु’, उनले भने,‘ त्यो समयमा सबैसाथी विद्यालय जान्थे तर मलाई विद्यालय कस्तो हुन्छ भन्ने थाहा थिएन र अझै पनि छैन।’
प्रवासको उराठ लाग्दो बसाइपछि इलाममा सिकेको परिकार बनाउने कला र सानो छँदा गोठमा परम्परागत छुर्पी बनाउन जानेका पौडेलले ४८ हजारको दूध र क्रिम छुट्याउने हाते मेसिन किनेर छुर्पी बनाउन सुरु गरे। छुर्पी बनाउन गाईभैंसीको दूध आवश्यक पर्छ।
‘सुरुमा गाउँमा कसैले पनि दूध दिन मानेनन्’, उनले भने, ‘दूधको दाम प्रत्येक महिना नअड्काई दिन थालेपछि अहिले सबैले दिन्छन्।’ आफन्त र साहूसँग करिब पाँच लाख ऋण गरि छुर्पी बनाउन चाहिने आवश्यक औजार र सामग्री खरिद गरेर निरन्तर छुर्पी बनाउन थालेसँगै आम्दानी पनि राम्रो हुन थालेको उनको भनाइ छ। ‘मासिक पाँचदेखि सात क्विन्टलसम्म छुर्पी उत्पादन गर्दैछु’, उनले भने। अन्नपुर्ण पाेष्ट