भारतमा खानी बन्द : काँकडभिट्टा नाकाबाट कोइला, क्लिंकर र इन्धन आयात घट्यो

भारतमा खानी बन्द : काँकडभिट्टा नाकाबाट कोइला, क्लिंकर र इन्धन आयात घट्यो

काँकडभिट्टा, २७ चैत ।  भारतको मेघालय र असामबाट नेपालमा आयात हुँदै आएको पत्थर कोइला, क्लिंकर र इन्धन आयात घटेको छ। राजस्व असुलीमा सबैभन्दा बढी योगदान पु¥याउँदै आएका ती वस्तुको आयात ह्वातै घट्दा राजस्व संकलनमा गिरावट आएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिए।

पत्थर कोइला, क्लिंकर र इन्धनले राजस्व असुलीमा ६० प्रतिशतभन्दा बढी योगदान दिँदै आएका थिए। यसमा कोइलाले मात्रै १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए । भारतीय उच्च अदालतले खानी उत्खनन बन्द गर्न निर्देशन दिएपछि कोइला आयात ह्वात्तै घटेको प्रमुख अर्यालको भनाइ छ।

मार्च २८ मा अदालतले खानी उत्खनन बन्द गर्न निर्देशन दिएको थियो। ‘यो नाकाबाट सबैभन्दा बढी कोइला आयात हुन्थ्यो। त्यसपछि क्लिंकर र इन्धन हो। मार्च २८ यता सबैभन्दा बढी आयात घटेका नै पत्थर कोइला र क्लिंकर नै हो’, प्रमुख अर्यालले भने। नेपालमा ठूलो परिमाणमा पत्थर कोइला र क्लिंकर भारतको मेघालय र असामबाट आउने र केही परिमाणमा मात्र तेस्रो देशबाट कोइला आयात हुँदै आएको छ।

तेस्रो देशबाट आउने कोइला भने नरोकिएको प्रमुख अर्याल बताउँछन्। ‘तेस्रो देशको आयात नगन्य हुन्छ, मेघालय र असामबाट आउने रोकिएपछि राजस्व असुलीमा लक्ष्य पूरा हुने सम्भावना पनि कम छ’, उनले अन्नपूर्णसँग भने।

पत्थर कोइला, क्लिंकर र इन्धनको आयात सहज हुँदा गत आर्थिक वर्षमा ९ अर्ब २० करोडको लक्ष्य सहजै पूरा भएको थियो । चालु आर्थिक वर्षमा लक्ष्य वृद्धि गरी १२ अर्ब ८२ करोड पु‍¥याइएको थियो । फागुनसम्मको कुल लक्ष्य ८ अर्ब ८ करोड ४ लाख छ । असुली चाहिँ ७ अर्ब १३ करोड २२ लाख मात्रै भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

गत आर्थिक वर्षमा ९४ करोड ३१ लाख ६३ हजार मूल्यको कोइला, १ अर्ब ५ करोड ४८ लाखको क्लिंकर र १ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालु आव फागुनसम्ममा ६२ करोड ७१ लाखको कोइला, ५६ करोड २४ लाखको क्लिंकर र १ अर्ब ७४ करोडको पेट्रोलियम आयात भएको छ । गत वर्षको तुलनामा कोइला ३३ दशमलव ५ प्रतिशत, क्लिंकर ४६ दशमलव ९ प्रतिशत र पेट्रोलियम १ दशमलव ७१ प्रतिशत कम भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ।

भारतको मेघालय र असामका पत्थर कोइला र क्लिंकर खानीमा पुरिएर केही महिनाअघि मजदुरको ज्यान गएको र अधिकांश खानी रित्तिने अवस्थामा पुगेकाले रोक्नुपर्ने मागसहित भारतीय उच्च अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दाका आधारमा मार्च २८ देखि सो स्थानमा पत्थर कोइला र क्लिंकर उत्खननमा रोक लगाइएको हो।

पत्थर कोइला र क्लिंकर उत्खनन रोकिए पनि पहिले निकालिएको सामग्री सानो परिमाणमा विराटनगर र मेची भन्सारबाट आइरहेको र यो क्रमशः घट्दै जाने भन्सार अधिकृत बताउँछन्। भारतीय उच्च अदालतले खानी उत्खनन बन्द गर्न आदेश दिएसँगै आयात घटेको पत्थर कोइला र क्लिंकरले राजस्व संकलनमा मात्र नभइ नेपालको विकास निर्माणका कामसमेत प्रभावित हुन सक्ने भन्सार प्रमुख अर्यालको भनाइ छ।  अन्नपुर्ण पाेष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्