विराटनगर रेल ल्याउने तयारी:भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर मालवाहक विद्युतीय कार्गो रेल आउदै

विराटनगर रेल ल्याउने तयारी:भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर मालवाहक विद्युतीय कार्गो रेल आउदै

नवराज कट्टेल

विराटनगर, चैत २७ गते । भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयारी थालिएको हो ।
यसअघि चैत ६ गते कोलकातादेखि भारतको बथनाहा रेल स्टेसनसम्म नेपाली पैठारीकर्ताको सामान बोकेको रेलबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो टे«किङ सिस्टमको सफल परीक्षण भएको थियो । त्यो परीक्षणसँगै भारतीय भन्सार विभागले सोमबार मात्रै बथनाहा रेल स्टेसनबाट जोगबनीस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म ईसीटीएस कार्गो ल्याउनका लागि स्वीकृति प्रदान गरेको छ ।

भारतीय रेल स्टेसन बथनाहामा कन्टेनर अनलोड गर्नुपर्ने झन्झट हटाउन नेपालतर्फको विराटनगर १८ स्थित बुधनगरमा रहेको नेपाल कस्टर्म यार्डसम्म सोझै कार्गो ल्याउन सकिने सम्भाव्यताबारे कोलकातास्थित नेपाली महावाणिज्यदूतसहितको टोलिले मङ्गलबार निरीक्षण गरेको छ । बुधनगरको आईसीपीदेखि भारतको बथनाहा रेल स्टेसन ७.६ किलोमिटर दूरीमा पर्दछ ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालसहित कन्टेनर कर्पोरेसन अफ इन्डिया (कनकोर) का प्रमुख महाप्रबन्धक एस रहमानले आईसीपी र बथनाहा–बुधनगरसम्मको रेल–वे र नेपाल कस्टर्म यार्डको निरीक्षण गर्नुभएको हो । कन्टेनर बोकेको रेललाई बुधनगरस्थित भन्सार यार्डसम्म ल्याउन देखिएका नीतिगत समस्याको यकिन गर्ने उद्देश्यले निरीक्षण गरिएको महावाणिज्यदूत अर्यालले बताउनुभयो ।

तेस्रो मुलुकबाट आयात गरिने वस्तुमा बेहोर्नुपर्दै आएको झन्झट हटाउँदै व्यापार सहजीकरण गर्ने उद्देश्यले कोलकातादेखि नेपालको भन्सारसम्म सोझै विद्युतीय कार्गो ल्याउन लागिएको महावाणिज्यदूत अर्यालले जानकारी दिनुभयो । उहाँले सडकमार्ग र रेलमार्ग हुँदै आएको सामान बथनाहादेखि विराटनगर भन्सारसम्म ल्याउन देखिएको झन्झट तत्काल हल गर्नसके व्यापारमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि बथनाहा–बुधनगरसम्मको रेलमार्ग र बुधनगरस्थित आईसीपीको काम तत्काल सम्पन्न गर्नुपर्ने हुन्छ । बुधनगरसम्मको रेल–वे लिक परीक्षण भइसकेको छ । कनकोरका प्रमुख महाप्रबन्धक एस. रहमानले नेपालको भन्सार विभागले अनुमति दिए बुधनगर भन्सार यार्डसम्म विद्युतीय कार्गोमार्फत सामान ल्याउन तयार रहेको बताउनुभयो ।

गत चैत ६ गते कोलकाता–बथनाहाका लागि विद्युतीय कार्गो परीक्षण गर्नु अगाडि वीरगञ्ज भन्सारसम्म फागुन ४ गते ईसीटीएस सुरु भएको थियो । वीरगञ्जमा अहिले त्यसको सफलतासँगै विराटनगरको आईसीपीसम्म ल्याउने तयारीमा रहेको बताइन्छ ।
तत्काल विद्युतीय कार्गो ल्याउन आईसीपीसँगै भन्सारको कामसमेत त्यहीँबाट हुनुपर्ने चुनौती छ । त्यससँगै बुधनगरस्थित रेल स्टेसनको भन्सार यार्डसम्म आउने रेललाई फर्काउने लिक आवश्यक पर्दछ । आईसीपी र रेल स्टेसनका लागि आवश्यक प्राविधिक तयारीको अवस्थामा महावाणिज्यदूत र कनकोरका महाप्रबन्धकले नीतिगत निर्णय गर्ने तहमा छलफल गर्नुहुनेछ ।

यसरी सामान लिएर आउने कन्टेनरको जिम्मा भने भन्सार कार्यालयले लिनुपर्ने हुन्छ । भन्सार कार्यालयले बधुनगर भन्सार यार्डबाट सामान बुझ्ने जिम्मा लिए कनकोरले तयार रहेको महाप्रबन्धक रहमान बताउनुहुन्छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले तेस्रो मुलुकबाट आउने कन्टेनर बुधनगर ल्याउँन आईसीपीको हस्तान्तरण र त्यहाँबाट काम सुचारु हुनुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ तर, रेलमार्ग हुँदै सामान आउन सक्ने अवस्था आए भन्सार कार्यालयले त्यहीँ बुझ्नसक्ने उहाँको भनाइ छ ।

विद्युतीय कार्गोको एक कन्टेनरमा २२ टन मालवस्तु पैठारी हुन्छ । कोलकातादेखि विराटनगरसम्म ट्रेलरमा कन्टेनर ल्याउँदा प्रतिटन तीन हजार दुई सय भारतीय रुपियाँ ढुवानी खर्च पर्दछ । एक कन्टेनर सामान विराटनगरसम्म आउँदा ७० हजार रुपियाँभन्दा बढी ढुवानी खर्च लाग्दै आएको थियो तर कार्गो रेलमा त्यही सामान ल्याउँदा ६७ हजार रुपियाँ पर्दछ ।
ट्रेलरमा कन्टेनर राखेर ल्याउँदा कोलकाता बन्दरगाहामा प्रतिकन्टेनर टर्मिनल ह्यान्डलिङ शुल्क १८ हजार, क्लियरिङ शुल्क चार हजार, कन्टेनर लिफ्टिङ र अनलोड शुल्क दुई हजारसहित रिटर्निङ शुल्क सात हजार रुपियाँ थप्नुपर्ने बाध्यता रहँदै आएको मोरङ व्यापार सङ्घका उपाध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्