आर्थिक तथा वित्तीय रिपोर्ट भन्छ “नेपालमा विदेशिने घटे तर रेमिटेन्स भने बढ्यो”

आर्थिक तथा वित्तीय रिपोर्ट भन्छ “नेपालमा विदेशिने घटे तर रेमिटेन्स भने बढ्यो”

काठमाडौँ, वैशाख ४ गते ।

रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटे पनि नेपालले प्राप्त गर्ने रेमिटेन्समा भने उल्लेख्य वृद्धि भएको छ । । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालले पाँच खर्ब ८२ अर्ब रुपियाँ रेमिटेन्सबापत प्राप्त गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ महिनाको अवधिमा भने ३८.३ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । नेपालीको प्रमुख श्रम बजारमध्येको मलेसियाका लागि लामो समयदेखि भिसा प्रक्रिया रोकिँदा त्यहाँ जाने नेपालीको सङ्ख्या बढ्न सकेको थिएन । यद्यपि पुनः श्रम स्वीकृतिका आधारमा विदेशिनेको सङ्ख्या भने ४.६ प्रतिशतले बढेको उल्लेख छ ।

मूल्यवृद्धि नियन्त्रणमै
राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म मूल्यवृद्धि दर ४.२ प्रतिशत छ । यस्तो दर अघिल्लो वर्षको आठ महिनामा छ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर निकै कम अर्थात २.२ प्रतिशत मात्र छ । यसको तुलनामा गैरखाद्य तथा सेवा क्षेत्रमा मूल्यवृद्धि औसतभन्दा बढेको छ । फागुनसम्म यस्तो दर ५.८ प्रतिशत पुगेको छ । क्षेत्रगत हिसाबमा हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौँ उपत्यकामा ४.६ प्रतिशत र तराईमा सबैभन्दा कम ३.६ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

व्यापार घाटा झन् फराकिलो
आठ महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा झन् फराकिलो बन्दै गएको छ । तथ्याङ्क अनुसार यस्तो घाटा २४.५ प्रतिशतले बढेर आठ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । यसबीचमा नेपालबाट कुल वस्तु निर्यात १४.६ प्रतिशतले बढेर ६१ अर्ब २२ करोड पुगेको छ । आयात २३.८ प्रतिशतले बढेर नौ खर्ब ४९ अर्ब रुपियाँ पुगेको छ । पेट्रोलियम पदार्थसहित तयारी पोसाक, बिलेट, विद्युतीय सामग्री सबैभन्दा धेरै आयात भएका वस्तुमा परेका छन् । पोलिस्टार यार्न, जस्तापाता, जुटका सामान धेरै निर्यात भएका वस्तुमा परेको राष्ट्र बैङ्कले जनाएको छ ।

शोधनान्तर विस्तार
मुलुकले प्राप्त गर्नेभन्दा बाहिरिने रकम अर्थात् शोधनान्तर अवस्था पछिल्लो समय थप विस्तार भएको छ । अघिल्लो आवको फागुनसम्म २४ अर्ब ७३ करोड रुपियाँ शोधनान्तर घाटा रहेकोमा समीक्षा अवधिमा ५८ अर्ब ९९ करोड रुपियाँ पुगेको छ । चालु खाता घाटा पनि अत्यधिक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्