नेपाली युवा वैज्ञानिकको महिनौँको प्रयासपछि अन्तरिक्षमा पुग्दै नेपाली स्याटेलाइट

नेपाली युवा वैज्ञानिकको महिनौँको प्रयासपछि अन्तरिक्षमा पुग्दै नेपाली स्याटेलाइट

विश्वास रेग्मी

काठमाडौँ, वैशाख ४ गते । नेपाली युवा वैज्ञानिकको महिनौँको प्रयासपछि बिहीबार बिहान त्यसले एउटा नतिजा पाउने भएको छ । अनि त्यो नतिजाले कोर्नेछ नेपालको एउटा फरक इतिहास र बनाउनेछ नयाँ पहिचान पनि । अर्थात् नेपालको राष्ट्रिय झन्डा अङ्कित सानो आकारको स्याटेलाइट पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण हुनेछ । नेपाली समय अनुसार बिहीबार बिहान करिब २ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट उक्त स्याटेलाइट प्रक्षेपण हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले जनाएको छ । अन्तरिक्षमा प्रक्षेपण गर्न लागिएको उक्त स्याटेलाइटको नास्टले सहजीकरण गरिरहेको छ ।

करिब डेढ किलोग्राम तौलको उक्त स्याटेलाइट रकेटमार्फत चार सय किलोमिटर दूरीमा रहेको ‘इन्टरनेसनल स्पेसमा पु¥याइने नास्टको प्रविधि विभाग प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । त्यहाँ करिब एक महिनाको परीक्षणपछि उपयुक्त ठहरिएमा पृथ्वीको कक्षमा उक्त स्याटेलाइट घुम्ने उहाँले बताउनुभयो । नेपाली स्याटेलाइट १ नाम दिइएको उक्त स्याटेलाइटसँगै श्रीलङ्का र जापानका पनि सोही आकारका स्याटेलाइट अन्तरिक्षमा पुग्नेछन् । सामान्यता रकेटले एक सेकेन्डमा आठ किलोमिटर दूरी पार गर्छ । सोहीअनुसार प्रक्षेपण गरेको करिब ५० मिनेटमा ती स्याटेलाइट इन्टरनेसनल स्पेसमा अवतरण हुनेछन् ।satelaight nepal
आफ्नै स्याटेलाइट नहुने मुलुकका लागि जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा सुरु गरेको ‘बर्ड्स’ परियोजनाअन्तर्गत नेपालले यो स्याटेलाइट निर्माण गरेको हो । जापानको सोही इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटेलाइट तयार गरेका हुन् । बर्ड्स परियोजनाअन्तर्गतको उक्त कार्यक्रमको संयोजन नेपालमा नास्टले गर्दै आएको छ । यो परियोजना विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
अन्तरिक्षमा पठाइने उक्त स्याटेलाइटको प्रयोगबाट सहरी विकास योजना, जलवायु परिवर्तनसम्बन्धी अध्ययन र ‘रिमोट सेन्सिङ’ मार्फत जोखिम न्यूनीकरणका लागि अध्ययन गर्न प्रयोग हुनसक्ने ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बर्ड्स परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने अन्य स्याटेलाइटको सुविधासमेत नेपालले लिन सक्नेछ । नेपालको उक्त स्याटेलाइट अमेरिकाको संयुक्त राज्य अमेरिकाको भर्जिनियाबाट पठाउने कार्यक्रम छ । जापानमा निर्माण गरिएको उक्त स्याटेलाइट सीधै अमेरिका पठाइने उहाँले जानकारी दिनुभयो ।

उक्त स्याटेलाइटले उपलब्ध गराउने सूचना प्राप्त गर्न नास्टले आफ्नो परिसरमा ‘ग्राउन्ड स्टेसन’ निर्माणको प्रक्रियासमेत अघि बढाइसकेको छ । सोही ग्राउन्ड स्टेसनबाट सूचना लिन सकिने उहाँले बताउनुभयो ।
नेपाललाई अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनले सन् १९८४ मा अन्तरिक्षमा स्याटेलाइट राख्नका लागि छुट्टै ‘स्लट’ पनि उपलब्ध गराएको छ । त्यसमाथिको सम्पूर्ण अधिकार नेपालको रहनेछ । सरकारले पछिल्लो पटक उक्त स्लटमा स्याटेलाइट राख्ने प्रक्रिया पनि अघि बढाइसकेको छ । करिब एक महिनाअघि मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको फ्रान्स भ्रमणको क्रममा स्याटेलाइट राख्ने सन्दर्भमा नेपाल र फ्रान्सबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । उक्त समझदारी अनुसार तीन महिनाभित्रमा स्याटेलाइटका आधारभूत प्रक्रियाको टुङ्गो लगाउने र बढीमा तीस महिनाभित्र स्याटेलाइट राख्ने तयारी छ । नेपालले अन्तरिक्षमा राख्ने उक्त स्याटेलाइटमार्फत खासगरी सञ्चार तथा प्रसारणका लागि आवश्यक ब्यान्डविथ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्