गरिखानेको कथा : वडाध्यक्षको यस्तो कृषि उद्यम !

<span class='c1'>गरिखानेको कथा : वडाध्यक्षको</span> <span class='c2'>यस्तो कृषि उद्यम !</span>

हेटौँडा, वैशाख ४ गते ।

प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर(टनेल)हरु देखापर्छ । घरभित्र छन् लौका, काँक्रो, गोलभेडा र तितेकरेलाका रहरलाग्दा बोटहरु । सफा टनेलभित्रका सप्रिएका बिरुवाहरु र लटरम्म फलेका फलहरुले हरेकलाई लोभ्याउँछ । त्यहाँ खनजोत र गोडमेल गरिरहेका व्यक्ति देखेपछि लाग्छ कृषि जति सम्मानित अरु पेशा नै छैन, किसान जति सम्मानित अरु जात नै छैन ।

ती टनेलहरु मकवानपुरगढी गाउँपालिका वडा नं ६ का वडाध्यक्षका हुन् । अनि खनजोत र गोडमेल गर्ने व्यक्ति हुन् वडाध्यक्ष टीकाप्रसाद दाहाल । कृषि दाहालको पुरानो पेशा हो । उहाँका अनुसार चुनाव लडिरहँदा उहाँको खोरमा तीन हजार कुखुरा थिए । ती कुखुराको स्याहारसुसार गरेर मात्रै चुनाव प्रचारप्रसारमा घरदैलो गर्न जानुपरेकाले सबैतिर पुग्न समेत समस्या बेहोरेको स्मरण गर्नुहुन्छ वडाध्यक्ष दाहाल । “झण्डै चिप्लिया थिएँ, बल्ल बल्ल जितें,” उहाँले ठट्टा गर्नुभयो ।

पुख्र्यौली थलो काभ्रेको नाला बनेपा भए पनि पिताकै पालामा मकवानपुर आमभञ्ज्याङ्गको बागदली बसाइँ सर्नुभएका दाहाल समाजसेवी हुँदै राजनीतिमा प्रवेश गर्नुभएको हो । समाजसेवा वा राजनीति आफू जता जता भए पनि आफ्नो मूल पेशा कृषिलाई भने उहाँले कहिल्यै छोड्नु भएन । दुई छोरा र एक छोरी तथा श्रीमती अम्बिकाको साथ पाउनुभएका दाहालले अहिले तीन हजार वटा कुखुरा पनि पाल्नुभएको छ । ”सत्र कठ्ठामा टनेल र अर्गानिक तरकारीखेती छ, अन्य खेती पनि छ, भ्याइनभ्याई हुन्छ,” दाहालले भन्नुभयो । कुखुरा, टनेल, मौसमअनुसारका अन्य खेती, अनि राजनीति कसरी भ्याउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो – “व्यवस्थापन नै ठूलो कुरा हो । भित्रैदेखि रुचि भए सकिने रहेछ । म बिहान ४ बजे उठ्छु । कुखुराको दाना पानी गर्छु । टनेल छिरेर तरकारीको स्याहारसुसार गर्छु । दश बजेसम्म कुखुरा, तरकारी सबैको काम सकेर वडा कार्यालय पुग्छु ।” उहाँका अन्य काम वा भेटघाट दिउँसो कार्यालयमै वा अन्य सङ्घ संस्थामा हुन्छ । यो सबै काममा श्रीमती र छोराछोरीले पनि सघाउँछन् । कहिलेकाहीँ श्रमिकहरुलाई पनि उहाँ काममा लगाउनुहुन्छ । उहाँको समय व्यवस्थापनको तरीका यस्तो छ ।
उहाँले भन्नुभयो – “मेरो आप्mनो जग्गा थोरै छ । भाडामा १७ कठ्ठा जग्गा लिएको छु । दश कठ्ठामा टनेल छ । टनेलमा लौका, गोलभेडा, काँक्रो र तितेकरेला छन् । बन्दा तथा अन्य तरकारी खुल्ला जग्गामा पनि छ । तीन हजार ब्रोइलर कुखुरा छन् ।”

आठ लाख रुपैयाँ सरकारी अनुदान र आफ्नो १० लाख रुपैयाँको लगानीबाट शुरु गरेको टनेल खेतीबाट अहिले दाहालले दैनिक १५ देखि १८ हजार रुपैयाँसम्मको तरकारी बेच्नुहुन्छ । अहिले दैनिक लौका २०० केजी तथा टमाटर २५० केजी बिक्री भइरहेको छ भने काँक्रो र करेलाको भर्खर उत्पादन शुरु हुँदैछ । काँक्रो र करेलाको बिक्री शुरु भएपछि भने दैनिक ४० हजार रुपैयाँको तरकारी व्यापार हुने उहाँ बताउनुहुन्छ । कुखुरा र टनेल बाहिरको खेतीबाट हुने अतिरिक्त आम्दानी बाहेक टनेल खेतीबाट न्यूनतम मुनाफा मासिक १ लाख रुपैयाँ पु¥याउने उहाँको लक्ष्य छ ।

कुखुरापालनमा थप १० लाख रुपैयाँको लगानी छ । टनेल बाहिरको तरकारी, कुखुरा तथा टनेल गरेर कुल ३० लाख रुपैयाँको लगानी रहेको व्यवसायले आम्दानी सँगै स्वास्थ्यलाई तन्दुरुस्त बनाउनसमेत सहयोग गरेको दाहालको ठम्याइ छ । उहाँ भन्नुहुन्छ – “म बिहानदेखि सक्रिय हुन्छु । कसरत पनि हुन्छ । नकारात्मक कुराहरु र तर्कनाहरु मनमा आउनै पाउँदैन । त्यसैले पनि म स्वस्थ छु । फरक यत्ति हो । जीवन दुःखले चलेको छ । दुःख गर्छु, कमाउँछु । खर्च चलेको छ । नत्र कसरी राजनीति गर्नु ? राजनीति स्वयंसेवी पेशा न प¥यो !”

अध्यक्ष दाहालकी श्रमती अम्बिका पनि टनेल खेतीबाट सन्तुष्ट हुनुहुन्छ । तीस वर्ष अगाडिदेखि नै आफूहरुले तरकारी खेती गर्दै आइरहेको भए पनि टनेलमा रोग कम लाग्ने, पानी, हावाहुरी र सामान्य असिनाबाट समेत जोगाउन सकिने र तापक्रम व्यवस्थापन गर्न सहज हुने उहाँको अनुभव छ । गोडमेल गर्न, मलखाद हाल्न, चिस्यान बनाइराख्न, उत्पादनलाई टिप्न पनि धेरै सजिलो हुने उहाँ बताउनुहुन्छ । यस बाहेक बीउबिजन, मललगायतको आकलन गर्न पनि सजिलो हुन्छ ।

टनेलमै सल्लाह तथा परामर्श दिन पुग्नुभएका कृषि प्रविधिज्ञ तथा अर्गानिक खेतीका लागि सामग्रीहरु उपलब्ध गराउने संस्थाका प्रतिनिधि पुरुषोतम विष्ट भने सबै प्रकारका तरकारीखेती टनेलमा सम्भव नहुने बताउनुहुन्छ । उहाँका अनुसार बिरुवालाई चिसो वा तातोबाट जोगाउन तथा रोगहरुबाट बचाउन टनेल खेती उपयुक्त भए पनि करेला, घिरौंला जस्ता केही जातलाई भने परागसेचनका लागि कठ्यौरी, मौरी वा भमराको आवश्यकता पर्छ । त्यो टनेलमा सम्भव छैन । दाहाललाई करेलाको टनेलको बार हटाउन उहाँले सुझाउनुभयो ।

वडाध्यक्ष दाहालको पौरखमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई पनि खुशी हुनुहुन्छ । “सुन फल्ने गाउँ छाडेर केही हजारका लागि आफ्नो मातृभूमि छोडेर बसाइँ सर्नेहरुलाई समेत कसैको गुलामी नगरी परिवार सँगै बसेर गाउँमै पैसा र आत्मसन्तुष्टि कमाउनु भएका वडा नं ६ का अध्यक्ष टीका दाहालजीले समाजलाई गतिलो पाठ पढाउनुभएको छ, हामी उहाँको उद्यमसँग अति खुशी छौं,” हुमागाई भन्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्