घुस लिएको अभियोगमा मुद्दा चलाइएका राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा

घुस लिएको अभियोगमा मुद्दा चलाइएका राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा

नारायण काफ्ले , काठमाडौँ, जेठ २ गते । घुस लिएको अभियोगमा मुद्दा चलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको छ ।

मुद्दाको म्याद बुझे पनि लामो समयसम्म थुनछेकमा उपस्थित नहुनभएका पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको थियो । पाठकको बुधबार नै बयान र थुनछेक बहस भएको थियो ।
संवैधानिक निकायका कुनै पनि बहालवाला पदाधिकारीमाथि भ्रष्टाचार अभियोगमा चलाइएको यो पहिलो मुद्दा हो । थुनछेक आदेशले धरौटीमा रिहा भएसँगै पाठकले अब मुद्दा थप प्रक्रिया कारागार बाहिर नै रहेर गर्न सक्नुहुनेछ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग धरौटी माग गरेको थियो ।

माग बमोजिम ७८ लाख रुपियाँ धरौटीलाई बैङ्क ग्यारेन्टी राखेर उहाँ रिहा हुनुभएको हो । नेपाल बङ्गलादेश बैङ्कको जमानतमा उहाँलाई अदालतले रिहा गरेको हो । पाठकलाई घुस दिएको अभियोगमा न्यौपानेलाई विपक्षी बनाइएको हो । पाठकले इजलासमा उपस्थित हुन पाउँ भन्ने निवेदन बुधबार नै दर्ता गर्नुभएको थियो ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले पाठक बिगो बमोजिम धरौटीमा रिहा हुनुभएको बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘उहाँ आजै अदालतमा उपस्थित हुनुभएको थियो । इजलासले तोकेको धरौटी बैङ्क ग्यारेन्टीमा उहाँ रिहा हुनुभएको हो ।’

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको उजुरी मिलाइदिने भन्दै पाठकले कलेज सञ्चालकसँग ७८ लाख घुस लिएको भिडियो बाहिरिएको थियो । भिडियो बाहिरिएपछि पाठकले फागुन ३ गते आयुक्तबाट राजीनामा दिनुभएको थियो । राजीनामासँगै अख्तियारले पाठकमाथि अनुसन्धान सुरु गरेको थियो । अख्तियारले चैत १२ गते उहाँविरुद्ध मुद्दा दायर गरेको थियो ।

सोभन्दा अघि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले प्रचलित कानुनको अधिनमा नै रहेर पाठकमाथि छानविन गर्न सकिने राय दिएको थियो । कतिपयले संवैधानिक निकायको पदाधिकारीमाथि छानविन हुन नसक्ने तर्क पेस गरेका थिए । तर, महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान गर्न सक्ने राय दिएपछि अख्तियारले थप प्रक्रिया अघि बढाएको थियो ।
मुद्दामा पाठकसँगै विपक्षी बनाइएका नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने अझै फरार नै हुनुहुन्छ । कलेजको आन्तरिक विवाद अख्तियारमा उजुरी परेपछि विवाद मिलाउने भन्दै न्यौपानेले पाठकलाई घुस दिएको अभियोग अख्तियारको छ । मिडियामा सार्वजनिक भएका भिडियोहरूमा भने पाठकले उक्त रकम बुझेकोे स्वीकार गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्