धरानमा डेंगुको संक्रमण : १८८ जना डेंगु संक्रमित, मन्त्रीको टोली प्रभाबित क्षेत्रमा, समितिको निर्देशन

धरानमा डेंगुको संक्रमण : १८८ जना डेंगु संक्रमित, मन्त्रीको टोली प्रभाबित क्षेत्रमा, समितिको निर्देशन

सुमन सुस्केरा
धरान, २४ जेठ ।
शुक्रवार बिहान करिब ८ बजे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रदेशका सभामुख प्रदिप कुमार भण्डारी एक्कासी धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा पुगे ।

केही पत्रकार र केही कर्मचारी सहित पुगेको टोलीमा धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारी र ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डी न्यौपाने सहितको टोली पनि सँगै नै थियो ।

त्यहाँ पुगेका मन्त्री र सभामुखले अस्पताल भर्ना हुन आएका डेंगु प्रभाबितको बारेमा जानकारी लिन थालेपछि धरानमा देखिएको डेंगु प्रकोपको बारेमा डाक्टर तथा त्यस बारेमा अध्ययन गर्दै आएका विज्ञहरुले जानकारी दिन थाले ।
परिदृश्य १
वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा सभामुख, मन्त्री, प्रहरी र मेयर सहितको टोलीले आन्तरिक छलफल ग¥यो । त्यहाँ पवेश गरेका पत्रकारहरुलाई हलमा गएर बस्न भनियो पत्रकारहरु बाहिरिएको करिब १० मिनेट छलफल भयो ।

छलफलको क्रममा धरानमा निक्कै ठुलो समस्या रहेको उठेको थियो । उपचारको लागि बिरामीलाई बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नै ठाउँको अभाव रहेको बिषयमा समेत छलफल भएको बताईएको छ ।
परिदृश्य २ ।
बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पदाधिकारी बैठक कक्षमा खचाखच भरिएको थियो । त्यो बेलासम्म उपकुलपतिको कार्यकक्षको बैठक पनि सकिएको थियो । मन्त्री सहित सभामुख, मेयर, उपकुलपति र प्रहरी अधिकृत सहितको टोली हल भित्र प्रबेश गरिसकेको थियो । धरानमा बिगत केही दिन देखि देखिएको डेंगुको बारेमा ताजा अबस्था जानकारी लिनका लागि सबैजना उत्सुक थिए । प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले प्रतिष्ठानले एउटा र्यापिड रेस्पोन्स टिम नै बनाएर काम थालेको जानकारी दिए । गत बैशाख २९ गते एकजना बिरामी उपचारको लागि अस्पताल भर्ना भएकोमा शुक्रवारसम्ममा दैनिक ३० जनाका दरले उपचार गराउन आउनेहरुमा डेंगुको संक्रमण देखिएको अस्पतालका डाक्टर विकास साहले जानकारी दिए ।
उनका अनुसार, यसरी पछिल्लो ३ दिनमा बिरामीको संख्याको घट्नुको ठाउँमा बढेको देखिएको छ, बिगत ३ दिनदेखि एकै दरमा बिरामीहरु उपचारका लागि अस्पतालमा आएका छन् । गत जेठ २० गते ३८ जनाअस्पताल आएकोमा शुक्रबारसम्ममा १ सय ८८ जनामा डेंगु संक्रमित अस्पताल भर्ना भएका छन् ।
सामाजिक विकास समितिका टोलीले गरेको आकस्मिक निरिक्षणको क्रममा डेंगुको संक्रमण भएकालाई इमरजेन्सीमा नराख्न निर्देशन दिएपछि बिहिवारदेखि नै अस्पतालले बिरामीलाई ट्रपिकल वार्डमा सारिएको साहले जानकारी दिए । उपचार गर्न आएकाहरु मध्ये धेरैलाई उपचार गराउँदै घर फर्काईएको छ भने एकजनालाई आईसीयुको लागि अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।
धेरै बिरामी, ओपिडी र ईमर्जेन्सीमा परिक्षणको लागि आउने गरेका छन् । वार्निङ साईन भएका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने गरिएको छ । आएका बिरामीहरु मध्ये धेरै सामान्य उपचार पछि एकहप्ता भित्रै घर फर्किने गरेको डा रोशन क्षेत्रीले जानकारी दिए ।
बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले तत्काल समुदायलाई परिचालन गरेर सचेतना जगाउनुको बिकल्प नहुने बताए । डेंगुका चार किसिमका भाईरसको संक्रमणको रुपमा देखिने चिकित्सक बताउँछन् । निर्देशक साहले डेन वान, डेन टु, डेन थ्री र डेन फोर भाईरसहरु देखिने जानकारी दिए । पहिलो चरणमा डेन वानबाट संक्रमित बिरामीलाई दोश्रो चरणमा डेन टु भाईरसको डेंगु लागेमा त्यो भयानक हुने निर्देशक साहले बताए । अस्पतालले अबस्था गम्भीर हुँदै जानथालेपछि सामाजिक विकास मन्त्रालयसँग २ वटा भेन्टिलेटर तत्काल उपलब्ध गराउन माग गरेको छ ।
परिदृश्य ३, धरानको समस्या पानी
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले पानीको अभावका कारण पानी जम्मा गर्ने प्रबृतीका कारण धरानमा डेंगु समस्याको रुपमा देखिएको बताए । पानी राखेपनि सुरक्षित रुपमा लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर नराखिएको र त्यही पानीमा लामखुट्टेलाई फुल पार्न र बच्चा जन्माउन सजिलो हुने गरेको जानकारी दिए । ‘सबैको घरमा पानी जम्मा गरेर राखेका कारण सबैको घरमा लामखुट्टे जन्मीएको छ, निर्देशक डोटेलले भने, हरेक घरमा पसेर छत देखि भुईसम्मका पानी भएका ठाउँमा सफा गरेर लामखुट्टे र लार्भा नष्ट गर्नु पर्ने देखिन्छ ।’
उनका अनुसार, हरेकका घरका पानीमा लार्भा भेटिएको कारण अहिले समस्या थप जटिल बनेको छ ।
धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारीले धरानमा मात्र एक बर्षमा २ पटक डेंगु महामारीको रुपमा देखिएको जानकारी दिईन् । पानी नपर्ने सिजनमा यसरी डेंगुको संक्रमण देखिएको छ, नपर्दाको बेलामा कस्तो अबस्था आउने हो, चिन्ता लागेको छ, मेयर भण्डारीले भनिन् ।
सबै क्षेत्रमा अनुगमन गर्दा निक्कै नै समस्या परेको जानकारी दिईन । बर्षा लग्दा अन्यत्र फैलिने हो भने यसको अबस्था भयाबह हुनसक्ने बताईन् । गत कात्तिकमा देखा परेको डेंगुको संक्रमण फेरी बैशाखमा देखिनुको कारण औल्याउँदै चिकित्सकलाई यस्तो अबस्थाको अनुसन्धान गर्न आग्रह गरिन् । मेयर भण्डारीले तत्काल औषधी छर्ने काम शुरु भएको र त्यसको लागि उपमहानगरले सबै जमाएर राखेका पानी हटाउने तथा पानीको ब्यवस्थापन उपमहानगरले गर्ने बताईन् । तत्काल कसरी बढी क्षती हुन नदिने भन्नेमा न उपमहानगरपालिका लागि परेको जानकारी दिईन् ।
सोही क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिले तत्काल समस्या समाधान गर्नका लागि ब्यापक जनचेतना जगाउनु पर्ने, गाउँ गाउँमा शिविर संचालन गरेर स्वास्थ्य परिक्षणको काम थाल्नु पर्ने बताए । सामाजिक विकास मन्त्रालयले अबस्थाको बारेमा जानकारी लिनका लागि स्वास्थय निर्देशक भोगेन्द्र डोटेल सहितको टोली परिचालन गरिएको जानकारी दिए । मन्त्री घिमिरेले भेन्टीलेटरको अभाव भएको अबस्पताललाई दुई सेट भेन्टीलेटर तत्काल मन्त्रालयले उपलब्ध गराउन निर्देशक डोडेललाई निर्देशन दिए ।
परिदृश्य ४, अस्पतालको शैयामा बिरामी
धरानमा एकै बर्ष दुई पटक डेंगुको संक्रमण देखिएपछि सबैलाई चासो भएको छ । छलफल सकेका मन्त्री, सभामुख,मेयर, उपकुलपति सहितको पत्रकारको टोली बिरामीको अबस्थाको बारेमा जानकारी लिन जाँदा बिरामीहरु उपचारमा थिए । केही उपचार गराएर फर्किएका थिए भने कोही भर्खरै भर्ना भएका थिए । अस्पताल भर्ना भएर उपचार गराईरहेकी धरान १५ चेम्जोङटोलकी सिमा राई पनि डेंगुका कारण अस्पताल भर्ना भएकी थिईन् । उनमा पनि डेंगुको संक्रमण देखिएको चिकित्सकले बताएको जानकारी दिईन् । उनको घरमा पनि ठुला ड्रम ग्यालेन तथा भाँडाहरुमा थापिएको पानी खुल्लै राख्ने गरिएको थियो । पानी आउने÷नआउने थाहै नहुँदा पानी थापेर राख्नु आफ्नो बाध्यता भएको उनले सुनाईन् । ३ दिनसम्म पनि पानी नआउने हुँदा हरेक ३ दिनमा पानी थालेर राख्ने गरेको उनको भनाई छ ।
परिदृश्य ५, गाउँमा त्रास
अस्पतालमा बिरामी उपचारको लागि जाने क्रम रोकिएको छैन । बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम बढेपछि गाउँमा सचेतना जगाउने काम शुरु त भएको छ तर त्रास कायम छ । कतिबेला लामखुट्टेले टोक्ने हो र अस्पताल भर्ना भईने हो भन्ने समस्या उस्तै नै छ। गाउँमा पुगेका जो कोहीलाई पनि उनीहरु मेरो घरमा पानी जमेको ठाउँमा डेंगु छ की छैन हेरिदिनु पर्यो भनी हाल्छन् । धरान १५ खोरियाबस्ती की बिमला राईका श्रीमान्लाई डेंगुले एक हप्ता अस्पताल बसायो । अस्पतालले डिस्चार्ज दिएपछि घर त आए तर फेरी संक्रमण भयो भने के होला भन्ने त्रासमा छन् । बिमलाले त्यहाँ पुगेको मन्त्री सहितको टोलीलाई लुन हजुर मेरो घरमा लामखुट्टेको लार्भा छ की छैन हेरिदिनु पर्यो भन्दै बोलाईन् । तर प्राबिधिक टोली आउने बताएपछि त्यहाँबाट उनी प्राबिधिकलाई खोज्न थालिन् । आएर प्राबिधिकले पानीमा लार्भा भएको बताएपनि उनी फेरी झस्किईन् ।
यस्तै समस्या अहिले धरान उपमहानगरपालिका वडा नम्बर ८ र १५ मा देखिएको छ । पानीमा लामखुट्टेका लार्भाबाट फैलिएको डेंगुको कारण गाउँमा संक्रमण फैलिँदै गएको छ । यसलाई रोकथाम गर्नको लागि धरान उपमहानगरपालिका सहित प्रदेश सरकार र संघीय सरकारको पनि चासो गएको भएपनि एक महिना बित्न लाग्दा समेत अनुसन्धानमा मात्र सिमित भएको छ । यसको लागि तत्काल सचेतनाका कार्यक्रम र पानीलाई ब्यवस्थित गर्ने काम अझै शुरु भएको छैन ।
सामाजिक समितिको निर्देशन
प्रदेश सभाको सामाजिक विकास समितिले डेंगु प्रभावित स्थलको अनुगमन गरेको छ । अनुगमन पछि सामाजिक विकास मन्त्रालयलाई तत्काल त्यसको नियन्त्रणमा लाग्न निर्देशन दिएको छ । डेंगु नियन्त्रणमा ल्याउन भईरहेको प्रयासहरुमा आबस्यक साधन र श्रोत उपलब्ध गराउन भनेको छ । सबै अस्पतालमा उपचार गराई रहेका बिरामीहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च निःशुल्क गर्न आबस्यक ब्यवस्था मिलाउन समेत समितिल निर्देशन दिएको समितिकी सभापति सरिता थापाले बताईन् । डेंगुको प्रकोप हाल धरान उपमहानगरपालिकाका अलावा रामधुनी, ईटहरी र सुन्दर हरैँचाका समेत केही बिरामीहरु देखा परेकाले अन्य क्षेत्रमा पनि फैलनसक्ने संभावना देखिएकाले सबै संयन्त्रकालागि आबस्यक ब्यवस्था मिलाउन भनिएको जानकारी सभापति थापाले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्