विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू। यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जिवाणुले गर्दा लाग्दछ ।
यो भाइरसको ४ वटा सेरोटाइप्स (DEN-1,2,3,4) जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन् । विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएको छ ।
एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्त ठाउहरुमा यो लामखुट्टेले अण्डा पार्दछ ।
यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र साझपख मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन ।
नेपालमा डेंगु
नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारिक रुपमा सन् २००६ को नोभेम्वरमा नेपालमा डेंगु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। नेपालमा भारतबाट डेंगु प्रवेश गरेको बताइन्छ।
सुरुमा नेपालगन्जमा यो रोग भेटिएको थियो। त्यसपछि विस्तारै तराईका अन्य जिल्लाका सहरी क्षेत्र हँुदै राजधानी काठमाडौंमा समेत देखिन थालेको हो।
लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ। ज्वरोका साथै निम्न लक्षणहरू प्नि देखापर्छन्।
– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसपेसी दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्नसक्छ ।
बच्ने उपाय
– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानि जम्न नदिने।
– पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने।
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
– फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ।
– घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।
– घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ।
यसको परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु जस्तै MacELISA,HAI,IgG ELISA आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ ।यस रोगका लक्षणहरु देखिनासाथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निशुल्क गरिन्छ ।