विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार

सीता शर्मा

काठमाडौँ, असार १० गते । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले करार अवधि नसकिँदै दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षाघातबाट हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कतार, साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरियालगायत देशका अस्पतालमा वर्षौंदेखि रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न देशमा कोमामा उपचारत बिरामीलाई स्वदेश ल्याउने तारतम्य मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलमा श्रम मन्त्रालयका संयोजकसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालयसम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट एक÷एक प्रतिनिधि सदस्यका रूपमा रहने र वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचारत गम्भीर प्रकृतिका बिरामीको सङ्कलित तथ्याङ्क छानबिन गरेर नेपाल ल्याउने प्रक्रिया तथा मापदण्डका साथै नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र एवं अनुमानित खर्च विवरण सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्नेछ ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारका क्रममा विदेशमा गम्भीर रोग वा चोटपटकका कारण वर्षौंदेखि कोमामा उपचाररत नेपाली नागरिकलाई स्वदेशमा ल्याउने निर्णय कार्यान्वयनमा आएमा ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने प्रतिक्रिया दिनुभयो । निर्णय हुनु ठूलो कुरा होइन, कार्यान्वयन कसरी गरिन्छ भन्नेमा यसको प्रभावकारिता भर पर्छ, उहाँले थप्नुभयो ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार विभिन्न देशका अस्पतालमा २८ बिरामीको कोमामा राखेर उपचार भइरहेको छ ।
जसमध्ये दुई महिला र २६ पुरुष छन् । कतारमा सबैभन्दा धेरै १५ नेपाली श्रमिकको कोमामा राखेर उपचार भइरहेको छ भने साउदी अरबमा एक महिलासहित सात नेपाली श्रमिकको कोमामा उपचार गरिएको छ । यस्तै कुवेतमा एक महिलासहित चार, संयुक्त अरब इमिरेट्स (यूएई) र दक्षिण कोरियामा एक÷एक श्रमिक कोमामा उपचारत रहेको बोर्ड सचिवालयले जनाएको छ ।

बिरामीका आफन्तको आग्रहमा विभिन्न कारणले गम्भीर बिरामी भएर विदेशी अस्पतालको कोमामा रहेका ती बिरामीलाई स्वदेश ल्याएपछि निश्चित समयसम्म सरकारकै खर्चमा नेपालकै अस्पतालमा उपचार गराउने योजना छ । बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अहिलेसम्म सरकारले यस्ता बिरामीको जिम्मा लिन तत्परता नदिए पनि वर्तमान सरकारले चासो दिएर त्यस्ता बिरामीलाई स्वदेशकै अस्पतालमा उपचारको व्यवस्था मिलाउने गरी तयारी गरेको जानकारी दिनुभयो ।

यस्तै बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा स्वदेश फर्किएको अवस्थामा बिरामी भई उपचारका क्रममा मृत्यु भएका ११४ जना श्रमिकका परिवार नजिकका हकदारलाई पनि नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सुर्विताले आर्थिक सहायता पाउने
चार वर्षअघि साउदीमा भएको दुर्घटनामा छोरो गुमाएकी बाग्लुङकी सुर्विता भण्डारीले बोर्डबाट आर्थिक सहायता रकम पाउनुहुने भएको छ । बोर्ड बैठकले उहाँलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो । २०७२ असारमा साउदीमा भएको ट्याक्सी दुर्घटनामा सुर्विताका छोरा तेजेन्द्र भण्डारी र अरू चार नेपालीको ज्यान गएको थियो । तेजेन्द्रले चलाएको ट्याक्सी दुर्घटनामा मोरङका सुवास तामाङ पनि पर्नुभएको थियो । साउदीको जेद्दामा रहेको किङ अजिजअब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुन्डाई कम्पनीमा काम गर्ने चार नेपालीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले चालक तेजेन्द्रकोे भने उपचार भइरहेको खबर दियो । साउदीमा उपचार गराइरहेका घाइतेको अनुहारको पट्टी तीन महिनापछि खोलियो तर पट्टीभित्रको अनुहार तेजेन्द्रको नभएर बाकसमा शव ल्याएर काजकिरिया गरिसकेका सुवासको थियो । यसअघि सुवासको मृत्यु भयो भनेर तेजेन्द्रको शव सुवासका परिवारलाई पठाइसकिएको थियो । बोर्ड बैठकले क्षतिपूर्ति रकम कति दिने भन्नेबारे पुनः छलफल गरेर टुङ्गो लगाउने निर्णय गरेको छ ।

त्यसैगरी बोर्ड बैठकले सुवास तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । साथै, सुवासको परिवारले नियमानुसार प्राप्त गरेको आर्थिक सहायतालाई स्वास्थ्य उपचार खर्चमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

तेजेन्द्रकी आमा सुर्विताले आर्थिक सहायताका लागि २०७५ चैत २० गते वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुभयो । निवेदन दिएको साढे दुई महिनापछि बोर्ड बैठकले पीडित दुवै परिवारलाई न्याय हुने गरी निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कानुनमा यससम्बन्धी घटनाका बारेमा स्पष्ट व्यवस्था नभएकाले बोर्ड बैठकबाट विशेष निर्णय गर्दै दुवै परिवारलाई क्षतिपूर्ति प्रदान गर्र्नेे जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्