कञ्चनपुर, १० साउन ।कञ्चनपुरको भीमदत्त-२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ। यसबीचमा सात अनुसन्धान टोली गठन, ८० हजनाको डीएनए परीक्षण, पाँच सयभन्दा बढीजनासँग सोधपुछ र १० हजारभन्दा बढी कल डिटेल अध्ययन भए पनि दोषी पत्ता लागेको छैन।
कारण १– प्रयोशालाकै कमजोरी : निर्मलाको शरीरबाट संकलित डीएनए नमुना नेपाल प्रहरीको केन्द्रिीय विधिविज्ञान प्रयोगशालामा ल्याएर परीक्षण गरेको थियो। बलात्कारजस्तो अपराधमा पीडितको गोप्य अंगमा कपासजस्तो वस्तुबाट संकलित नमुनालाई मुख्य आधार बनाइन्छ। त्यसमा पीडितको होइन, पीडकको डीएनए छ कि छैन भन्ने पहिले एकिन गरिन्छ। निर्मलाको शवबाट संकलित भनिएको नमुनामा उनको आफ्नै डीएनएको ठूलो अर्थ छैन।
पुरुषको डीएनए भेटियो कि भेटिएन भन्ने महत्वपूर्ण हो। संकलित नमुना प्राप्त गरेपछि प्रहरीको प्रयोगशालाले पुरुषको डीएनए भेट्टाएको थियो। निर्मलालाई भएको अपराधमा पुरुषको डीएनए भेट्टिनुको अर्थ थियो, उनलाई कुनै पुरुषले बलात्कार गरेका थिए। तर कुन पुरुषले भन्ने प्रश्न नै जटिल हो।
नेपालमा यस्तो अपराधमा संदिग्ध पुरुषको डीएनए परीक्षण गर्ने र अपराधी पत्ता लगाउने दुई प्रविधि छन्। पहिलो हो– अटोजोमल एसटीआर र यो प्रविधिअन्तर्गत पीडितको शरीरबाट संकलित नमुनाबाट पीडकको डीएनए अलग गरिन्छ। पीडकको डीएनएलाई २३ जोडी क्रामोजोममा छुट्याइन्छ। एउटा क्रोमोजोमबाट पीडक महिला वा पुरुष को हो छुट्टिन्छ। बाँकी २२ जोडी क्रोमोजोम सम्बन्धित व्यक्तिको क्रोमोजोमसँग शतप्रतिशत मिल्नुपर्छ। किनकि एक व्यक्तिको क्रोमोजोम अर्काे व्यक्तिसँग मिल्दैन। त्यसैले यो विश्वसनीय प्रविधि मानिन्छ।
तर प्रहरीले निर्मलाको शवबाट प्राप्त पुरुषको डीएनए परीक्षण यो प्रविधिबाट गर्न सकेन। राष्ट्रिय मानव अधिकार आयोगले अटोजोमल प्रविधिबाट डीएनए परीक्षण नगरकोले कमजोरी भएको उल्लेख गरेको छ। यो खबर आजको नयाँ पत्रिकामा मोहन विष्ट र नवराज मैनाली लेखेका छन्।