बाहुनको छोराले हलो जोतेको त्यो दिन : बिहेवारीमा रोक, भातपानी चलाइएन

बाहुनको छोराले हलो जोतेको त्यो दिन : बिहेवारीमा रोक, भातपानी चलाइएन

लमजुङ, १२ साउन ।  राणाकालीन त्यो समय । ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता । तर त्यही राणाकालीन समयमा नेपालकै इतिहासमा ब्राह्मणहरुले हलो जोतेको इतिहास बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस–६) अर्चल्यानीको बाटेगराले ।

जानकारहरु अनुसार वि.सं. २००६ साल साउन ११ गते नेपालकै इतिहासमा पण्डित तोयानाथ अधिकारीले आफू नेतृत्वमा बाटेगरामा एक हल गोरु नारी हलो जोती हलोक्रान्तिको सुरुवात गर्नुभएको थियो ।

तोयानाथको यो क्रान्तिमा सँगै होमिएका थिए, हरिभक्त पौडेल मुखिया, शेषकान्त अधिकारी ‘लेफ्टिनेन्ट’ र वसन्त अधिकारी । हलो जोत्ने २७ जना ब्राह्मणको नेतृत्व भने पण्डित तोयानाथ अधिकारीले नै गर्नुभएको थियो ।

‘खिसीटिउरी’ गर्नेको जमात 

हलो जोतेकै निहुँमा २००६ सालमा तत्कालीन प्रहरीले उनीहरुलाई पक्रेर पोखरा लगेको जानकारहरु बताउँछन् ।

उनीहरु भन्छन्, ‘हलो जातेको निहुँमा उनीहरुलाई प्रहरीले पक्रेर लग्यो । हिरासतमा राख्यो । तर पण्डित तोयानाथले केही खान मान्नुभएन । जसका कारण प्रहरी उनीहरुलाई छाड्न बाध्य भयो ।’  ब्राह्मणहरुले हलो जोतेको भनि त्यो बेलामा ‘खिसीटिउरी’ गर्नेहरुको जमात थुप्रै रहेको पाको पुस्ता बताउँछ ।

हलो जोतेको कारण उक्ति नै बनाइएको स्मरण गर्छन्, उनीहरु । गाउँमा उक्ति नै बनाइएको थियो, ‘पण्डित तोयानाथ, हरिभक्त मुखिया, शेषकान्त लेफ्टिनेन्ट, वसन्त तिघ्रे, हलो जोती बिग्रे ।’

पण्डित तोयानाथका भान्जा सुन्दरबजार नगरपालिका–३, छहरेपानी (साविक चन्द्रेश्वर–६) का भानुभक्त न्यौपानेका अनुसार पण्डित तोयानाथले जम्मा ४ सियो हलो जोत्नुभएको थियो । पहिलो सियो कृषि क्रान्ति, दोश्रो सियो शिक्षा, तेश्रो सियो राजनीति र चौथो सियो समानताका लागि ।

जानकारहरुका अनुसार पण्डित तोयानाथ अधिकारी पिता पण्डित खगेश्वर अधिकारी माता कालिका देवीका पाँच सन्तानमध्ये दोश्रो एवम पुत्रमध्ये जेठा उहाँ १९६५ साल असारमा शुक्ल पूर्णिमाका दिन दुराडाँडाका अर्चल्यानीमा जन्मनुभएको हो । उहाँले प्रारम्भिक शिक्षादीक्षा पितावाटै लिनुभएको हो ।

हलो जोत्दा : बिहेवारीमा रोक, भातपानी चलाइएन

ब्राह्मणहरुले हलो जोतेको भनी त्यो समयमा बिहेवारीमा रोक लगाइएको थियो ।  भातपानी नचलाइएको र घर गएकी चेली माइती फिर्ता पठाइएको स्मरण गर्छ, पाको पुस्ता ।

‘छोरीलाई तोयानाथले तनहुँ ठूलढुंगामा साउनो टपरी गाउँकै आइते सार्कीसँग पठाए,’ भानुभक्तले स्मरण गर्नुभयो, ‘त्यो जातीय विभेदका विरुद्ध थियो । तर त्यो छोरीको घरमा थाहा पाएपछि छोरीलाई माइती फिर्ता पठाइयो ।’

दुराडाँडाका पण्डित शिवराज भट्टका अनुसार प्रजातन्त्रको उदय हुनुभन्दा अगाडि पण्डित तोयानाथले हलो जोत्नुभयो ।‘ब्राह्मणले पनि हलो जोत्न हुन्छ’ भन्ने चेतना उहाँले समाजमा छर्नुभयो । ‘सबै  समान हुन्’ भन्ने कुराको जागरण फैलाउन मद्धत गर्नुभयो । उहाँको योगदानलाई कसैले भूल्न नहुनेमा उहाँको जोड छ ।

‘हलो जोतेर तोयानाथले सबैलाई फुकुवा त गर्नुभयो,’ भट्टले भन्नुभयो, ‘तर जग्गा बाँझा छन् । मान्छे सबै शहरतर्फ लोभिए । गाउँघर रित्तिदैँ छन् । जग्गा जमिनहरु बाँझै भएका छन् ।’

ऐतिहासिक हलोक्रान्ति स्थल बाटेगरा नजिकै अहिले फलामे ट्रस बनाइएको हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले बताउनुभयो ।उहाँका अनुसार बाटेगरासहित प्रतिष्ठानको नाममा २ रोपनी २ आना २ पैसा २ दाम क्षेत्रफल जमिन रहेको छ ।

बाटेगरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सम्वन्धित निकायको   साथ–सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

‘बाटेगरा सिरु फुलेर गएको छ, यो त ऐतिहासिक ठाउँ हो, नयाँ पुस्तालाई यो देखाउनु आवश्यक छ’, सचिव पौडेलले भन्नुभयो, ‘हलोक्रान्ति स्थलमा पण्डित तोयानाथले अन्य ब्राह्मणको साथमा हलो जोत्दै गरेको शालिक निर्माण गरी तारबार गरी यसलाई ऐतिहासिक पर्यटकीय स्थल बनाउन सके यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।’

आवश्यक सहयोग गर्न तयार : तोयानाथ पुत्र शशिकान्त

सामाजिक परिवर्तनमा बुवा तोयानाथ अधिकारीले खेल्नुभएको भूमिका, उहाँको योगदानलाई पहिलो, दोश्रो हुँदै तेश्रो पुस्ताले पनि चासो दिएको तोयानाथका कान्छा छोरा शशिकान्त अधिकारी बताउनुहुन्छ ।

‘बुवाले सामाकि परिवर्तनमा खेल्नुभएको भूमिकालाई वर्तमान पुस्ता समेत स्मरण गर्न तयार छ । उहाँको योगदानलाई स्मरण गर्दा गर्वको महसुस हुन्छ,’ उहाँले भन्नुभयो । हलोक्रान्ति स्थलको संरक्षण, उपयोग र व्यवस्थापनमा स्थानीयले पनि चासो दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

‘ऐतिहासिक हलोक्रान्ति स्थलको स्थलको संरक्षण प्रवर्द्धनका लागि आफ्नो तर्फबाट लागेकै छु,’ उहाँले भन्नुभयो, ‘योजना बनाएर आएको खण्डमा आफ्नो तर्फबाट गर्नसक्ने थप साथ सहयोग गर्न पनि तत्पर छु ।’

राष्ट्रिय विभूति घोषणाको माग  

सचिव पौडेलका अनुसार २०६४ सालमा स्थापना भएको हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान सम्बन्धित सबैको साथ सहयोगमा हलोक्रान्ति स्थलको संरक्षण/सम्वर्द्धनमा लागि परेको छ ।

हलोक्रान्तिका अगुवा तोयानाथलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने प्रतिष्ठानसहित स्थानीयहरुको जोडदार माग छ । हलोक्रान्ति दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाईनु आवश्यक रहेको पनि उनीहरुको कथन छ ।

सचिव पौडेलका अनुसार हलोक्रान्तिका अभियन्ताहरु सबै स्वर्गे भैसके । तर उनीहरुको योगदान भने स्मरणीय छ । अझै अनुकरणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्