प्रदेश नम्बर १ मा ७१.६५ प्रतिशत रोपाइँ सम्पन्न , देशभर ८० प्रतिशत रोपाइँ

प्रदेश नम्बर १ मा ७१.६५ प्रतिशत रोपाइँ सम्पन्न , देशभर ८० प्रतिशत रोपाइँ

सुरेशकुमार यादव

काठमाडौँ साउन १६ गते । नदी नालाबाट बाढीको बहाव कम र डुबान रोकिएपछि किसानले धान रोपाइँलाई तीव्रता दिएका छन । अहिले झन्डै गत वर्षको हाराहारीमा रोपाइँ सम्पन्न भइसकेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले दिएको जानकारी अनुसार साउन १२ गतेसम्ममा ८०.१८ प्रतिशत रोपाइँ भइसकेको छ ।

जब कि साउन ६ गतेसम्म ६३.७९ प्रतिशत रोपाइँ मात्र भएको थियो । पाँच दिनमा १६.३९ प्रतिशत रोपाइँमा वृद्धि भएको छ । गत वर्ष साउन १४ गतेसम्म ८६.२९ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये साउन १२ गतेसम्म १० लाख ९९ हजार ८६३ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । दुई लाख ७१ हजार ८४३ हेक्टरमा मात्र रोपाइँ गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । सुरुमा मनसुन ढिला भएका कारण रोपाइँमा ढिलाइ भएको थियो । पछि अत्यधिक पानी परेको कारण रोपाइँ प्रभावित भएको थियो । अहिले बाढीको चाप कम हुन थालेपछि किसानले धान रोपाइँलाई तीव्रता दिएकाले रोपाइँको अवस्था यहाँसम्म आइपुगेको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताउनुभयो ।

कतिपय ठाउँमा धानको ब्याडमा क्षति पुगेको कारणले धान रोपाइँ प्रभावित भएको हो । तै पनि रोपाइँ धमाधम भइरहेको उहाँले बताउनुभयो । प्रदेश १ मा ७१.६५ प्रतिशत, प्रदेश २ मा ७४.५० प्रतिशत, प्रदेश ३ मा ७८.८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, प्रदेश ५ मा ८४.६० प्रतिशत, कर्णाली प्रदेशमा ९२.४० प्रतिशत, सुदुरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । प्रदेश १ मा दुई लाख ५७ हजार ९०१ हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये एक लाख ९७ हजार ६९३ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेश २ मा सबैभन्दा बढी रोपाइँ ताप्लेजुङ र सोलुखुम्बुमा ८० प्रतिशत भएको छ । सबभन्दा कम धनकुटामा ४५ प्रतिशत रोपाइँ भएको छ ।
सबैभन्दा धेरै बाढी प्रभावित बनेको प्रदेश २ मा तीन लाख ६५ हजार ६१५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये दुईलाख ७२ हजार ३८५ हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा बढी पर्सामा ८५, सप्तरी, बारा, ८० र सबैभन्दा कम रौतहटमा ६० प्रतिशत रोपाइँ मात्र भएको छ । रौतहट सबैभन्दा बाढी प्रभावित जिल्ला हो ।

प्रदेश ३ मा एक लाख १५ हजार २९५ हेक्टरमा खेती हुन्छ । त्यसमध्ये ९० हजार ८८३ मा मात्र रोपाइँ भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा रोपाइँ सम्पन्न भएको छ । जब कि गत वर्ष यतिबेला उपत्यका यी तीन जिल्लामा ९० प्रतिशत रोपाइँ मात्र भएको थियो । चितवनमा ८२ र सबैभन्दा कम रोपाइँ रामेछापमा ६४ प्रतिशत मात्र रोपाइँ भएको छ । गण्डकी प्रदेशमा २१ हजार चार हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये १८ हजार ४८४ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ । सो प्रदेशको मनाङ, मुस्ताङमा धान खेती नै हुँदैन । पर्वत, बागलुङ जिल्लामा सबभन्दा बढी ९० प्रतिशत रोपाइँ सकिएको छ भने सबभन्दा कम गोरखा, म्याग्दी, र लमजुङमा ७८ प्रतिशत रोपाइँ भएको छ ।
प्रदेश ५ मा दुई लाख ८८ हजार आठ हेक्टरमा धान खेती हुन्छ, त्यसमध्ये साउन १२ गतेसम्म दुईलाख २४ हजार ८०६ हेक्टरमा रोपाइँ भइसकेको छ । सो प्रदेशको रोल्पा, रुकुम, प्युठानमा रोपाइँ सम्पन्न भएको छ भने नवलपरासीमा ९९ रोपाइँ भएको छ । कपिलवस्तुमा सबभन्दा कम ६५ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार ३८५ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये साउन १२ गतेसम्म ३५ हजार ४६६ हेक्टरमा धान रोपाइँ भइसकेको छ ।

कर्णालीको जुम्ला, कालीकोट, डोल्पा र हुम्लामा रोपाइँ सम्पन्न भइसकेको छ भने दैलेख, रुकुम पश्चिम, जाजरकोट, सल्यानमा ९८ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये एक लाख ५५ हजार ३३ हेक्टरमा धान रोपाइँ भइसकेको छ । सो प्रदेशमा सबभन्दा बढी रोपाइँ कन्चनपुरमा ९७ प्रतिशत भएको छ भने सबभन्दा कम बाजुरा, डडेल्धुरा, डोटी, बैतडी, आछाममा ९० प्रतिशत रोपाइँ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्