मोबाइलको लत : ‘गेमिङ डिसअर्डर’ को खतरा

मोबाइलको लत : ‘गेमिङ डिसअर्डर’ को खतरा

यलु जोशी

काठमाडौँ, साउन २० गते ।

के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ ।

मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारीको भनाइ छ ।
उहाँले भन्नुभयो, “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन् । ” यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उहाँले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिनुभयो ।
बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन्– मोबाइल खेलाउने । अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने । अधिकांश अभिभावकको साझा समस्या हो यो । ”

बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानका अनुसार बच्चाले नखाएर मात्र शारीरिक विकास नहुने होइन, गेमिङ डिसअर्डरको समस्याले पनि नकारात्मक असर पारेको हुन्छ । गेम खेलेपछि बालबालिकालाई समयमा भोक नलाग्ने, भोक लागे पनि खान मन नगर्ने र आफूले के खाएको थाहासम्म नपाउने अवस्था हुने उहाँको भनाइ छ । “मोबाइलसँगै भोक र निद्रा हराउने भएपछि कसरी शारीरिक विकास हुन्छ ?”, उहाँ प्रश्न गर्नुहुन्छ, “बालबालिकालाई मोबाइलको लत लगाउनेमा अभिभावकको कमजोरी हुन्छ । ”
उहाँका अनुसार छोराछोरी घुक्र्याउँछन्, रिसाउँछन् अनि फकाउनु प¥यो भने मोबाइल खेल्न दिन्छौँ । कुनै काम लगाउनु प¥यो भने पनि त्यो काम ग¥यौ भने मोबाइल खेल्न दिन्छु । खाना खान मन गर्दैनन् भने अहिले खाना खायौ भने मोबाइल खेल्न दिन्छु अथवा मोबाइल हेर्दै खाऊ भन्ने चलन छ ।

डा. अधिकारीले धेरैजसो अभिभावकले छोराछोरी फकाउन मोबाइलकै भर लिने गरेको जानकारी दिनुभयो । “मोबाइलमा हात परेपछि बच्चाहरू गेम खेल्न, भिडियो हेर्न तथा टिकटक बनाउन थाल्छन् । यसरी मोबाइलमा झुम्मिएपछि उनीहरू आफैँलाई भुल्छन्”, उहाँ थप्नुहुन्छ, “एकै ठाउँ घण्टौँ बसेको पनि उनीहरूले पत्तो पाउँदैनन् । ”
भोक लागेको, आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छ ? केही पनि थाहा पाउँदैनन् किनभने उनीहरूको आँखा मोबाइलको स्क्रिनभित्र हुन्छ । मोबाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ भन्दै डा. प्रधानले स्पष्ट पार्नुभयो, “भिडियो जति हे¥यो, उति हेर्न मन लाग्छ । यही कारण मोबाइल मोह पलाउँछ तथा लत लाग्छ । ”

बच्चाहरू हर क्षण मोबाइलकै बारेमा सोच्न थाल्छन् । उनीहरू फुर्सद पाउनासाथ मोबाइलमा झुम्मिन्छन् । उनीहरूको पढाइ, सोचाइ र दिनचर्या नै प्रभावित हुन्छ । सेभ चाइल्ड नेटका प्रमुख अनिल रघुवंशी भन्नुहुन्छ, “कुनै पनि कुराको कुलत राम्रो हुँदैन । मोबाइलको कुलतले पनि बच्चालाई नराम्ररी बिगार्ने गर्छ । ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्