महरालाई नपक्रन दबाब

महरालाई नपक्रन दबाब

काठमाडौं ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल)कै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार महरालाई पक्राउ मात्रै नगरिएको हो। उनलाई अभियुक्तसरहकै व्यवहार प्रहरीले गरिरहेको छ। भन्छन्, ‘घटनास्थलमा भएका वस्तु बरामददेखि लिएर पीडित महिलाको बयानसमेत लिइसकेका छौं।’ महरासँग मात्रै बयान लिन बाँकी रहेको उनी सुनाउँछन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना–प्रविधिमन्त्री गोकुल बाँस्कोटा भने प्रहरीलाई कुनै खालको दबाब नदिएको बताउँछन्। ‘महराविरुद्ध कारबाही चलाउन प्रहरीलाई कसले रोक्यो ? ’, सञ्चारमन्त्री बाँस्कोटा भन्छन्, ‘सरकारबाट कुनै दबाब छैन। प्रहरीको आफ्नै अधिकार छ। नियम, कानुनअनुसार कारबाही गर्न बाटो खुला छ।’

प्रहरीका अनुसार महराविरुद्ध पक्राउ पुर्जीका लागि अदालतको आदेश चाहिन्छ। पक्राउ पुर्जी अभियोगबिना सम्भव छैन। पीडितले प्रहरीमा लिखित जाहेरी दिन सकेकी छैनन्। प्रहरी जाहेरी कुरिरहेको छ। तर, जाहेरी नदिन महरानिकट पूर्वमाओवादीको दबाब रहेको खुलेको छ।

संघीय संसद्की कर्मचारी रोशनी शाहीले तत्कालीन सभामुख महराबाट आफू यौन हिंसामा परेको बताएकी थिइन्। आफू मुछिएपछि महराले छानबिनलाई सघाउन भन्दै पदबाट राजीनामा दिएका थिए। रोशनीका श्रीमान् चित्रजंग शाहीले भने महरालाई नै साथ दिएका छन्। उनकै दबाबमा रोशनीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफू डिप्रेसनको बिरामी भएकाले बोलेका कुरा आवेगमा मात्रै आएको जानकारी गराएको स्रोत बताउँछ।

महराले आफूनिकटस्थसँग सभामुख पदबाट राजीनामा दिए पनि सांसद पद नछाड्ने बताउँदै आएका छन्। उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले महरालाई पक्राउ गरी थुनामा राख्नुपरे सोधेर मात्रै अगाडि बढ्न सुरक्षा निकायलाई भनेका छन्। सरकार प्रमुख र सत्ताधारी दलका अध्यक्षबाटै महराविरुद्ध कानुनी चलाउन प्रस्ट निर्देशन नभएपछि प्रहरी दुविधामा परेको उच्च स्रोत बताउँछ।

पीडितको मौखिक उजुरीका आधारमा प्रहरीले तीनकुनेस्थित डेराबाट घटनास्थलको मुचुल्का उठाएको थियो। महराले लगेको भनिएको रक्सीको बोतल, चश्मा र जुत्ताको तलुवालगायत सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

रोशनीले एक अनलाइनलाई अन्तवार्ता दिँदै गर्दा महराले फोन गरेका थिए। फोनमा महराले ‘हिजो जे भयो त्यो बिर्सिनू। रेस्ट गर्नू’ भन्दै फोन राखेका थिए। प्रहरीको फरेन्सिक विभागमा काम गरेका एक अधिकृत भन्छन्, ‘ पीडित महिलाले आरोप लगाइरहेका बेला महराले आफैं दोषी करार गरिसकेका छन्। यो अवस्थामा फरेन्सिक टेस्ट आवश्यक पर्दैन।’

महरा र ती महिलाबीचको सम्बन्ध २०४६ सालदेखिको हो। यो तथ्य पीडित नै स्वीकार गर्छिन्। श्रीमान्सँग खटपट नहुँदै महरासँग पीडितको सम्बन्ध विस्तारबारे पम्फा भुसाल, ओनसरी घर्तीलगायत पार्टीका नेतृ जानकार थिए। तर, यसरी विस्फोट होला भन्ने महराले पनि नसोचेको देखिन्छ।

गृहसचिव प्रेमकुमार राईका अनुसार महरालाई लगाइएको आरोपबारे गृह मन्त्रालयले छानबिन गरिरहेको छ। ‘हामी छानबिनमै छौं’, उनी भन्छन्, ‘कानुनी प्रक्रिया पूरा गरेर आवश्यक प्रक्रिया थाल्छौं।’ अनपुर्णपोष्टमा खबर छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्