चाडपर्वको छुट्टै रौनक

चाडपर्वको छुट्टै रौनक

निर्मलकुमार आचार्य

नेपालीको महान् चाड बडादशैँको रौनक बेग्लै हुन्छ । आश्विन शुक्ल पक्षको प्रतिपदा तिथिदेखि प्रारम्भ भई पूर्णिमासम्म धूमधामसाथ मनाइने बडादशैँलाई विजयादशमी, दशहरा, नवरात्र÷नवरात्रि पनि भन्दछन् । बडादशैँ सनातन हिन्दु धर्मावलम्बीको एउटा महìवपूर्ण पर्व हो । नेपाल, भारत, भुटानलगायत दक्षिण एसियाली मुलुकमा बडादशैँ भव्यतासाथ मनाइन्छ । मोरिसस, अमेरिका, बेलायतलगायत विभिन्न देशमा समेत यो खुसियालीको पर्व मनाउनेको सङ्ख्या बढ्दो छ । दुनियाँभरिकै हिन्दुजनले मनाउने पर्व बडादशैँ नेपालका सन्दर्भमा थप उल्लेख्य छ । यहाँ यो पर्व धर्मविशेषसित मात्रै सम्बद्ध छैन ।
हिन्दु, बौद्धलगायत विभिन्न धर्मावलम्बीले बडादशैँलाई आत्मीय रूपमा ग्रहण गर्दै आएका छन् । सबैले मान्ने भएकाले पनि यो पर्व राष्ट्रिय पर्वका रूपमा सुपरिचित छ ।
अरूले मनाउने दशैँको तुलनामा नेपालीले मनाउने बडादशैँ केही फरक छ । यस अर्थमा नेपालीको बडादशैँमा आफ्नै परम्परागत मूल्य, मान्यता तथा मर्म अन्तर्भूत रहेको अनुभव गर्न सकिन्छ । बडादशैँको सातौँ दिन गरिने फूलपाती होस् चाहे अष्टमी वा नवमीका दिन सवारीसाधन, कलकारखाना आदिमा गरिने पूजाआजा होस् अथवा ठूलाबडासित शुभाशिर्वाद लिने र सानाप्रति स्नेह बर्साउने रीति होस्, अक्षतासहित रातो टीका या जमरालाई नै लिँदा हुन्छ, यस्ता अनेक पक्षले नेपाल र नेपालीको बडादशैँले पृथक् वैशिष्ट्य समेटेको छ ।
चङ्गा र पिङ यस चाडका रमाइला पक्ष हुन् । मस्त भई चङ्गा उडाउने र चचहुई... गर्दै पिङमा मच्चिने संस्कृति मनमोहक छ । तर अहिले रोटे, जाँतेको त के कुरा, लिङ्गे पिङसमेत लोेपोन्मुख बनेका छन् ।

जयदेवी गोरखाली दर्शन देउ भवानी
हे हृदयजननी, हे घण्डीके त्रिलोककी
जगत्को प्रतिपाल गर माई
हा हा दुर्गे ! प्रचण्डरुपिणी
कालिके प्रतिपाल गर !

माथिका पङ्क्ति ‘मालसिरी’ (मालश्री)को एक अंश हो । नवरात्रिभरि बिहान, बेलुकी गुञ्जिने मालसिरी रागिनी र गीतले वातावरणलाई नै मन्त्रमुग्ध बनाउने गरेको छ । ‘मालसिरी’को परम्परा बाइसे, चौबीसे राज्यकालदेखि चल्दै आएको मानिन्छ ।
बडादशैँ ‘सत्यमेव जयते’को प्रतीक पर्व पनि हो । असत्यमाथि सत्यले विजय गरेको खुसियालीका रूपमा यो चाडको महìव छ । आसुरी÷राक्षसी प्रवृत्तिमाथि दैवीय÷मानवीय भावनाको जित अवश्यम्भावी दर्शाउने बडादशैँ मूलतः सद्भावको चाड हो ।
अन्य कतिपय पर्वझैँ बडादशैँको सम्बन्ध पनि पौराणिक आधारमा रहेको छ । त्रेतायुगमा मर्यादापुरुषोत्तम रामले अन्यायी, अत्याचारी, दुष्ट रावणको वध गरेको हर्षमा बडादशैँ मनाउन थालिएको एकथरी भनाइ छ भने भगवती दुर्गाले आततायी, भ्रष्ट चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तवीज, महिषासुर आदिलाई वध गरी दुनियाँलाई त्राण दिएकीले विजयपर्वका रूपमा बडादशैँ पर्व थालिएको पनि मानिन्छ । नारी शक्तिको महिमागानलाई बडादशैँको ज्यान मान्न सकिन्छ ।
शिवभक्त भए पनि रावण अहङ्कारी थियो । बल र शासनसत्ताको मादमा कसैलाई रत्ति गन्दैनथ्यो । यही घमण्डले उसको अन्त्य गरायो । अन्यथा लङ्केश रावण प्रख्यात पुलस्त्य ऋषिको नाति र विश्रवाको छोरो मात्र थिएन, आफैँमा ठूलो विद्वान् पनि थियो । दश शिर भएकाले रावणको अर्को नाम ‘दशानन’ पनि हो । रावणका दश शिरको प्रतीकात्मक अर्थ रहेको छ । भनिन्छ हामी सबैमा दश शिर अर्थात् दश अवगुण रहेका छन् । तिनबाट बच्न सके मात्र हाम्रो कल्याण हुनेछ । ती शिर हुन्–काम, क्रोध, लोभ, मोह, मद (तुजुक), मत्सर (डाह), अहङ्कार, आलस्य, हिंसा र चोरी ।
बडादशैँमा रामायण सुन्ने, सुनाउने, दुर्गासप्तशती (चण्डी) पाठ गर्ने, देवीका पीठ, मठमन्दिर आदिमा गई पूजाआजा, आराधना गर्ने चलन रहे पनि ठाउँठाउँमा हुने रामलीला र देवीचरित्र प्रदर्शनचाहिँ हराउन थाले । भारतमा समेत रामलीलाको प्रथा घट्दोे छ । तैपनि त्यहाँका सङ्घीय तथा प्रान्तीय राजधानीमा रामलीलाको परम्परा निर्वाह हुँदै आएको छ । दशमीका दिन कुम्भकर्ण, मेघनाद (इन्द्रजित) तथा रावणका ठूलाठूला पुत्ला (भित्रपट्टि पटाका कोचेर) जलाउने गरिन्छ ।
नवरात्रिलाई जप, तप, पूजापाठ, अनुष्ठान, आराधना आदिका लागि महìवपूर्ण बेला मानिन्छ । धर्म, अर्थ, काम तथा मोक्ष यी चार पुरुषार्थमध्ये कुनै पनि कामना लिएर देवदेवीको आराधना गरिँदा यतिखेर छिटो सफलता प्राप्त हुने जनविश्वास छ । प्राचीनकालमा बडादशैँको साइत पारेर युद्धका लागि प्रस्थान गरिन्थ्यो । त्यही प्रथाको स्मृतिसूचक हुनुपर्छ अहिले पनि दशैँघरमा हातहतियारको पूजा गरिन्छ । विवाह आदि माङ्गलिक कार्यका लागि बडादशैँमा साइतै हेर्न नपर्ने चलनसमेत छ ।
बडादशैँलाई धार्मिक÷सांस्कृतिक हिसाबले मात्र होइन, सामाजिक, आर्थिकलगायत विविध दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । सामाजिक तवरमा कृषिप्रधान देशका नागरिकले बाली भिœयाएपछि उल्लासमय पर्वका रूपमा बडादशैँ मनाउनु स्वाभाविक हो । पहिले चैतेदशैँ बढी मनाइन्थ्यो रे । त्यतिखेर प्रायः सुक्खा रहने भएकाले अन्नादिले भरिपूर्ण हुने शारदीय समयलाई अत्युत्तम ठहराइएको हुनसक्छ ।
‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ यो उखानले बडादशैँको आर्थिक तथा सामाजिक पक्षलाई उदाङ्ग बनाएको छ । स–साना केटाकेटीले हातका औँला भाँच्दै “दशैँ आयो, खाउँला–पिउँला, कहाँ पाउँला ?, चोरी ल्याउँला, धत्त पापी म छुट्टै बसुँला !” भाकाबाट यसको आयाम आकलन गर्न सकिन्छ ।
धनी, गरिब जोजस्तो भए पनि वर्षमा एकपल्ट आउने बडादशैँ मन फुकाएरै मनाउने सोचाइ पहिले, अहिले फरक छैन । हुनेखानेका अधिक रवाफ प्रदर्शनले देखासिकीमै भए पनि नचाहिँदो ढर्रा तन्किँदै जानुचाहिँ चिन्ताको विषय बनेको छ । अरूले घोडा
चढ्यो भन्दैमा धुरी नचढ्नु उचित भए पनि एक अर्काको असर हैजा फैलिएझैँ बढ्दो रहेछ । मीठो खाने र राम्रो लगाउने पर्व भएकाले बडादशैँमा शहरबजार भरिभराउ हुन्छन्, चहलपहल निकैै हुन्छ । ठाउँठाउँमा आयोजना गरिने दशैँमेला र सुपथ पसलमा जतासुकै घुइँचो रहने गर्छ । मिसावटखोर, नाफाखोरको चर्तिकला यहीबखत तीव्र हुने भएकाले चनाखो हुनुपर्छ । मेला, उत्सव आदिका नाममा व्यापारी, उद्यमीले साँच्चै छुटसहित सरसामान बेचिरहेका छन् कि भ्रम मात्रै छरेका हुन् ? सम्बन्धित निकाय चुस्त, दुरुस्त हुनसके ठगीको सम्भावना रहँदैन ।
गच्छेअनुसार किनमेल गर्नसके ‘गयो दशैँ ऋण बोकाई’ भन्नुपर्ने छैन । दानदक्षिणामा पनि संयम जरुरी छ । ओढ्नेअनुरूप खुट्टा पसार्नुपर्ने आहान पेटका सवालमा पनि मननीय छ । आफ्नो पाचनक्षमतालाई बेवास्ता गरी हसुरिने चिची–पापाले अस्पताल पु¥याउन सक्छन् । धुत्त भई सवारीसाधन हुइँक्याइँदा कैयन्ले असमयमै मास छर्न जानुपरेको विगतका घटनाप्रति आँखा चिम्लनु बुद्धिमानी होइन । दशँैमा जुवा खेल्नैपर्छ भन्नु पनि जुवाडेको मतानुयायी हुनु मात्र हो । यस्ता केही बेथिति पन्छाउन सकिएमा बडादशैँको रौनक अझै थपिनेछ ।

[email protected]

युवामञ्च असोज २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्