सोलुखुम्बु । जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग्ने भएकाले ताल संरक्षण गर्दै पूर्वसूचना प्रणाली जाडन गर्न माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको माथिल्लो क्षेत्रमा कैयौँ हिमताल रहेका छन्। दिनप्रतिदिन तापक्रम बढेकाले ती हिमतालहरू जुनसुकै बेला फुट्न सक्ने आशंकासमेत व्यक्त हुँदै आएको छ। जसले गर्दा जिल्लाको तल्लो क्षेत्रका सोलुखोला, दूधकोशी, इङ्खु, हुंगालगायतको नदी किनारका हजारौँ स्थानीय त्रासपूर्ण जीवन बिताउँदै आएका छन्।
सगरमाथानजिकै रहेको इम्जा हिमताल फुटने खतरामा रहेको अध्ययन प्रतिवेदन सार्वजानिक भएपछि दूधकोशी नदी किनारका मानिस ढुक्कले बस्न नसकेको बताउँथे। तर, २०७३ को सुरुमा नेपाली सेनाको टोलीले ६ महिना लगाएर उक्त तालको पानी घटाउँने काम गरेपछि उक्त त्रास केही मात्रमा कम भएको स्थानीय बताउँछन्। जोखिम न्यूनीकरणका लागि त्यसबेला सरकारले ३१ करोड रुपैयाँ खर्च गरेको थियो। अन्य कुनै पनि कम्पनीले काम गर्ने हिम्मत नगरेपछि नेपाली सेनाले इम्जाको पानी घटाउँने जिम्मा पाएको थियो। पछिल्लो समय तामक्रम बढ्दै गएकाले हिउँ पग्लने क्रम बढेकाले कुनै पनि हिमतालबाट खतरामुक्त नरहेको विपद् व्यवस्थापन समितिको बैठकले निष्कर्ष निकाल्दै पूर्वसावधानी अपनाउनुपर्ने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष बेदनिधि खनालको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले विभिन्न हिमनदीको संरक्षण गर्दै नदी किनारमा बस्ती भएकाले पूर्वसूचना प्रणाली जडान गर्नु आवश्यक रहेको ठहर गरेको छ। शव बाहन उपलब्ध गराउँन माग विपद् आएपछि राहत तथा उद्धारको कार्यमा जुट्नुभन्दा पहिला क्षति कम गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै विभिन्न २० बुँदे विपद् व्यवस्थापनसम्बन्धी निर्णय गरेको प्रजिअ खनालको भनाइ छ।
उक्त बेठकले जिल्लामा हालसम्म एउटा पनि शव बाहन नहुँदा समस्या भएको भन्दै सहयोगका लागि प्रदेश सरकार सम्बद्ध मन्त्रालयमा सिफारिस गरेको छ। भौगोलिक विकटता रहेको जिल्लामा शव बहान नहुँदा यहाँका स्थानीयले २३ किलोमिटरको दूरीमा ३० हजार रुपैयाँसम्म भाडा दिएर निजी सवारी साधान प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। करिब ६ महिनाअघि मात्रै थुलुङदुधकोशी गाउँपालिका ७ देउसाकी अमृता राईले सल्लेरीमा मृत्यु भएकी आमाको शब लैजान २३ किलोमिटर दूरीमा ३० हजार रुपैयाँ तिरेको सम्झदै शव बाहन आवश्यक रहेको बताइन्।
जिल्लाबासीले यसअघिबाटै शब बाहन, एम्बुलेन्स सेवा सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन्। जिल्लामा करिब पाँचवटा एम्बुलेन्स भए पनि अहिले कुनै पनि सञ्चालन हुनसकेका छैनन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जिल्ला अस्पताल, नेले विकास समाज, काँगेल विकास समाज लगायतको एम्बुलेन्स भए पनि मर्मत तथा अन्य व्यवस्थापनको काम गर्न नसक्दा ती सवारी थन्किएर बसेका छन्। स्थानीय सरकार आएपछि सडक निर्माणले तीब्र गति लिएको भए पनि शव बाहन तथा एम्बुलेन्स सञ्चालनमा कमैको ध्यान गएको बेला विपद् व्यवस्थापन समितिले जिल्ला अस्पतालको नाममा शव बाहनको लागि सिफारि गर्ने निर्णय गरेको हो।