रबिन्द्र बराल
रंगेली । देश संघीयतामा गएसँगै विकासले गति लिएका छन् । साना सडकहरु फारासकला हुन थालेका छन् भने ग्राभेल सडकहरु पनि कालोपत्रे हुन थालेका छन् । त्यही काम गर्ने पालिकाहरु मध्ये एउटा पालिका हो, रंगेली नगरपालिका । यस नगरपालिकाले सडक बिस्तारको नाममा रंगेली बजारका धेरै घरहरु भत्काउने काम शुरु गरेको दुई बर्ष पुग्न लागिसकेको छ । हेक बर्ष सडक बिस्तारको नाममा भत्काउने र बनाउने काम शुरु भएपनि पछिल्लो समय हुलाकी राजमार्ग निर्माणको क्रममा रंगेलीको मुख्य बजार क्षेत्रको सय बर्ष पुराना घरहरु भत्काउन थालिएको हो।
बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा–मोरङ सडक खण्ड अन्तर्गत रंगेलीको पुराना घर भत्काउने अभियान चलेको हो । योजना अन्तरगत बिराटनगर, कटहरी , कर्सिया, रंगेली, आमबाडी हुँदै हुलाकी सडक निर्माणको लागि ठेक्का प्रक्रिया स्वीकृत भएसँगै घर भत्काउन थालिएको हो ।
अहिले रंगेलीको चेका पुलदेखि मधुवनी चोकसम्मका अधिकांश घर भत्काउने काम शुरु भएको छ । हुलाकी सडक क्षेत्रमा रहेका ८७ घरहरु मध्ये ८० घर संरचनाहरु स्थानियवासीले स्वतस्फुर्त रुपमा आफै भत्काउन थालेका हुन ।
रंगेली नगरपालिकाले बिगत ६ महिनादेखि घर टहरा हटाउन निर्देशन गरेको भएपनि नेपाली चाडपर्वलाई मध्यनजर गर्दै मंसिर १ गतेको समय सिमा तोकिएको थियो । अहिले सबै चाडपर्व सकिएपछि स्थानीयले आफ्ना घर भत्काउन थालेका हुन् ।
रंगेली बजार क्षेत्रको करिब ५ किलोमिटर सडक शहरी मापडण्ड बमोजिमको छ । साँगुरो रंगेलीका सडकलाई ६ लेन निर्माण गरिने भएपछि स्थानीय खुसी भएका छन् । कात्तिक २ गते हुलाकी राजमार्ग निर्देशनालयले बोलपत्र आब्हान गरेर ठेक्का लगाएसँगै बिराटनगर रंगेली हुदै गौरीगन्ज हुलाकी खण्ड निर्माण हुने निश्चित भएको छ ।
रंगेली वजारको मुख्य बजासँगै हुलाकी राजमार्ग सडक बिस्तार हुने भए पछि सबैले घर भकाउन थालेको सथनीइ गुरु अधिकारीले बताउनुभयो । २०३४ असार २० गते प्रकाशित राजपत्र अनुसार विराटनगर–रंगेली–झापासम्मको सडकलाई सहायक मार्गमा वर्गीकरण गरि उक्त सडकको केन्द्र विन्दु देखि दायाँ र बायाँ बाट १५ र १५ मिटर सडक सिमा समेत तोकिएको थियोे । बि.सं. १९४५ सालमा मोरङको सदरमुकाम रंगेली कायम भए पछि त्यस बेला रंगेलीमा मोरङकै सदरमुकाम रहेको थियोे ।
बिक्रम सम्वत १९४६ सालमा प्रधानमन्त्री विरशमशेरले सरदार कालिदास कोईरालालाई प्रथम बडाहाकिमको रुपमा रंगेली पठाउँदा रंगेलीको विकासको थालनी भएको बताईन्छ । बिक्रम सम्वत १९७१ सालमा चन्द्रशमशेरले रंगेलीबाट सम्पुर्ण सरकारी कार्यलय बिराटनगर सारेसँगै रंगेलीको रंग समेत उड्दै गएको थियो । तर १०५ बर्ष पछि फेरी रंगेलीको रंग भरिने संकेत देखिएको छ ।