पुर्बमा समस्या ग्रस्त कृषि क्षेत्र, प्रवद्र्धनका लागि सरकार, निजी र सहकारी बिच सहकार्यको खाँचो

पुर्बमा समस्या ग्रस्त कृषि क्षेत्र, प्रवद्र्धनका लागि सरकार, निजी र सहकारी बिच सहकार्यको खाँचो

धनकुटा । कृषि व्यवसाय प्रवर्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रदेश १ को धनकुटामा उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा सहभागीले कृषि ब्यवसाय प्रवद्र्धनका लागि सबै क्षेत्र बिच सहकार्य हुनु पर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहोराले प्रदेश १ को आर्थिक सम्मृद्धिका लागि छरपस्ट कार्यक्रम भन्दा तुलनात्मक लाभका क्षेत्र पहिचान गरि कृषिको व्यवसायीकरण र विशिष्टिकरण गर्नु पर्नेमा जोड दिए ।
उनले पुर्वाधारको विकास गरि गाँउलाई शहरसँग जोड्नु पर्ने, पर्याप्त अध्ययन अनुसन्धान गरि अग्र्यानिक उत्पादन, बजारको खोजी गर्नु पर्ने, कृषि उपजको प्रशोधन, प्याकेजिङ र ब्राण्डीङ मार्फत मूल्य अभिवृद्धि र बजार विस्तार गर्नु पर्ने बताए । उनले शीत भण्डार, वेयरहाउस, मण्डी, अक्सन हाउस तथा निर्यात गृह जस्ता बजार पुर्वाधारहरु निर्माण र सञ्चालनमा सार्वजनिक तथा नीजि क्षेत्रले लगानी सहकार्य गर्नु पर्ने बताए ।
नीतिगत सुधार र अनुकुल व्यवसायिक वातावरण भए लगानीका लागि निजि क्षेत्र सदैव तयार रहेको र कृषि क्षेत्रमा चाँडै नै आत्मनिर्भर हुन सकिने, वैदेशिक व्यपार घाटा कम गर्न सकिने र रोजगारीका व्यापक अवसरहरु भित्रिने उनको तर्क छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १का उपाध्यक्ष लिलम बस्नेतले उच्च मूल्य सम्भावनाका रैथाने बालीको व्यवसायिक प्रवर्धन, कृषि क्षेत्रमा सुलभ वित्तीय पहुँच एवम् सेवाको सुनिश्चतामा जोड दिए ।
निजी क्षेत्रको लगानीमैत्री वातावरणका लागि प्रदेश सभा र सरकार मार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता उनको छ । प्रदेश सभाले भर्खरै सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण सम्बनधी ऐन पास गरेको जानकारी दिँदै सबैको सहकार्य र साझेदारी गर्ने उपयुक्त समय आएको उनको भनाई थियो ।
नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) का टिमलिडर जिबि बञ्जाराले मुनाफामुलक, साना किसानहरुलाई लाभ पुग्ने र सार्वजनिक निजी सहकारी क्षेत्रले सहलगानी गर्ने क्षेत्र पहिल्याई अघि बढ्नु पर्ने बताए ।
सहभागीहरुले अलैचीमा देखिएको रोगका कारण अलैची किसानलाई ठूलो मार परेको, पर्याप्त पहल र प्राथमिकता नदिईएको, बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न आलटाल गरेको गुनासो गरे ।
उनीहरुले निर्यात प्रवद्र्धन गर्न वेयरहाउस र अक्सन सुविधा नभएको, अनुदानको सदुपयोगका लागि पर्याप्त ध्यान नदिएको र किसानका लागि बजार सुनिश्चितता नभएको उनीहरुरको गुनासो छ ।
पुर्वी पहाडी जिल्लाहरुमा अलैची, अदुवा, चिया, ताजा तरकारी, सुन्तला, कागती, मसलाबाली, दूध, बङ्गुरपालन, बाख्रा पालन, माछा, एभोकाडो, कफी, किविफल, जडिबुटी, रुद्राक्ष, रैथाने बाली कृषि पर्यटन लगायतका कृषि बाली र कृषि उद्योगहरुमा लगानी फलदायी हुनेमा सहभगीको जोड थियो ।
कार्यक्रममा पाख्रीबास नगरपालिकाका मेयर, खोटाङ उद्योग बाणिज्य संघका तारानाथ फुयाल, भोजपुरका ध्रुवलाल श्रेष्ठ, अलैची व्यसायी ईन्द्र तामाङ, लाखमान घिसिङ, कृषि उद्यमी सुरेन्द्र पौडेल, युवा उद्यमी सावित्रा घिमिरे लगायतले कृषिमा लगानीका सम्भावना र आवश्यकता बारे आफ्ना सुझावहरु राखेका थिए ।
यसअघि सहज कार्यक्रम र महासंघको पहलमा प्रदेश १मा कृषि क्षेत्रमा लगानीका अवसरहरु विषयमा अर्थशास्त्री सह–प्राध्यापक डा. अर्जुन कुमार बरालले प्रदेशमा कृषिको वर्तमान अवस्था र लगानीका विविध क्षेत्रका बारेमा अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ विराटनगरको आयोजना तथा धनकुटा उद्योग वाणिज्य संघको सह–आयोजनामा भएको कार्यक्रममा स्थानीय पालिकाका प्रमुख, उपप्रमुख तथा भोजपुर, खोटाङ, तेह्रथुम लगायत जिल्लाका उद्योग व्यवसायीको सहभागीता भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए । यसअघि महासंघले इलाम, झापा र उदयपुर जिल्लामा यस्तै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्