जाडोमा हृदयघातको उच्च जोखिम, यसरी बचौ‌ं !

जाडोमा हृदयघातको उच्च जोखिम, यसरी बचौ‌ं !

काठमाडौं । जाडो महिनामा हृदयघात बढी देखिने गरेको मुटु रोग विशेषज्ञ बताउँछन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्ट अन्य समयमा भन्दा जाडो महिनामा छाति दुख्ने समस्या बढी हुने बताउँछन् । जसले गर्दा नसाहरू खुम्चिने र रगतको प्रवाहमा समस्या हुनुका साथै मुटुको मासु मर्ने प्रक्रिया हुनसक्छ । यसैलाई हृदयघात भनिन्छ ।

“कुनै पनि धमनीहरूमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भाग मर्नु नै  हृदयघात हो,” उनले भने, “जाडो महिनामा कतिपय हृदयघात भएका बिरामीले आफूलाई ग्यास्ट्राइटिस भयो भनेर त्यसको औषधी सेवन गरेको देखिन्छ । जसको परिणामा बिरामी अस्पताल आइपुग्दा धेरै ढिलो भइसकेको हुन्छ ।” ग्यास्ट्राइटिसको समस्या भएका मानिसमा हृदयघात भई हाल्दैन तर एकाएक ग्यास्ट्राइटिस बढेमा तुरुन्तै चिकित्सककोमा जानुपर्छ, उनले सुझाए ।

“घरपरिवारको कुनै सदस्यमा हृदयघातको समस्या देखिएको छ भने अन्य सदस्यमा पनि बंशाणुगत रूपमा देखिने खतरा बढी हुन्छ,” उनले भने, “हृदयघात हुने जोखिम धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह तथा कोल्डस्ट्रोल बढी भएका मानिसमा हुने गरेको छ ।”
मुख्य ४५ वर्षभन्दा माथि ६० वर्षभन्दा तलको उमेर समूहका मानिसमा हृदयघातको जोखिम दर बढी  देखिने गरेको उनको भनाइ छ ।

“महिनावारीको समयमा महिलामा हृदयघात हुने दर कम हुन्छ भने महिनावारी रोकिएपछि हृदयघात हुने सम्भावना बढी रहेको देखिन्छ,” उनले भने, “पछिल्लो समय विकसित देशहरूका युवाहरूमा हृदयघात बढी देखिने गरेको छ ।”
मोटोपन कम गर्ने, नियमित व्यायाम गर्ने, मानसिक तनाव हुन नदिने, जीवनशैलीमा सुधार ल्याउने र खानपानमा ध्यान दिन सके हृदयघातको जोखिमबाट बच्न सकिने उनले बताए । यदि अप्ठेरो प्रकारको ग्यास्ट्राइटिस भएमा, त्यसको समस्या बढेमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जान चिकित्सकहरूले सुझाएका छन् ।

लक्षण  

जटिल प्रकारको ग्यास्ट्राइटिस देखिनु ।

छातीको बीच भागमा थिचे जस्तो हुनु, देब्रेतिर भारी हुनु वा केही अड्केजस्तो महसुस हुनु ।

घाटी थिचेको जस्तो हुनु ।

कुम र देव्रे हात दुख्नु ।

च्यापुतिर पनि दुखाई हुनु ।

रोकथाम 

नियमित रक्तचाप जाँच गर्ने ।

नियमित व्यायम गर्ने ।

खानपानमा ध्यान दिने ।

सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।

मद्यपानको सेवन नगर्ने ।

प्रशस्त फलफूल, हरियो सागसब्जी खाने  ।

चिनी, नुन र चिल्लो एकदम कम सेवन गर्ने ।

काल्डस्ट्रोल बढेमा औषधी सेवन गरेर नियन्त्रणमा ल्याउने ।

मधुमेह र रक्तचाप नियन्त्रणमा ल्याउन चिकित्सकको परामर्शमा औषधी सेवन गर्ने ।

एकपटक हृदयघात देखिएपछि पुनः अर्को पटक दोहोरिन नदिन नियमित औषधी सेवन गर्ने ।

चिकित्सकको परामर्शबिना बीचैमा औषधी खान नछोड्ने ।

घाम लागेपछि मात्र मडिङवर्क गर्ने ।

छातिको बीचभागमा थिचे जस्तो हुने, देब्रेतिर भारी हुने वा केही अड्केजस्तो महसुस हुने लगायतका माथिका कुनै पनि समस्या देखिएमा तुरुन्तै मुटु रोग विशेषज्ञलाई देखाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्