विराटनगर बिमानस्थलको बार्षिक उत्सव, ब्यापारीदेखि सरकारसम्मका एउटै कुरा

विराटनगर बिमानस्थलको बार्षिक उत्सव, ब्यापारीदेखि सरकारसम्मका एउटै कुरा

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले विराटनगर विमानस्थलको धावनमार्ग बढाउनु पर्ने बताएका छन् । विमानस्थल स्तरोन्नती गर्ने क्रममा तीन हजार मिटर धावनमार्ग बढाउनु पर्ने मन्त्री कार्कीले बताए । प्रदेश सरकारले मन्त्रीपरिषद्बाट विराटनगर विमानस्थलमको धावनमार्ग तीन हजार मिटरको हुनु पर्ने मागसहितको निर्णय गरेर संघीय सरकारमा पठाइसकेको मन्त्री कार्कीले बताए ।
विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयद्धारा मंगलबार आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले तत्काल स्तरोन्नती गर्दै हवाई यात्रालाई सुरक्षित बनाउन सरकार कटिवद्ध रहेको उल्लेख गरे । कार्कीले स्तरोन्नती गर्दै विमानस्थललाई सुरक्षित बनाउन प्रदेश सरकार जुनसुकै दायित्व निर्वाह गर्दै साझेदारी गर्न तयार रहेको स्पष्ट पारे ।
उनले तत्काल दुई हजार चार सय मिटरको धावन मार्ग बन्ने हो भने पनि जग्गा अधिग्रहण भने तीन हजार मिटरलाई नै लक्षित गरेर गर्नु पर्ने सुझाव दिए । जग्गाको मूल्याँकन बढेर पछि अधिग्रहण गर्दा महँगो पर्ने भएकाले अहिल्यै तीन हजार मिटरको धावनमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउनु पर्नेमा कार्कीले जोड दिए ।
उद्योगी राजेन्द्र राउतले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सके उद्योग व्यवसायमा थप लगानीको वातावरण बन्ने बताए । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले विमानस्थल सुरक्षमा कुनै कमजोरी हुन नदिइएको बताउनुभयो । सेना र सशस्त्र प्रहरीको सहयोगमा विमानस्थलको सुरक्षालाई मजवुत बनाइएको उनको भनाइ छ ।
विमानस्थलका प्रमुख टेकनाथ सिटौलाकाअनुसार एक हजार पाँच सय मिटर धावनमार्ग भएको विराटनगर विमानस्थल एक सय १५ बिघा क्षेत्रफलमा फैलिएको छ । विमानस्थलमा एकै पटक ७२ सिट क्षमता भएका पाँचवटा जहाज राख्न मिल्ने वायुयान एप्रोन र धावनमार्ग रहेको उनको भनाइ छ ।
विमानस्थलमा धावनमार्ग र एप्रोनलाई जोड्ने तीनवटा ट्याक्सी वे, आधुनिक प्रविधिमा आधारित वायुयान पथ प्रदर्शन उपकरण, रात्रि उडान अवतरणका लागि आवश्यक एयरफिल्ड लाइटिङ सिस्टम रहेको सिटौलाले जानकारी दिए ।
नेपाल एयरलाइन्सले एक, वुद्धले सात, यतिले चार, श्रीले तीन र शौर्य एयरका जहाजले दुई गरेर विराटनगर–काठमाडौं दैनिक १७ र काठमाडौं–विराटनगर १७ गरेर ३४ उडान भरिरहेको सिटौलाले बताए । उनकाअनुसार त्यस बाहेक वुद्ध एयरले काठमाडौं– तुम्लिङटार –विराटनगर सेक्टरमा सातको तीन पटक उडान भरिहेको छ ।

उनका अनुसार विराटनगर विमानस्थलबाट सन् २०१९ मा कूल ११ हजार छ सय ३६ वायुयान उडान÷अवतरण भएकोमा छ लाख ५२ हजार चार सय सात जना यात्रुले हवाई यातायात प्रयोग गरेको तथ्याँक छ । एक वर्षको अवधिमा कार्गो मुभमेन्ट कूल ५९ हजार नौ सय ५५ किलोग्राम रहेको छ । सन् २०१८ को तुलनामा वायुयानतर्फ १८ दशमलव ८ प्रतिशत, यात्रुतर्फ २१ दशमलव ३१ प्रतिशत बृद्धि भएको उनले जानकारी दिए । कार्गोतर्फ भने शुन्य दशमलव १६ प्रतिशतले कमी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्