यसवर्षको होली : होलीको हर्षोल्लासमा कोरोनाको त्रास

यसवर्षको होली : होलीको हर्षोल्लासमा कोरोनाको त्रास

सरोज आचार्य÷यलु जोशी

काठमाडौँ, फागुन २६ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो ।
कतै विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका मरेकी र प्रह्लाद जीवितै रहेको पुराणको कथा प्रसङ्ग यो पर्वसँग जोडिएको छ । होलिकाका कारण यो पर्वलाई होली पर्व पनि भनिँदै आएको छ । यही फागुन १९ गते वसन्तपुर दरबार पटाङ्गिनीमा होलीको चीर गाडिएपछि यो पर्व सुरु भएको थियो तर कोरोना भाइरसका कारण सरकारले हुलमा जमघट नहुन भनेपछि सुरु दिनदेखि नै यो पर्व निरश भएको छ ।
पशुपतिनाथलाई सोमबार अमालकोट कचहरी कार्यालयबाट अबिर लगाएर पर्व सुरु गर्ने तयारी भएको छ । यहाँ पनि अनावश्यक जमघट निषेध गरिएको छ । अमालकोटका कर्मचारी अष्टमान सङ्गतका अनुसार पशुपतिनाथमा पर्व मनाउँदा होशियारी अपनाउन भनिएको छ । कतै कृष्ण र गोपिनी कतै भीमसेन र कतै विष्णु र प्रह्लादका कथा प्रसङ्ग जोडेर यो पर्व मनाउने गरिएको छ ।

रङ छ्यापाछ्याप गर्ने पर्व
वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने यो पर्वमा नेपाल भाषाको गीत गुञ्जयमान हुन्छ । होली गीतमा युवकयुवती खुलेर हाँस्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिइन्छ । फागु पूर्णिमामा रङसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो ।

होलीको रौनक कम
राममाया तुलाधर १५ वर्षयता असनमा मौसम र पर्व अनुसारका सामान बेच्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “झन् यो वर्ष त कोरोनाका कारण व्यापार ठप्प नै छ । सरकारले होली

नखेल्न भनेपछि सबैमा डर र त्रास छ, यो पालीको होली त मन मन मनाउने भएको छ ।” कोरोना भाइरसकै त्रासले विभिन्न संस्थाले आयोजना गर्दै आएको होली कार्यक्रम रद्द गरेका छन् भने हुलमा होली नखेल्न पनि सबैलाई आग्रह गरिएको छ ।

होलीमा फेसन
होलीका लागि भनेर बजारमा लुगाहरू आउने र होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’लगायत लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढ्दो रहेको छ तर यसपाली कोरोनाका कारण लुगाहरू बिक्री नभएको नयाँ सडकका लुगा व्यापारी हरि काफ्ले बताउनुहुन्छ ।

प्रेम दिवस
संस्कृतिविद् डा. सत्यमोहन जोशीले नेपालमा मनाइने ‘प्रेम दिवस’ फागु पूर्णिमालाई मानिने जानकारी दिनुभयो । उहाँका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा...’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्दछन् । सो गीतमा झ्यालभरी सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ ।
परम्परा अनुसार होली सुरु हुनुभन्दा दुई तीन हप्ता अघिबाट नेवारको घरघरका झ्यालमा होली आगमनको सङ्केत गर्न सागका मालाहरू झुन्ड्याउने गरिन्छ । जोशी भन्नुहुन्छ, “मूलतः हुर्केका चेली, जो असल पुरुष साथीको खोजीमा रहेका हुन्छन्, उनैले यसरी मालाले घर सजाउने गर्दथे । होली खेल्न टोलटोलमा पुग्ने टोलीले विपरीत लिङ्गीसँग सम्बन्ध अघि बढाउने परम्परागत लोक गीतहरू गाउने गर्दछन् ।”
नेवार युवाले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन् । यस दिन युवक–युवतीबीच अबिर, रङ खेल्दै ठूलो रौनकका साथ होली खेलिन्छ । पहिले पानीमा विविध सुगन्धित वस्तुहरू मिसाइने गरिन्थ्यो । युवालाई दूध मिसाइएको पानी छ्यापेर स्वागत गरिन्थ्यो । रक्सी मिसिएको पानी, पानको पात भिजाइएको पानी, साग पखालिएको हरियो पानी छर्कने दिन अब इतिहासमा मात्र सीमित छ ।

सचेत रहन सल्लाह
यसैबीच कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाइलो गर्दा ध्यान दिन चिकित्सकको सुझाव छ । टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पानीमा भिज्दा तथा भीडभाडमा रङ‍ अबिर दल्दा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने सुझाव उहाँको छ । गोर्खापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्