विराटनगरका नाकाबाट डीउटी र सञ्चारका प्रहरीको मिलेमतोमा तस्करी

विराटनगरका नाकाबाट डीउटी र सञ्चारका प्रहरीको मिलेमतोमा तस्करी

विराटनगर । अन्तरदेशीय सीमा तस्करीमा डीउटीमा रहेका प्रहरीको संलग्नता खुलेपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले संगठन भित्रका ११ जना प्रहरी सदस्यमाथि अनुसन्धान सुरु गरेको छ ।
समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा आयात गर्ने र भाारततर्फ तस्करी गर्ने कार्यदेखि भारतबाट अवैध रुपमा नेपालमा सामान भित्र्याउने कार्यमा सीमा क्षेत्रमा खटिने प्रहरीको संलग्नता देखिएपछि उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो ।

यसरी अनुसन्धानको दायरामा आउनेमा जुनियर प्रहरी अधिकृतदेखि जवानसम्म रहेका छन् । प्रदेश १ प्रहरी कार्यालयको एउटा टोलिले विराटनगर–१२ बखरी क्षेत्रमा भारतबाट नेपाल ल्याउँदै गरेको सामान गत असार १८ गते पक्राउ गरेपछि तस्करीमा डीउटीमा रहेका प्रहरीको मिलेमतो खुलेको थियो । पाँचलाख बढीको भन्सार छलेको सामान को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर–१५ का राजा पासवानसहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ परेको थियो ।

कसरी खुल्यो प्रहरीको संलग्नता ?

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलि मटेर्वा नाकामा डीउटीमा थियो । तस्करी भएर भित्रिएको सामान नियन्त्रणमा लिन सकेन । थप फोर्सका लागि इलाका प्रहरी कार्यालय रानीको सञ्चारमा रिपोर्ट ग¥यो । सञ्चारमा खटिएका प्रहरीले रानीका प्रहरी निरीक्षक दिपक थापालाई जाहेर गर्नुपर्ने सूचना हवल्दार केशव कार्कीलाई जाहेर ग¥यो ।
प्रहरी निरीक्षकलाई फिल्डको कुरा जाहेरै नगरी हवल्दार र सञ्चारमा खटिनेले तस्करीलाई डिसमिस बनाउँदै फिल्डमा रहेको टोलिलाई सामान वैधानिक रहेको जानकारी दिएका थिए ।
पछि प्रदेश १ प्रहरी कार्यालयको सादा पोशाकको टोलिले सामान नियन्त्रणमा लिएपछि उनीहरुको संलग्नता खुल्यो । लगतै प्रदेश प्रहरीले दरैया क्षेत्रमा खटिएका चार जनालाई गणमा तानेर अनुसन्धान सुरु गरिरहेको छ । उनीहरुमाथिको अनुसन्धानपछि निलम्बन पत्रसहित जिल्ला प्रहरी कार्यालयमा फिर्ता पठाउने तयारी भईरहेको छ ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले अन्तरदेशीय तस्करीको कारोबार रोक्न नसकिएको अवस्थामा गहिरो अध्ययन गर्दै जाँदा थप ७ जना प्रहरीलाई अनुसन्धान गर्नुपर्ने अवस्था आएको जानकारी दिइएका छन् । डीउटीबाट हटाएर अनुसन्धान गरिरहेकाहरुकै बयानका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मोहम्मद अनिस समेत शंकाको घेरामा तानिएका छन् । पछि अनिसको बयानमा थप दुईजना जिल्ला प्रहरी कार्यालयकै जवानको समेत संलग्नता खुलेको छ ।

त्यस घटनामा इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत (सई) दिनेश अधिकारी समेत मुछिएका थिए । पछि बद्नियत नदेखिएको भन्दै फिर्ता पठाइएको बुझिएको छ । तर, मोरङका प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न सबैमाथि अनुसन्धान भईरहेको र संलग्न देखिए जोसुकै भएपनि कारवाही गरिने दावी गरेका छन् ।
भारतबाट नेपाल भित्र्याउने र नेपालबाट भारत तस्करी गर्ने कार्य पूर्ण रुपमा रोक्नका लागि प्रहरी भित्रै सुधार आवश्यक रहेकोले कडा कदम चाल्नुपर्ने दावी मोरङ प्रहरीले गर्दै आएको छ ।

समुन्द्रपारबाट नेपाल, नेपालबाट भारत

प्रहरीले समुन्द्रपारबाट नेपाल भित्र्याएर भारत तस्करी गरिने सामानको तथ्यांक अध्ययन गरेर सीमा क्षेत्रमा कडाई गर्ने तयारी गरिरहेको छ । विराटनगर भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आवमा केराउ, सुपारी, सुकमेल र छोकडाको आयात ह्वात्तै बढेको देखिएपछि त्यो सामान सीमा क्षेत्रबाट अवैध रुपमा भारत निकासी हुनेछ ।
गत आर्थिक वर्षमा यस नाकाबाट ७२ करोड २६ लाख मूल्यको १७ हजार १ सय ७७ टन केराउ आयात गरिएको थियो । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा १ अर्ब २९ करोड ८० लाख मूल्यको २८ हजार ८ सय ३५ टन केराउ आयात भएको छ। केराउ युक्रेन र क्यानाडाबाट आयात गरिन्छ ।

पाकिस्तानबाट आयात गरिने छोकडाको परिमाण पनि बढेको छ । गत आर्थिक वर्षमा ७२ लाख मूल्यको ८७ टन छोकडा यस नाकाबाट आयात भएकोमा चालु आवको जेठ मसान्तसम्ममा १७ करोड ७५ लाख मूल्यको २ हजार ७२ टन छोकडा भित्रिसकेको छ । त्यस्तै मलेसिया, सिंगापुर र थाइल्यान्डबाट पैठारी गरिने सुपारी पनि गत आवभन्दा चालु आवमा बढी भित्रिएको छ ।
गत आर्थिक वर्षमा यस नाकाबाट ४१ करोड १० लाख मूल्यको ३ हजार १ सय २७ टन सुपारी आयात भएकोमा चालु आवको जेठ मसान्तसम्ममा ७५ करोड ५ लाख मूल्यको ५ हजार ४ सय ५३ टन आयात भइसकेको छ । सुकमेलको आयात ग्वाटेमालाबाट गरिन्छ र यसको पनि परिमाण बढेको छ । गत आवमा ३५ हजार मूल्यको २ टन मात्र सुकमेल आयात गरिएकोमा चालु आवको जेठ मसान्तसम्ममा ७ करोड ४० लाख मूल्यको ५० टन सुकमेल आयात भएको छ ।
भियतनामबाट ल्याइने मरिच चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ५ सय ९१ टन आयात भएको छ । यसको मूल्य ६६ करोड ३६ लाख हुन्छ । गत आर्थिक वर्षमा विराटनगर नाकाबाट १ अर्ब १४ करोड ४५ लाख मूल्यको २ हजार ७ सय ४५ टन मरिच आयात गरिएको थियो ।

तस्करीका मुख्य नाकामा छड्के गस्ती
प्रहरीले समुन्द्रपारबाट नेपालमा खपत हुने भन्दा धेरै सामान आयात गरेर सीमा क्षेत्रमा भण्डारण गरेको सूचना पाएसँगै तस्करी हुने मुख्य नाकामा छड्के गस्ती बढाउने भएको छ ।
मोरङको दरैया, मटेरुवा, तरिगामा, खयरबना, नोचा, मायागञ्ज, डाइनियाँ र रंगेली तस्करीका मुख्य नाकामा छड्के गस्ती बढाउने भएको हो । यी नाका तस्करीमा कहलिएकामा पर्दछन् ।
त्यस्तै सुनसरीका छिटाहा, भूटाहा, कप्तानगञ्ज, देवानगञ्ज र घुस्कीबाट तस्करी हुन्छ । यी नाकाबाट सामान भारततर्फ तस्करी गर्नेहरुको र भारतबाट नेपालमा सामान भित्र्याउने व्यक्ति र खरिद गर्ने व्यवसायीको सूचि तयार पारिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्