विराटनगरमा पीडा साटेरै दिन कटाउँछन् यातायात मजदुर

<span class='c1'>विराटनगरमा पीडा साटेरै दिन</span> <span class='c2'>कटाउँछन् यातायात मजदुर</span>

एन्जु शिवाकोटी

विराटनगर । दिउँसोको समय ¬। विराटनगर वडा नंं. ८ हाटखोलामा रहेको बसपार्क सुनसान देखिन्छ । बसपार्कमा रहेको चौतारामा केही मानिस गफ गर्दै बसिरहेको देखिन्छन् । ती मानिसहरु प्रायजसो समय त्यहिं हुने गर्दछन् । उनीहरु साथीभाईहरुसँग रमाइलो गफगाफ गर्न त्यहाँ आएका होइनन् । ती व्यक्तिहरु त्यहीँ बसपार्कका कर्मचारीहरु हुन् । र, त्यहाँ बस्नु उनीहरुको रहर होइन बाध्यता हो ।

चार महिना बितिसक्दा पनि यातायात सञ्चालन हुन नसक्दा उनीहरुको अवस्था कष्टकर बन्दै गइरहेको छ । केही कर्मचारीहरु आफ्नो घर फर्किसकेका छन् भने कतिपय त्यहीँ छन् । लेवर ज्यामी काम कहिलेकाँही भेटीने गरेको र त्यसैले गुजारा गर्दै आएको को १ ख ९८४२ बसका सहचालक २७ वर्षिय राजु राईले बताए । लकडाउन सुरु भएको अवस्थामा सुनौलो पूर्व यातायात व्यवसाय संघले १० किलो चामल दिएको राइले बताए । त्यसपछि अवस्थालाई बुझ्न न स्थानीय सरकार आए न त बसका साहुले नै केही सहयोग गरे भन्दै उनी उदास छन् ।

को १ ख २७८६ का सहचालक ३१ वर्षीय मानबहादुर सुब्बाको व्यथा अझै कष्टकर छ । उनको आफन्त कोही नभएको र बसपार्कलाई नै आफ्नो घर मानेका राई लकडाउन हुनु भन्दा १ महिना अगाडी देखि जन्डिस भएर थलिएका थिए । बसपार्कका सबै कर्मचारीहरु मिलेर उनको उपचार गराएका थिए । निको हुन नपाउदै लकडाउनन लागुभयो । साथीभाईहरुका आडमा उनी हाल बसिरहेका छन् । उनलाई कुनै निकायले सहयोग गरेको छैन् ।

को १ ख ३२७२ चालकको रुपमा काम गर्दै आएका ४८ वर्षीय सत्यनारायण झाको व्यथा पनि त्यस्तै छ । अरु काम गर्न नसिकेको र बस चालक भएरै विगत २० बर्षदेखि काम गरेको झाले बताए । आफ्नै भरमा ६ जनाको परिवार चलिरहेको अवस्थामा यातायात सञ्चालन ठप्प हुदाँ पेटमा पटुकी कस्ने अवस्था भएको झाले सुनाए । साहु र सरकारसंग उनको ठुलै गुनासो छ । यति लामो समय आफ्नो बसमा काम गरेको चालकको अवस्थाको बारेमा नबुझेकोमा उनीले आक्रोस व्यक्त गरे ।
कर्मचारीहरुको मात्र हैन बस मालिकहरुको समस्या पनि विकराल नै छ । बस सञ्चालन भएकै अवस्थाका बसहरु पछाडीबाट धकेलेर स्टाट गरेर चलाउनु पर्ने अवस्थाका थिए । यति लामो समयसम्म थन्किएर बस्दा कुनै पाटपूर्जा सहिसलामत छैनन् । कतिपय बसहरु पूर्णः सञ्चालन गर्न नमिल्ने अवस्थामा पुगिसकेका छन् ।

खुशी यातायात ना ४ ख ५०२५ का मालिक आषिश कार्कीको आफ्नै गुनासा छन् । सरकारले एउटा सिटमा एक जना व्यक्ति राखेर बस सञ्चालन गर्नु भनेता पनि त्यसरी सञ्चालन गर्न नसकिने उनले बताए । यात्रुहरुसंग बस भाडा दर भन्दा बढी रमक लिन नमिल्ने भएकाले एकजना एउटा सिटमा राखेर बस सञ्चालन गर्नु भन्दा सब त्यतिकै थन्काउदै राम्रो हुने उनको भनाई छ । चार जना कर्मचारी रहेको र यो समयमा पनि उनीहरुलाई सहयोग गर्न नसकेकोमा दुःख लागेको उनले बताए । बैंकबाट ऋण लिएर बस किनेको र त्यसको ब्याज तिर्न नसकेको उनले बताए ।

सुनौलो पूर्व यातायात संघका सहसचिव रहेका गोविन्द बहादुर कार्कीका आफ्नै भनाई छन् । यातायात व्यवसाय धरापमा रहेको र बस सञ्चालकहरु पलायन हुने अवस्थामा पुगेको बताए । सरकारले यातायातको क्षेत्रमा कुनै सहयोग नगरेकोले आफ्नो सबै कर्मचारीहरुलाई समेटेर समस्याको हल गर्न नसक्ने अवस्थामा रहेको कार्कीको भनाई छ । हाटखोला बसपार्कबाट ५२ वटा बसहरु छोटो दुरीका लागि छुट्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्