विराटनगरका विद्यालय सञ्चालन मोडालिटी–‘डाइरेक्ट क्लास टु होम’

विराटनगरका विद्यालय सञ्चालन मोडालिटी–‘डाइरेक्ट क्लास टु होम’

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले विद्यार्थीहरुलाई ‘डाइरेक्ट क्लास टु होम’ को विधि अपनाउँदै विद्यालय सञ्चालन गर्ने प्रस्तावित कार्यविधि तयार गरेको छ । स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै साउन १ गतेदेखि विद्यालयहरु सञ्चालनका लागि प्रदेश सरकार समक्ष १२ बुँदे कार्यविधि प्रस्ताव हिसान मोरङले शुक्रबार बुझाएको हो ।

प्रस्तावमा विद्यार्थीलाई ‘होम टु क्लास, क्लास टु होम’ देखि विद्यालयमै तातो पानी पीउने सुविधा र शौचालयको व्यवस्थापनलाई समेत नयाँ ढंगले प्रयोगमा ल्याउने उल्लेख गरिएको छ । लगातारको विद्यालय बन्दले सञ्चालक, शिक्षक तथा कर्मचारी र विद्यार्थी समेत प्रभावित भएको निष्कर्ष निकाल्दै हिसान मोरङले प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष विद्यालय सञ्चालन कार्यविधि प्रस्ताव पेश गरेको हो ।

हिसान मोरङका अध्यक्ष राजेश कार्कीले विराटनगरमा मात्रै २५० निजी शिक्षण संस्थामा १० हजार संख्याका शिक्षक, कर्मचारी, सवारी चालकसहित अप्रत्यक्ष रोजगारीमा संलग्नहरु प्रभावित बनेको र उनीहरुमा मनौवैज्ञानिक समस्या सिर्जना भएको बताएका छन् ।
हिसान मोरङको विद्यालय सञ्चालन प्रस्ताव कार्यविधि बुझ्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले समस्या समाधानका लागि सबै लाग्नु पर्ने बताएका छन् । प्रदेश सरकारले छलफल गर्ने र संघीय सरकार समक्ष प्रस्तावित कार्यविधिलाई कार्यन्वयन गराउन पहल लिने मन्त्री घिमिरेको भनाई थियो ।


समस्याको पहिचानसहित हिसान मोरङले प्रस्ताव गरेको कार्यविधि सकारात्मक रहेकोले संघीय सरकारसम्म पु¥याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने दाावी गरेका छन् । शिक्षा तीनै तहको साझा सूचिमा उल्लेखित अधिकार रहेको भएपनि कोरोना प्रकोपले मूलभूत निर्णय संघीय सरकारले गर्नुपर्ने भएकोले प्रदेश सरकारको एकल निर्णयले मात्रै नहुने उनको भनाई थियो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलका अनुसार आगामी साउन १ गतेदेखि एक महिनासम्म अनलाइन भर्ना अभियान र सरकारले निर्धारण गरेको अनलाइन सञ्चालन गरिने छ । एक महिनासम्मको अवधी बुझेर भदौ १ गतेदेखि कक्षा ११ देखि स्नातकोत्तरसम्मका कक्षा सञ्चालन गर्नका लागि प्रस्तावित कार्यविधिमा उल्लेख गरिएको छ । भदौ १६ गतेदेखि कक्षा ७ देखि १० सम्म र आश्विन १ गतेदेखि १–६ तहको कक्षा सञ्चालनमा ल्याउनका लागि स्वीकृति दिनुपर्ने माग गरिएको पोखरेलले जानकारी दिएका छन् ।
प्रस्तावमा प्रत्येक विद्यालयले राज्यले निर्धारण गरेको सुरक्षा सावधानी, स्वास्थ्य सुरक्षा र भौतिक दुरीको पूर्ण पालना गरिने उल्लेख छ । यसैगरी आईआर थर्मल गन, सेनिटाइजर, साबुन–पानी, माास्क र एक बेन्च एक विद्यार्थी राखेर अनिवार्य विषयको कक्षा दैनिक ३ घण्टा सञ्चालन गर्ने उल्लेख छ । यसरी सञ्चालन गरिने कक्षा हप्तामा ३ दिनको पालो निर्धारण गरिने र मूल विषयहरुको मात्रै पठननपाठन गरिने उल्लेख गरिएको छ ।

विद्यालयमा आउने दुई सिफ्टका विद्यार्थीबीचमा अनिवार्य स्यानिटाइजर गरिने र क्यान्टिन सञ्चालन नगर्ने उल्लेख गरिएको छ । यसैगरी विद्यार्थीका सेक्सन पिच्छे फरक–फरक शौचालयको अवधारणा समेत अगाडी सारिएको छ । सिधा कक्षा र सिधा घरको नियम अनुसार पढाई सुरु गर्नका लागि स्वास्थ्य सेवाको सुविधा विद्यालयले मिलाउने पोखरेलको दावी छ । विद्यालयमै अनिवार्य तातो पानीको सुविधा विद्यार्थीलाई दिने समेत कार्यविधिमा राखिएको छ ।

हिसान मोरङका वरिष्ठ उपाध्यक्ष अमित ढकालले निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन् । उनले निजी विद्यालय शैक्षिक संस्था मात्रै नभई शैक्षिक स्वरोजगार केन्द्रको रुपमा रहेको कुरा सरकारले बुझ्नुपर्नेमा जोड दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्