विराटनगर–रंगेली लाइनका बस सञ्चालन नहुने

विराटनगर–रंगेली लाइनका बस सञ्चालन नहुने

विराटनगर । मोरङका ग्रामीण क्षेत्रमा बस सेवा सञ्चालन गर्दै आएका सन्तोष पोखरेलले लकडाउन अघिनै ९ लाख ५० हजार घाटा सहेर कवाडीलाई बस बिक्री गरे ।
पुरानो बस ९ लाखमा खरिद गरी २ लाख मर्मतमा खर्च गरेका उनले गाउँमा चल्ने बसबाट ऋणको ब्याज पनि नउठ्ने देखेर कवाडीलाई १ लाख ५० हजार रुपैंयाँमा बेचेका थिए ।

‘हाटखोलाका सबै ब्यवसायीको अवस्था यस्तै छ, गर्दै आएको पेशा छाड्ने अवस्था छैन, चलाउँदा नाफा हुँदैन’ उनले भने–‘बस चल्दा त त्यस्तो हालत थियो अहिलेको लकडाउनले झन बर्बाद बनायो ।’
विराटनगर–७ हाटखोलास्थित मोरङको ग्रामीण क्षेत्रमा चल्ने बसपार्क छेउमा घर भएका कमल खातीले २०७२ मा १२ लाख ५० हजारमा पुरानो बस खरिद गर्दा बैंकबाट ७ लाख ५० हजार रुपैंयाँ ऋण लिएका थिए ।

यतिका वर्षमा उनको ऋण घट्नुका साटो बढ्दै गएको छ । छोराछोरी पढाउन र घर खर्च चलाउन मात्रै पुग्ने भएकाले बस चलाएपनि सावा तिर्न नसकेको उनी बताउँछन् । चार महिने लकडाउनमा थन्किएका हाटखोलाका ४९ वटा बस अहिले नै चल्न सक्ने अवस्थामा छैनन् ।

सानो लगानीमा एउटा मात्रै बस खरिद गरेर ग्रामीण क्षेत्रमा चलाउँदै आएका यहाँका ४२ जना ब्यवसायी थन्किएका गाढी बिग्रिएकाले बताउने खर्च अभावमा सुचारु गर्न सक्ने अवस्थामा छैनन् ।
सरकारले लकडाउन खुकुलो पारेर बस सञ्चालनको अनुमति दिएपनि उनीहरु अहिलेनै बस गुडाएर सडकमा ल्याउन सक्ने अवस्था नरहेको बताउँछन् ।

लकडाउनमा धेरैजसो बसको नविकरण र बीमा फेल भएका छन् । बसहरु थन्क्याइएकाले टायर काम नलाग्ने भएका छन् । टायर, व्याट्री र मोबिल, लगाउन मात्रै १ लाख खर्च हुने ब्यवसायीहरु बताउँछन् ।
बसपार्कमा अलपत्र राखिएकाले धेरै वटा बसका सीसा फुटेका छन् । बसका सीट च्यातिएका र चोरी भएका छन् । हिलोमा भासिएकाले टायर डुबेका छन् । यहाँका अधिकांश ब्यवसायी आफैं मजदुरका रुपमा बसमा काम गर्छन् ।

विराटनगरको हाटखोलाबाट मोरङको राजमार्ग दक्षिणका २१ ठाउँमा यात्री पुर्याएर राति त्यहीं बास बसेर बिहान यात्री लिएर फर्कने गरेका थिए ।
यातायात मजदुर नेता तथा सुनौलो पूर्व नेपाल यातायात कम्पनीका सञ्चालक राजु धमलाका अनुसार, कतिपय बस सञ्चालक ऋण पाए मात्रै बस सुचारु गर्न सक्ने अवस्थाका छन् ।

गाउँमा टेम्पो र सिटी रिक्सा चल्न थालेको र यात्रुले पनि पूरा भाडा नतिर्ने भएकाले यस क्षेत्रमा नयाँ बस खरिद गरेर सञ्चालन गर्ने आँट ब्यवसायीमा छैन ।
सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालिका उपाध्यक्ष तथा हाटखोला बसपार्क प्रमुख प्रकाश कार्की ग्रामीण क्षेत्रमा चल्ने बसका सञ्चालक रकम अभावमा बस मर्मतका लागि तयार नभएको बताउँछन् ।

‘आफैं साहु, आफैं मजदुर छन्, बन्दमा कमाई भएन, सहयोग गर्न कम्पनीको खातामा रकम छैन’ कार्कीले भने–‘बस चलेपछि मात्रै कम्पनीले सहयोग गर्न सक्छ ।’
बसले दुर्घटना गरे कम्पनीले त्यसमा लाग्ने खर्च बेहोर्दै आएकोमा हाल कम्पनीको कोषपनि रित्तो रहेकाले ब्यवसायीलाई सहयोग गर्न सक्ने अवस्था नरहेको उनले बताए । एउटा बसले चलेका दिन दुर्घटना कोषमा १ हजार जम्मा गर्ने गरेका थिए ।

त्यही रकमबाट दुर्घटनापछि कम्पनीले क्षतिपूर्ति र उपचार गराउने गथ्र्यो । बस नचल्दा कम्पनीको कोषमै रकम नभएकाले मोरङको ग्रामीण क्षेत्रमा चल्ने बस सुचारु गर्न सक्ने अवस्था नभएको कार्कीले बताए ।

 स्रोत  : उद्घोष दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्