विराटनगर बसपार्कमा छैनन् बस चढ्ने यात्रु

विराटनगर बसपार्कमा छैनन् बस चढ्ने यात्रु

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलदै गएपछि चार महिनापछि सञ्चालनमा आएको सार्वजानिक यातायातको क्षेत्र भने झन् समस्या पर्ने देखिएको छ । चार महिनाको लकडाउनपछि सरकारले छोटो दुरीका लागि सार्वजानिक यातायात सञ्चालकको निर्णय गरेपनि सार्वजानिक सवारी यात्रुबिहीन बनेका हुन् ।

विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक यातायात बसले मोरङको उर्लावारी, सुनसरीको धरान र इनरुवासम्म पुग्दा सीटमा बसिदिने यात्रु नपाएको व्यवसायीको गुनासो छ ।
स्वास्थ्य प्रोटोकल अपनाउँदै तोकिएका ५० प्रतिशत सीटमा बसेर यात्रा गर्ने यात्रु नपाएपछि व्यवसायीहरु निक्कै चिन्तामा परेको बताउँछन् ।
पाँचदिन अगाडीदेखि फाट्टफुट्ट बसहरु बसपार्कबाट छुट्न थालेका छन् । सुनौलो पूर्व नेपाल यातायात प्रा.लि.का कोषाध्यक्ष राजु धमलाका अनुसार विराटनगर–इनरुवा, उर्लावारी र धरानसम्मको यात्राका लागि दैनिक १० देखि १५ वटा बसहरु छुट्ने गर्दछन् । तर, बसपार्कबाट निस्कँदा अधिकांशले एकजना पनि यात्रु पाउँदैनन् ।

छोटो दुरीका लागि म्याजिक भेनहरु ४० देखि ५० को संख्यामा विराटनगरबाट छुट्दै आएपनि बसमा चढ्ने यात्रु नगन्य मात्रै छन् । सामान्य अवस्थामा विराटनगर–काकडभिट्टा ओहोर–दोहोर गर्ने १५० सवारीहरु रहेका थिए । तीनै बसमध्ये केहि संख्याले विराटनगर–उर्लावारी गरिरहेका हुन् । विराटनगर–धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर छुट्ने बसहरुमध्ये केहि संख्याले धरानसम्म यात्रु लिएर आउजाउ गरिरहेका छन् । त्यस बाहेक विराटनगर–धरान, सप्तरी, उदयपुर र सुनसरीको इनरुवासम्मका बसहरुले पनि नगन्य संख्यामा चल्दै आएका हुन् ।

मोरङ र सुनसरीमा छोटो दुरीका बसहरु केहि संख्यामा चलेपनि यात्रु नपाउँदा दैनिक इन्धन खर्च समेत उठाउन मुश्किल परेको व्यवसायीहरुको दावी छ । सामान्य अवस्थामा १० देखि १५ मिनेटको अन्तरमा छुट्ने बसहरु दिनभरमा १५ वटासम्म निस्कने गरेपनि यात्रु नपाइएको हो ।

कोरोना संक्रमणको भय झन् बढ्दै जाँदा सार्वजानिक यातायातमा यात्रा गर्नेहरुको संख्या झन् घट्दो क्रममा रहेको दावी व्यवसायीहरुको छ । बसपार्कमै यात्रु नआउँदा बाटोमा भेटिएका मात्रै उठाउनु पर्ने बाध्यता रहेको धमलाले गुनासो गर्नुभयो ।
सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक ३ सय देखि साढे ३ सय बसहरु लामो तथा छोटो दुरीका लागि छुट्ने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का प्रदेश १ संयोजक किशोर धमलाले जानकारी दिनुभयो । ती बसहरुमा कार्यरत मजदुरले लकडाउन खुल्दा पनि आफ्नो रोजीरोटीको सुरक्षा गर्ने अवस्था नदेखिएको उहाँको भनाई छ ।

पूर्ण रुपमा अवस्था सामान्य नहुँदा सम्मयात्रु आउन सक्ने संभावना नरहेकोले व्यवसायीलाई अझै चिन्ता बढाएको यातायात महासंघ मोरङका अध्यक्ष राजन कँडेलको भनाई छ । यातायात क्षेत्र तङ्ग्रीन अझै एकवर्ष लाग्ने बताउँदै कँडेलले राष्ट्र बैंकको मौद्रिक नीतिले केहि राहत दिएको भएपनि संक्रमण बढ्दै गए यो क्षेत्र उठ्न सक्ने संभावना छैन ।

अहिले व्यवसायीहरुले छुट्ने र पुग्ने जिल्लाको स्थानीय प्रशासनको अनुमति र जानकारी लिएर सवारी साधन चलाउँदै आएका छन् । तीस जना यात्रु क्षमता रहेको बसमा १५ जना मात्रै यात्रु राख्न पाउने प्रावधान तोकिएको छ । तर, तोकिएको संख्याका यात्रु समेत अहिलेसम्म छुटेका कुनै गाडीले नपाएको महासंघका अध्यक्ष कँडेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्