प्रदेश १ मा कोरोना भाईरस : ‘हाईरिक्स सेक्टरल ट्रान्समिसन’

प्रदेश १ मा कोरोना भाईरस : ‘हाईरिक्स सेक्टरल ट्रान्समिसन’

विराटनगर । उच्च जोखिम क्षेत्र ‘हाईरिक्स सेक्टर’ मा कार्यरत व्यक्तिहरुलाई कोरोना भाईरस (कोभिड–१९) पाोजेटिभ देखिन थालेसँगै प्रदेश १ मा कोरोना संक्रमण जोखिमको चरण अध्ययन सुरु गरिएको छ । जोखिम न्यूनीकरणका कामसँगै कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि अहिले देखिएको संक्रमण रोक्न विशेष योजना तयार पार्ने काम थालिएको हो ।

स्वास्थ्यकर्मी तथा चिकित्सक र सुरक्षा निकायमा कार्यरतसँगै, लकडाउन खुलेपछिका दिनमा स्रोत पहिचान नहुने गरि सर्वसाधारणमा समेत संक्रमण देखिन थालेपछि जोखिमबारे सावधानी र अध्ययन भईरहेको सम्बन्धित क्षेत्रका सरोवालाको दावी छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेश मेहताले गुणात्मक रुपमा संक्रमितको संख्या बृद्धि भईनसकेको अवस्थामा अहिले दोस्रो चरणमा मात्रै कोराना संक्रमणको जोखिम रहेको दावी गर्नुभयो । दैनिक ५०० सय स्वाब नमूना परीक्षण गर्दा दैनिक १०–१५ जना मात्रै संक्रमित देखिएकोले अहिले नै समुदायस्तरमा संक्रमण फैलिएको मान्न नसकिने जिकीर थियो ।

समुदायस्तरको संक्रमण प्रत्येक दिन दोब्बर संख्या प्रभावित हुँदै जानुलाई मानिन्छ, डा.मेहताले भन्नुभयो–अहिले औसत संख्या मात्रै संक्रमित देखिन्छ । हो, परीक्षणको दायारा नै पुगेन की भन्ने आशंका चाँहि छ, डा. मेहताले भन्नुभयो–यसका लागि संभावित जोखिम मानिएका क्षेत्रमा समुदायस्तरको नमूना संकलन र परीक्षणको काम सुरु गरिसकिएको छ । उहाँका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमा देखिनुलाई ‘हाईरिक्स सेक्टरल ट्रान्समिसन’ मात्रै मान्नुपर्ने हुन्छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले नै बारम्बार समुदायस्तरमा संक्रमण गएको आशंका गर्दै आउनु भएको छ । संक्रमण समुदायस्तरमा पुगेको भए त्यसको रोकथामका लागि योजना आवश्यक छ भन्ने निष्कर्षका आधारमा अहिले धमाधम कामहरु भईरहेको डा.मेहताले दावी गर्नुभयो । झापा, मोरङ र सुनसरीमा विशेष प्राथमिकतासहित, अन्य जिल्लामा छनौट गरिएका स्थानमा स्वाब नमूना संकलन, कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको हो ।

 

विराटनगरमा सतर्कता

प्रदेश राजधानी विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाई गर्ने निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र गत बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत पत्ता लागेको छैन ।

प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर–६ का एक पुरुषलाई संक्रमण पुष्टि भएसँगै महानगर क्षेत्रमा समुदायस्तरको संक्रमणको संभावनालाई आंकलन गरिएको छ । विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

विराटनगर महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अपिल गरेको छ । आइतबार बसेको नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले नगर क्षेत्रमा कडाई गर्ने निर्णय गरेको हो ।

उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग समेत छलफल गरेर महानगरले नगरभित्र विशेष स्वास्थ्य सावधानी अपनाउनु पर्ने निष्कर्ष निकालेको छ । सीमा क्षेत्रबाट लुकीछिपी हुने आगमनलाई रोक्ने, सिटि रिक्सामा दुरि कायम गर्नुपर्ने, चोक, बजारमा भिडभाड गरेर लाग्ने पसल ब्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम राख्नुपर्ने, भिडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने, परीक्षणको दायरा बढाउने जस्ता निर्णय गरेको छ ।

यसैगरी क्वारेन्टाइनको संख्या बढाउने, आइसोलेसनलाई थप ब्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने, आपतकालिन स्वास्थ्य सुरक्षामा थप ध्यान दिनका साथै कुनैपनि खालका सभा समारोह गर्न नदिने लगायतको निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिनु भएको छ ।
नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारी या महानगरको स्वास्थ्य शाखासँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्