७२ वर्षदेखि अविछिन्न रुपमा प्रस्तुत हुदै रघुपति जुट मिल

<span class='c1'>७२ वर्षदेखि अविछिन्न रुपमा प्रस्तुत</span> <span class='c2'>हुदै रघुपति जुट मिल</span>

विराटनगर । ७२ वर्षको अवधीमा मुलुकमा धेरै परिवर्तन आयो । जहानिया राणा शासन ढल्यो, २००७ सालमा प्रजातन्त्र आयो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको ‘कू’ गरेर निर्दलीय पञ्चायती व्यवस्था ल्याए । २०४६ साल चैत २६ मा पञ्चायत ढल्यो र देशमा पुनः प्रजातन्त्र आयो ।

 

विस २०६३ साल जेठ १५ गते राजतन्त्र सदाको लागि ढल्यो र देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । विस २०७२ साल असोज ३ गते नेपाली जनताले आफैंले बनाएको संविधान पाए ।

 

देशमा यति ठूला ठूला परिवर्तन आए । त्यसबीचमा धेरै पुराना उद्योगहरू पनि बन्द भए । देशकै सबभन्दा जेठे उद्योग विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । तर त्यसको एक दशक पछि स्थपना भएको रघुपति जुट मिल भने ७६ वर्षदेखि केही वर्ष बन्द भएर अविछिन्न रूपमा चलिरहेको छ । यो आफैंमा गौरवपूर्ण र ऐतिहासिक घटना हो ।

 

तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा रहँदा विस २०४९ सालदेखि तीन वर्ष जति रघुपति जुट मिल बन्द भए पनि विस २०५२ सालमा गोल्छा अर्गनाइजेशनले सो मिलको ६५ प्रतिशत शेयर खरिद गरेर चलाउन थालेपछि भने कहिलै बन्द भएको छैन ।

 

गोल्छा अर्गनाइजेशनले विस २०५२ सालमा ८ करोड २० लाखमा तीन किस्तामा चुक्ता गर्नेगरी ६५ प्रतिशत शेयर सरकारबाट खरिद गरेको हो । अहिले पनि ३३ प्रतिशत शेयर सरकार र अन्य व्यक्तिका नाममा छ । मिलका लेखा परीक्षक मनोज अग्रवाल अहिले पनि रघुपति जुट मिल नाफामै रहेको र गत साल मजदुरलाई बोनस खुवाएको बताउँछन् ।

 

सो मिलका परामर्शदाता डा मोहनचन्द्र घिमिरेका अनुसार ऐतिहासिक दोस्रो जनआन्दोलन र मधेश आन्दोलनका बेलामा पनि मिल बन्द भएन । अविछिन्न रूपमा चलिरह्यो । अन्य जुट मिलहरू बन्द रहँदा पनि रघुपति जुटमिल बन्द नरहनुको कारण स्वर्गीय रामलाल गोल्छाका नाति राजकुमार गोल्छाको कुशल नेतृत्व र असल व्यवस्थापनको कारणले गर्दा नै हो ।

 

रघुपति जुट मिल विस २००१ सालमा स्थापना भएको हो । ‘जुट किङ’ भनेर चिनिने स्व रामलाल गोल्छाको सक्रियातामा सो जुट मिल स्थपना भएको हो । त्यस बेला रामलाल गोल्छाले कम्पनी ६ लाख लगानी गरेका थिए । गोल्छा नै सञ्चालक बन्ने गरी लगानी गरेकोमा भारतीय साझेदार बी.एल. मोरसँग स्वर्गीय रामलाल गोल्छाको निकै वर्षसम्म खटपट चल्यो ।

 

मोर र गोल्छा बीचको झगडा तत्कालीन राणा प्रधानमन्त्री मोहन सम्शेरका छोरा विजय संशेरले सल्टाइदिएका थिए । विजय संशेर पशुपति संशेरका बाबु हुन् ।

नेपालमा उद्योग स्थापना गर्न स्वर्गीय रामलाल गोल्छाको प्रमुख हात छ । विस १९९१ सालमा भारतको कलकत्ताका जुट उद्योगी राधाकृष्ण चमडियाको सल्लाहमा रामलाल गोल्छाले विराटनगरमा जुट मिल स्थापना गर्ने इच्छा राखेर सो कुरा कृष्णप्रसाद कोइराललाई भनेका थिए ।

 

पिताजी कृष्णप्रसाद कोइरालालाई सो कुरा भनेपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध संशेर मोरङमा आएको मौका छोपेर उनको सवारी क्याम्प हरैंचामा गई उद्योग खोल्न अनुमतिका लागि आग्रह गरेका थिए ।

राणा प्रधानमन्त्रीबाट स्वीकृत पाएपछि विस १९९१ बाट निर्माण सुरू भई १९९३ बाट विराटनगर जुट मिल सञ्चालनमा आएको हो । रामलाल गोल्छाकै सक्रियतामा नेपाल बैंक लिमिटेडको स्थपना भई नेपालमा बैंकिङ कारोबार हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको व्यापार विस्तार भएको हो । नेपालबाट एलसी खोल्ने पहिलो नेपाली व्यापारी स्व रामलाल गोल्छा नै हुन् ।

 

रघुपतिजुट मिलसँग गोल्छा परिवारको भावनात्मक सम्बन्ध रहेकाले रघुपतिको सेयर खरिद गरेर सञ्चालन गर्न थालेको हो । बीचमा विराटनगर जुट मिल पनि गोल्छा परिवारकै जिम्मामा आइसकेकोमा मिल सञ्चालक समिति भित्रको खिचातानी र असहयोगका कारण गोल्छा अर्गनाइजेशनले सो मिलबाट हात झिक्नु परेको हो ।

 

विस २००४ सालदेखि लामो समयसम्म विराटनगरको मिल्स एरिया राजनीतिक, आर्थिक, औद्योगिक आदि हिसाबले देशकै अग्रणी स्थानको रूपमा परिचित थियो ।

विराटनगर जुट मिल, मोरङ सुगर मिल, गणपति कटन मिल, अशोक टेक्सटायल, हुलास मेटल आदि दर्जनौं उद्योगहरू सो ठाउ“मा चल्थे । अहिले रघुपति जुट मिल मात्रै जीवित छ । अरू अस्तित्वमा पनि छैनन् ।

गोल्छा अर्गनाइजेशनले सेयर खरिद गरेर आफ्नो व्यवस्थापनमा सञ्चालन गर्न थाल्नु भन्दा पहिले रघुपति जुट मिलको उत्पादन क्षमता दैनिक ३० टन मात्रै थियो । अहिले ६० टन क्षमताको बनाइएको छ ।

३ हजार २ सयले प्रत्यक्ष रोजगारी पाएको सो मिल नियमित चल्नुमा सञ्चालक, व्यवस्थापक, ट्रेड युनियन र त्यहाँ कार्यरत मजदुरहरूको सकारात्मक भावनाको कारणले सम्भव भएको परामर्शदाता डा घिमिरे बताउँछन् । कर्मचारी पारिश्रमिक र ज्यालामा मात्रै रघुपति जुट मिलले महिनामा ३ करोड ५० लाख रूपैयाँ खर्च गर्ने गर्दछ ।

लामो समयसम्म निरन्तर चलेर रघुपति जुट मिलले इतिहास बनाएको छ । यसमा सबैलाई श्रेय जाने डा घिमिरे बताउँछन् । स्वर्गीय रामलालले सुरू गरेको जुटको व्यवसाय सो परिवारमा उनका नाति राजकुमार गोल्छाले मात्रै पैतृक व्यवसायलाई धानिरहेका छन् ।

अन्तर्राष्ट्रिय बजारको प्रतिकूल अवस्था, भारत सरकारले नेपालका जुट उद्योगबाट उत्पादित बस्तुमा लगाउने गरेको एन्टी डम्पिङ डिउटीका बाबजुद रघुपति जुटमिल निरन्तर चलिरहेको छ ।

सो मिलका सञ्चालक राजकुमार गोल्छाका अनुसार पैतृक व्यवसायलाई छाड्न नसकेर प्रतिकूल अवस्थाका बाबजुद पनि निरन्तर चलाउँदै आएको हो ।
स्रोत : उद्घोष,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्