किसानको पोखरीका ताजा माछा : कटहरीमा खुल्यो बिक्री केन्द्र

किसानको पोखरीका ताजा माछा : कटहरीमा खुल्यो बिक्री केन्द्र

किसानले उत्पादन गरेको माछा आफैं मूल्य तोकेर बिक्री गर्न मोरङको कटहरी–२ मा प्रशोधन तथा बिक्री केन्द्र संचालनमा ल्याइएको छ । किसानको समूहले स्थापना गरेको बिक्री केन्द्र बिहीबारदेखि शुरु भएको हो ।

पोखरीमा बिक्री हुनेभन्दा सस्तो मूल्यमा किसान आफैंले जिउँदो माछा बिक्री गर्न थालेका हुन् । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई लगायतको उपस्थितिमा केन्द्रमा बिक्री सुरु गरिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा जोन र कटहरी एग्रो फार्म समूहको बराबरी लगानीमा १५ लाखको लागतमा आधुनिक बिक्री केन्द्र संचालनमा आएको हो ।

‘किसानले उत्पादन गर्छन् तर, मूल्य ब्यापारीले लगाउँछन् यहाँ त्यस्तो छैन’ समूहका अध्यक्ष मृत्युञ्जय झाले भने– बजारमा माछा पाँच सय रुपैंयाँ किलो छ, हामी चार सयमै दिन्छौं ।
बेरोजगार युवालाई समेटेर समूह बनाई फार्म सुरु गरिएको उनले बताए ।

समूहका सदस्यहरुका पोखरीमा माछा र डिलमा बाख्रा, कुखुरा पालेर केन्द्रबाट बिक्री गर्ने समूहको योजना छ ।

अन्तर्राष्ट्रिय माछा बजारको सुविधालाई नियालेर माछा राख्ने ट्यांकी बनाइएको छ । टंकीमा पानीको फोहोरा र पंखाको हावा लगाइने गरिएकाले माछा जिउँदै रहन्छन् ।

धनपालथानका किसान महेन्द्र मण्डलले उत्पादन गरेको पाँच किलो वजनका माछा केन्द्रमा राखिएको छ ।

पाँच क्विन्टल क्षमता भएका तीनवटा ट्यांकीबाट पानी मोटरले घुमाउँछ र फोहोराबाट फाल्छ । सात जना सदस्यले सुरु गरेको फार्ममा सकेसम्म सदस्य बढाएर कार्य क्षेत्र विस्तार गरिने लक्ष्य रहेको अध्यक्ष झाले बताए ।

सदस्यहरुका खाली खेतमा बाख्रा र कुखुरा पालन गरिने र पोखरीहरुमा माछाको उत्पादन बढाउँदै किसानको आयस्रोत बढाउँदै लैजाने योजना रहेको उनको भनाई छ ।

कटहरी बजारमा स्थापना गरिएको केन्द्रले विराटनगर, जहदा, कटहरी र धनपालथानका उपभोक्तालाई लक्षित गरेको छ ।
स्रोत : उद्घोष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्