उद्योगी–व्यवसायीको माग : मजदुरको सामुहिक परीक्षण गर्न माग

उद्योगी–व्यवसायीको माग : मजदुरको सामुहिक परीक्षण गर्न माग

विराटनगर । विराटनगरका उद्योगीले कोरोनाको महामारी उद्योगसम्म फैलिए राज्यले थेग्नै नसक्ने समस्या आउनेतर्फ सजग हुन आग्रह गरेका छन् । सतर्कताको लागि अहिलेदेखि नै पूर्ण तयारी थाल्न उनीहरुले माग गरेका हुन् ।

महामारी बढ्दै जाँदा आपूर्ती बन्द हुन सक्ने, उद्योगबाट उत्पादन रोकिने र त्यसबाट ठूलो समस्या बजारमा आउन सक्ने उद्योगी–व्यवसायीको चिन्ता छ । कोरोना संक्रमण भएका क्षेत्रहरुमा धमाधम सिल भएको स्मरण गर्दै भोली उद्योग भित्रका कुनै व्यक्तिमा संक्रमण देखिएको अवस्थामा उद्योग सिल हुने दिन आउनेतर्फ उनीहरुले भनाई छ ।

उद्योगीहरुले उद्योगमा कार्यरत मजदुर तथा कामदारको समुह परीक्षण गरिनुपर्ने माग गरेका छन् । उद्योगी अभिनाश बोहराले औद्योगिक क्षेत्रको वातावरण त्रसित बन्दै गएको भन्दै राज्यले कोरोना परीक्षणको दायरा बढाउनु पर्ने माग गर्नुभयो । संक्रमण रोक्नको लागि बोर्डरबाट हुने आवत–जावतलाई पूर्ण प्रतिबन्ध लगाउनु पर्नेमा बोहराको सुझाव छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पीसीआर टेस्टलाई तिब्रता दिईनुपर्ने माग गर्दै पीसीआर परीक्षण समुदायस्तरमा गरिनुपर्नेमा जोड दिनुभयो । तीन तहको सरकारका बिचमा समन्वय हुन नसक्दा पनि कारोना परीक्षण हुन नसकेको कारण संक्रमण बढ्दै गएको घिमिरेको दावी छ ।

उहाँले तत्काल मानवीय क्षतीबाट जोगाउनको लागि सरकारबाट भएका लकडाउनलाई ब्यवसायीले सहयोग गर्दै आएको भएपनि मजदुरको ज्याला, बैंकको ब्याजदर र किस्तामा भने ३३ प्रतिशत मात्र उद्योगले तिर्ने अरु राज्यले नै ब्यवस्था गरिदिनु पर्ने माग अगाडी सार्नु भएको छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा उद्योगी राजेन्द्र राउतले उद्योगहरुले आफ्नो सुरक्षा अपनाउँदै उद्योग भित्र हुने संक्रमणलाई जोगाउन र अहिले अपनाईएको भन्दा बढी सुरक्षाको प्रबन्ध मिलाउन पनि उद्योगी ब्यापारी तयार रहेको बताउनुभयो ।

कोरोनाको संक्रमण उद्योग क्षेत्रमा फैलन नदिनको लागि हरेक उद्योगहरुमा ग्रुप टेष्ट तथा समुदायमा कोरोनाको स्वाब टेष्टलाई प्रभावकारी बनाईनु पर्ने उद्योगी राउतको माग छ । उद्योगी ब्यापारीले सिमा क्षेत्रबाट बिना परीक्षण सर्बसाधारणको नेपाल प्रबेश हुने क्रम नरोकिएकोले त्यसको असर अहिले समुदायमा कोरोनाको संक्रमण देखिएको बताएका हुन् ।

‘कोरोनाको संक्रमण समुदायमा नै फैलिएको अबस्था छ, बिराटनगरका ब्यवसायीले भने, रोकथामका लागि स्थानीय तह तथा सरकारहरुले गरेको लकडाउनलाई कार्यान्वायन गर्न सबैले सघाएर कार्यान्वायनमा लैजाने हो तर लकडाउनले मात्र हुँदैन परीक्षण बढाईनु पर्छ ।’
कोरोनाको संक्रमणबाट जोगिनकालागि औद्योगिक क्षेत्रका पालिकामा उद्योगी ब्यवसायीहरु क्वीक रेस्पोन्स टीम बनाएर जान तयार भएका छन् । त्यसको लागि पालिकाले अगुवाई गर्नु पर्ने उनीहरुको भनाई छ । संवादकै क्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले क्वीक रेस्पोन्स टिम बनाउन गर्नु भएको प्रस्तावमा उद्योगी ब्यवसायी तयार भएका हुन् ।

सरकारले बनाएको क्षेत्रगत मापदण्डलाई कार्यान्वयान गर्दै परिमार्जन गर्नु पर्ने भए त्यसको लागि छलफल थाल्न तर कार्यन्वयनमा लैजान मोरङका प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले उद्योगी ब्यवसायीलाई आग्रह गर्नुभयो ।

मोरङका एसपी सन्तोष खड्काले भारतबाट आउने ढुवानी साधनलाई सहज रुपमा उद्योगसम्म पुग्न दिने र सहज फर्किने ब्यवस्था प्रहरीले गर्ने तर चालक र सहचालकको ब्यवस्थापनको काम उद्योगी ब्यापारीले गर्नु पर्ने बताउनु भयो । भारतबाट आउने ढुवानीका साधनका चालक सहचालक बाहिर घुमेर हिड्ने गरेको गुनासो आउँदै गर्दा त्यसको ब्यवस्थापन दोहोरो समन्वयमा गर्न लागिएको हो । एसपी खड्काले सिमा क्षेत्र अहिले डुवानमा रहेको कारण सुरक्षाकर्मी त्यहाँ बस्नै नसक्ने अबस्था रहेकोले सिमाबाट लुकेर सर्बसाधारण आएको हुनसक्ने स्वीकार गर्नु भयो । तर प्रहरीले सिमा क्षेत्रमा कडाई भने गरिरहेको बताउनुभयो ।

 

संवाद समुह मोरङले शनिबार गरेको भर्चुुअल संवादमा उद्योगी ब्यवसायीले उक्त धारणा राखेका हुन् ।
त्यस क्रममा बिराट ब्यापार संघका अध्यक्ष सुजन थापा, विराटनगर चेम्बर अफ कमर्शका अध्यक्ष सुरेशमान श्रेष्ठ तथा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नरेन्द्र हुमागाई लगायतले अत्याधिक भीडभाड हुन नदिनको लागि आफुहरुले प्रहरी प्रशासनलाई सहयोग गर्दै आएको सुनाउनुभयो । उद्योगी मुकेश उपाध्ययायले कुनै उद्योगमा संक्रमण देखिईहाले जगदम्बा स्टील्सको जस्तो अबस्था आउने भएकोले उद्योगी ब्यवसायी पनि सचेत हुनुको बिकल्प नरहेको स्पष्ट पार्नुभयो । बिराटनगरका धेरै अस्पताल सिल भएका छन्,उद्योगहरु पनि सिल भएभने खाद्यान्नदेखि हरेक रुपमा अभाव हुनसक्ने तर्फ सचेत गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्